नेपालका लागि ‘ग्रिन जब्स’ कार्यक्रम

बहस

बिहिबार, २७ जेठ, २०७८
डिजिटल संस्करण

राष्ट्रिय योजना आयोगको अध्ययनअनुसार २०१९ मा १६ लाख कामदारले रोजगारी गुमाएका छन्, त्यसमध्ये १२ लाख गरिबीको रेखामुनि धकेलिएका छन् 

सन् २०२० को वसन्त ऋतुमा लकडाउन सुरु भएपछि सबैखाले यातायात र आर्थिक क्रियाकलाप बन्द भएका थिए । त्यसबखतको राम्रो पक्ष, वातावरणको स्वच्छतामा धेरै सुधार आयो र प्रदूषणको मात्रा धेरै तल झर्‍यो । देशैभरि आकाश स्वच्छ देखियो । २०२० को मे महिनामा नेपाली टाइम्सले आफ्नो ट्विटर अकाउन्टमा काठमाडौंबाट माउन्ट एभरेस्ट (सगरमाथा) छर्लंग देखिएको तस्बिर सार्वजनिक गर्‍यो । काठमाडौं उपत्यकाबाट एभरेस्ट दुई सय किलोमिटर टाढा पर्छ । काठमाडौंका धेरैजसो बासिन्दाले संसारको सबैभन्दा अग्लो हिमाल आफ्नै ठाउँबाट कहिल्यै देखेका थिएनन् । अनपेक्षित लकडाउनको परिणामले काठमाडौंमा स्वच्छ हावा र कम प्रदूषणले गर्दा काठमाडौंका बासिन्दालाई नेपाल कति सुन्दर छ भन्ने सम्झना दिलायो । विदेशी नागरिक हाम्रा हिमाल हेर्न किन यति लालायित छन् भन्ने पनि नेपालीलाई मनन भएको हुनुपर्छ । 

कोभिडको महामारीले नेपालको आर्थिक क्षेत्रमा धेरै प्रभाव पारेको छ, भविष्यमा अझ खराब हुने आकलन गर्न सकिन्छ । एसियाली विकास बैंक (एडिबी)को तथ्यांकअनुसार नेपालको अर्थतन्त्र २०२० मा १.९ प्रतिशतले खुम्चियो । २०२१ मा अर्थतन्त्र ३.१ प्रतिशतले वृद्धि हुने भनिए तापनि यो बढी नै आशावादी देखिन्छ । किनकि, अहिले पनि लकडाउन छ र धेरैले रोजगारी गुमाएका छन् । राष्ट्रिय योजना आयोगको अध्ययनअनुसार २०१९ मा १६ लाख कामदारले रोजगारी गुमाएका छन् । त्यसमध्ये १२ लाख गरिबीको रेखामुनि धकेलिएका छन् । हामी अहिले पनि खतरामुक्त छैनौँ । यद्यपि, हामीले कसरी हाम्रो अर्थतन्त्र पुनर्निर्माण गर्ने र नयाँ रोजगारीहरू सिर्जना गर्ने भन्नेमा हाम्रो ध्यान जानुपर्छ । हामीले कस्तो प्रकारको अर्थतन्त्र रिकभरी गर्ने हो, त्यो गम्भीरताका साथ सोच्नुपर्छ । के हामी अहिलेका आर्थिक संरचनाबाट हाम्रो आर्थिक सुधार दिगो तरिकाले गर्न सक्छौँ ? के कोभिड महामारीको अनुभवले हामीलाई वातावरण सुधार गरेर नकारात्मक वातावरणीय प्रभावलाई कम गर्दै आर्थिक विकास गर्न प्रोत्साहन गरेको छ ? 

जेनेभाले ५० वर्षमा जे उपलब्धि हासिल गर्‍यो, काठमाडौंमा त्यो नहुन सक्छ । तर, इन्डोनेसियाको सुरबाया सहरले गत १५ वर्षमा जे उपलब्धि हासिल गर्‍यो, त्यति पनि नआँट्ने हो भने हामीले विकास र समृद्धिका गफ जोत्नु नै फजुल हो । 
 

०७८/७९ को बजेटले हामीलाई आशावादी बनाउँदैन । बुँदा नं. १९९ मा ‘वातावरणीय प्रभाव मूल्यांकनका आधारमा खानीजन्य ढुंगा, गिट्टी, बालुवा निकासी गरी व्यापार घाटा न्यूनीकरण गरिनेछ । निकासी गरिने खानीजन्य निर्माण सामग्रीको परिवहनका लागि उद्योगदेखि निकासी बिन्दुसम्म रोपवे निर्माण गर्न र आयातमा लाग्ने भन्सार महसुलमा छुट दिने व्यवस्था मिलाएको छु ।’ ढुंगा, गिट्टी र बालुवा भारत निकासीले चुरे–भावरमा अत्यधिक दोहन भएपछि ०७१ सालदेखि लगाइएको निकासी रोकलाई हटाउने घोषणा सरकारले बजेट वक्तव्यमार्फत गरेको हो । यो नीतिलाई परिवर्तन गर्दा यसले उल्टो प्रभाव परी चुरे–भावर क्षेत्रको इकोसिस्टम र जैविक विविधता अरू खलबलिन सक्छ । यो बुँदाको सबैतिरबाट चर्को आलोचना भइरहेको छ । आशा गरौँ सरकारले नीति परिवर्तन गर्नेछ र चुरे–भावरलाई संरक्षण गर्न अरू बढी स्रोत जुटाउनेछ ।

