पहिरोका कारण तीन दिनदेखि बन्द भएको पाल्पास्थित सिद्धार्थ राजमार्ग अहिलेसम्म सञ्चालन हुन सकेको छैन । लगातार चार दिनसम्म परेको अविरल वर्षासँगै झरेको पहिरोले राजमार्ग अवरुद्ध भएको हो । राजमार्गको पाँच ठाउँमा पहिरो खसेको छ । सिद्धार्थ राजमार्गअन्तर्गत तानसेन नगरपालिका– ८ गौंडेभीरमा तलबाट सडक नै पहिराेले बगाएको छ ।
खोलाको बहाबले कटान जारी रहेकाले काम गर्न समस्या भएको छ । अहिलेसम्म करिब एक सय मिटर राजमार्ग कटान गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक रामेश्वर त्वातीले बताए । बुधबार दिनभर प्रयास गरे पनि राजमार्ग सुचारु हुन सकेन । रातिसम्म पानी परेकाले पहिरो पन्छाउन कठिन भएको उनले बताए ।
बिहीबार बिहानैदेखि राजमार्ग खुलाउने प्रयास भइरहेको छ । एक्स्काभेटरको सहायताले पहिरो पन्छाउने र राजमार्गको ट्रयाक खोल्ने काम भइरहेको डिभिजन सडक कार्यालयले जनाएको छ । राजमार्गको ट्रयाक नै खोल्नुपर्ने अवस्था छ । माथिबाट पहिरो खस्ने क्रम पनि रोकिएको छैन । राजमार्ग अवरुद्ध भएपछि बिरामी बोकेका एम्बुलेन्ससहित मालबाहक सवारीसाधन बाटोमा अलपत्र छन् ।