लगातारको वर्षाले ६ घर भत्किए

मध्यपहाडी लगायत जिल्लाका ११ वटै पालिका सडक अवरुद्ध

बिहिबार, ३ असार, २०७८
डिजिटल संस्करण

दैलेखमा लगातार वर्षा भइरहेको छ । वर्षा रोकिएको छैन, लगातारको वर्षाका कारण दैलेख विभिन्न स्थानमा ६ घर भत्किएका छन् । दैलेख सदरमुकाम दैलेख बजारबाट ११ वटै पालिका पुग्ने सबै सडक हिलोका कारण बन्द भएका छन् ।  मध्यपहाडी सडकखण्डसमेत अवरुद्ध भएको छ । 

पालिका जोड्ने सडकहरूमा हिलोको समस्या उस्तै छ भने कतिपय स्थानहरू भत्किएका छन् । पहिरोका कारण कर्णाली राजमार्गको सडकसमेत अवरुद्ध बनेको छ ।  दैलेखको दुल्लु नगरपालिका वडा नम्बर ९ मा ६ वटा घर भत्किएका छन् । प्यादुराका तीन र धामी गाउँका तीनवटा घर भत्किएको दुल्लु नगरपालिका– ९ का वडाध्यक्ष रणबहादुर बोहराले जानकारी दिए । घर भत्किएपछि स्थानीयहरू आफन्तकोमा बसेको दुल्लु प्रहरीले जानकारी दिएको छ । तीनवटा घरका नागरिकहरू मात्र समस्यामा छन् अन्य तीनवटा घरहरू पुराना र मानिसहरू नबस्ने घर भएकोले भत्किएको प्रहरीले जानकारी दिएको छ । 

दैलेखको भैरवी गाउँपालिका पुग्ने सडक, नौमुले गाउँपालिका पुग्ने सडक, भगवतीमाई गाउँपालिका, महावु गाउँपालिकालगायतका पालिकाहरूमा पुग्ने सडक वर्षातले क्षति पुर्याएपछि बन्द भएका छन् । कर्णाली राजमार्गमा गएको पहिरो पन्छाउने र सडक खोल्ने कार्य जारी रहेको दैलेखका प्रहरी प्रमुख अनुपम श्रेष्ठले जानकारी दिएका छन् ।

See More On

सुझावित समाचार