युरोकप २०२० अन्तर्गत गत शनिबार मैदानमा गम्भीर दुर्घटना व्यहोरेका डेनिस मिडफिल्डर क्रिस्टियन एरिक्सनले आफू चाँडै नै टोलीको प्रशिक्षणमा फर्कन चाहेको बताएका छन् । फिनल्याण्डविरुद्धको खेलको पहिलो हाफको अन्त्यतिर मैदानमा बेहोस भएर ढलेका एरिक्सनले त्यसको दुई दिनपछि उपचारस्थलबाटै आफू ठीक हुँदै गएको सन्देश दिएका छन् । इटालियन पत्रिका गजेट्टा डेल्लो स्पोर्टस्लाई दिएको छोटो प्रतिक्रियामा एरिक्सनले भनेका छन्, ‘अहिले धेरै आराम महसुस गरेको छु । मैले हरेस खाएको छैन । तपाईंहरूले दुःख महसुस गर्नुभएको बुझेको छु । तर, मलाई आजै टोलीको प्रशिक्षणमा सहभागी बनौँजस्तो भएको छ ।’
एरिक्सनको यो सन्देशबाट विश्वका धेरै फुटबल समर्थकले शान्ति महसुस गरेका छन् । उनी प्रत्यक्ष प्रसारण भइरहेको खेलमा आफ्नै सहकर्मीले पास दिएको बल लिन जाने क्रममा अनियन्त्रित भएर ढलेका देखिएका थिए । तत्कालै रेफ्रीले उनको उपचारका लागि मेडिकल टोलीलाई बोलाए । उनका सहकर्मीले उनलाई वरिपरिबाट घेरे । प्रायः सबै खेलाडी आत्तिएका थिए । त्यसमध्ये धेरैको आँखामा आँसु थियो । खेल हेर्न स्टेडियममा उपस्थित एरिक्सनकी श्रीमती सब्रिनालाई मैदानमा बोलाइयो । टोलीका कप्तान सिमोन काया र गोलरक्षक कास्पर स्माइकल सब्रिनालाई सान्त्वना दिइरहेका थिए । स्टेडियमको माहोल एकाएक बदलियो ।
स्टेडियममा उपस्थित तथा टेलिभिजनमार्फत खेलको मज्जा लिइरहेका लाखौँ दर्शक एरिक्सनको अवस्थालाई लिएर चिन्तित देखिए । एरिक्सनलाई मैदानमै १३ मिनेट सिपिआर (चल्न छाडेको मुटुलाई छातीमा हातले थिचेर चालमा ल्याउने विधि) गरिएको थियो । त्यसलगत्तै उनलाई अस्पताल पुर्याइएको थियो । त्यही दिनबाट विश्वभरका फुटबल समर्थकहरूले उनको स्वास्थ्य लाभको कामना गर्दै आइरहेका छन् । उनले आफ्नो स्वास्थ्यको कामना गर्ने समर्थकहरूलाई धन्यवाद दिएका छन् । साथै, उनले आपत्कालीन रूपमा व्यहार्नुपरेको स्वास्थ्य समस्याबारे पूर्ण रूपमा जान्न चाहेको पनि जनाएका छन् ।
२९ वर्षीय एरिक्सनले आफ्नो धारणा सार्वजनिक गरेकै दिन उनको टोलीका अन्य सदस्यहरूले पनि गत शनिबार राजधानी कोपन्हेगनमा भएको उक्त घटनाबारे अनुभव सुनाएका छन् । टोट्टनहाम हर्टस्परबाट व्यावसायिक फुटबल खेल्ने मिडफिल्डर पियहोइबियाले मैदानमा आफूले सुरुवातमा एरिक्सनलाई डरलाग्दो अवस्थामा देखेको बताए । यस्तै बार्सिलोनाका मार्टिन ब्रेथवेइटले भनेका छन्, ‘हामी एकजना नजिकको साथी गुमाउने अवस्थामा पुगेका थियौँ ।’
एरिक्सन अस्पतालबाट राष्ट्रिय टोली र क्लबका खेलाडीहरूसँग नियमित सम्पर्कमा रहेका छन् । उनका केही साथीहरूले एरिक्सनले आफूसँग रमाइलो कुरा गरेको पनि सुनाएका छन् । ‘मभन्दा पनि बढी तिमीहरूलाई पो दुःखी देख्छु त,’ खेलाडीहरूले एरिक्सनले भनेको कुरा सुनाएका छन् ।
एरिक्सन अहिले डेनमार्कको राजधानी कोपेन्हेगनस्थित अस्पतालमा उपचाररत छन्, जहाँ उनलाई श्रीमती सब्रिनासहित पिता थोमस र आमा डोर्थीले साथ दिइरहेका छन् । कप्तान काया र गोलरक्षक स्माइकलले अस्पताल नै पुगेर एरिक्सनलाई भेटेका छन् ।
आफ्नो स्वास्थ्य अवस्थाका बाबजुद उनले बेल्जियमविरुद्धको खेलमा खेलाडीको हौसला बढाउन उपस्थित हुन चाहेको उनको एजेन्टले बनाएका छन् । एरिक्सनका एजेन्टले भनेका छन्, ‘तर, उनी डेनमार्कले बेल्जियमविरद्ध खेल्दा आफ्नो टोलीको समर्थनमा उपस्थित हुन चाहन्छन् ।’ डेनमार्कले बिहीबार सोही मैदानमा बेल्जियमविरुद्ध खेल्दै छ ।