कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै

बिहिबार, ३ असार, २०७८
डिजिटल संस्करण

कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज दिउँसो बस्दै छ । सभापति शेरबहादुर देउवाले १४औँ महाधिवेशनका विषयमा छलफल गर्न केन्द्रीय कार्यसमितिको बैठक बोलाएका हुन् ।

बिहीबार दिउँसो २ बजे पार्टीको केन्द्रीय कार्यालयमा बस्ने बैठकले महाधिवेशनको कार्यतालिका र क्रियाशील सदस्यतासम्बन्धी विवाद समाधानका विषयमा छलफल गरी टुंगो लगाउने कांग्रेस केन्द्रीय सदस्य गगन थापाले जानकारी दिए । 

कांग्रेसले यसअघि भदौ ७ देखि १० गते केन्द्रीय महाधिवेशन गर्ने गरी कार्यतालिका तोकेको थियो । तर, त्यसअनुसार महाधिवेशन गर्न पूर्वतयारी नपुगेपछि आजको केन्द्रीय समिति बैठकले त्यसमा हेरफेर गरी नयाँ कार्यतालिका तय गर्न लागेको थापाले जानकारी दिए ।

महाधिवेशनको कार्यतालिकाबारे गत शनिबार बसेको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकले प्रस्ताव तय गरिसकेको छ । जसअनुसार तल्ला तहको अधिवेशन साउन ६ गतेबाट सुरु गर्ने र केन्द्रीय महाधिवेशन भदौ १६, १७, १८ र १९ गते गर्ने सहमति बनेको छ ।

यस्तै, क्रियाशील सदस्यतासम्बन्धी छानबिन समितिले २० असारभित्र सबै काम पूरा गर्न पदाधिकारी बैठकले निर्देशन गरेको छ । तर, अहिलेसम्म मापदण्ड नै पास भइसकेको छैन । आजको बैठक क्रियाशील सदस्यता छानबिनका विषयमा समेत निर्णय लिने जनाइएको छ । 

सुझावित समाचार