स्विट्जरल्यान्डदेखि थाइल्यान्ड र मलेसियाजस्ता देशले वातावरण संरक्षणलाई प्राथमिकता र दिगोपना दिएरै आर्थिक विकासको एजेन्डा बनाएका छन् । मध्यम आय भएका इन्डोनेसिया र फिलिपिन्सजस्ता देशमा वातावरणलाई संरक्षण गरेर ‘ग्रिन जब्स’हरू सिर्जना गरेका छन् । फिलिपिन्समा त झन् ‘ग्रिन जब्स’को कानुन नै बनेको छ, जसले दिगो रोजगारी सिर्जना गर्ने विभिन्न योजना बनाई वातावरण संरक्षण गरेको छ । जसले गर्दा ‘ग्रिन इकोनोमी’को निर्माण भइरहेको छ । अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ)को तथ्यांकअनुसार फिलिपिन्समा ७० लाख रोजगारीमा १७ प्रतिशत ‘ग्रिन जब्स’हरू छन् ।

म अहिले कार्यरत जेनेभा (स्विट्जरल्यान्ड)मा मैले लेक जेनेभाको कुनै पनि छेउमा पौडिनका लागि कुनै संकोच मान्नु पर्दैन । लेक जेनेभा पश्चिम युरोपको ठूला तालमध्ये एक हो र स्विस सरकार यसलाई सफा राख्न सफल छ । वरिपरि पूर्वाधार पुनर्निर्माणका काफी क्रियाकलाप भए तापनि ताल स्वच्छ छ । सन् १९६० मा भने यो ताल यस्तो थिएन । त्यसबखत लेक जेनेभामा पौडिनु स्वास्थ्यका लागि हानिकारक मानिन्थ्यो । १९८० को दशकमा प्रदूषण यति बढी थियो, त्यहाँ माछा नै बाँकी भएनन् । ताल सफा गर्ने कार्ययोजना ल्याई पहिलाको महिमालाई पुनर्स्थापना गर्ने प्रण गरियो । वातावरण संरक्षण गरी आर्थिक विकास गर्ने सार्वजनिक नीति लिइयो । त्यसैको नतिजा हो, अहिलेको ताल । अहिले तालमा पौडी खेल्ने मात्र होइन, त्यहाँका लोकल माछा सहरका हरेकजसो स्तरीय रेस्टुरेन्टमा उपलब्ध छन् । अहिले लेक जेनेभा पर्यटकीय आकर्षणको केन्द्र भएको छ र सहरलाई ठूलो आम्दानीको स्रोत पनि भएको छ ।

जेनेभाले ५० वर्षमा जे उपलब्धि हासिल गर्‍यो, काठमाडौंमा त्यो नहुन सक्छ । तर, इन्डोनेसियाको सुरबाया सहरले गत १५ वर्षमा जे उपलब्धि हासिल गर्‍यो, त्यति पनि नआँट्ने हो भने हामीले विकास र समृद्धिका गफ जोत्नु नै फजुल हो । सुरबायाको ‘क्लिन एन्ड ग्रिन इनिसिएटिभ’ले सहरमा ग्रिन स्पेसको वृद्धि स्थानीय समुदायको सहभागितासाथ गर्‍यो । सन् २०१९ मा म सुरबाया जाँदा त्यहाँको सहरी विकास देखेर आश्चर्यचकित परेको थिएँ । सुरबायाको ‘स्पेसल इकोनोमिक जोनमा’ (विशेष आर्थिक क्षेत्र)मा निर्माण सामग्रीका निर्यातयोग्य वस्तुका उद्योगहरू चलिरहेको देखेर जोकोही प्रभावित नभइरहन सक्तैन । म त्यहाँ रेल निर्माण सामग्री उत्पादन गर्ने उद्योगहरूको भ्रमण गर्न गएको थिएँ । ती उद्योगहरूमा कस्ता प्रकारका तालिमप्राप्त कामदार चाहिन्छन्, मलाई त्यो पनि बुझ्न मन थियो । भ्रमण गरेको उद्योगले रेलका पार्टपुर्जा निर्यात गथ्र्यो । सुरबायाका बासिन्दालाई औद्योगिक क्षेत्र आम्दानी र रोजगारीको स्रोत थियो भने सुरबाया सहर ग्रिन सिटीको रूपमा विकास भयो ।

अहिलेको प्रधानमन्त्री रोजगार कार्यक्रमलाई ‘ग्रिन जब्स’ रोजगार कार्यक्रममा बदल्न सकिन्छ । प्रधानमन्त्री रोजगार कार्यक्रमले अहिले खालि निम्न सीपका रोजगारी मात्र सिर्जना गर्छ । ‘ग्रिन जब’हरू सिर्जना गर्‍यो भने मध्यम र बढी सीप भएका रोजगारी पनि सिर्जना हुन सक्छन् । 
 

आर्थिक विकासको मेरुदण्ड मानिने निर्माण र उद्योग क्षेत्र नै नेपालमा सन् १९९० देखि स्थिर छ । यदि हामीले उद्योग क्षेत्रको आकलन गर्‍यौँ भने स्वदेशमै खपत हुने सामग्रीका उद्योग र निर्यातयोग्य सामग्रीका उद्योगहरू दुवैको गत दुई दशकमा विकास वास्तवमा भएकै छैन । यसैको परिणाम मुलुकले रोजगारी दिन सकेन र हाम्रा कामदारहरू काम खोज्न विदेश गए । हाम्रा भएका उद्योगहरू कि बन्द भए, कि त क्षमताभन्दा कम चल्न सके । हामीले हाम्रो उद्योग क्षेत्रलाई पुनरुत्थान नगरी हुन्न । त्यसले मात्र हाम्रो तीव्र आर्थिक विकास र दिगोपनको आकांक्षा पूरा हुन्छ । हामीलाई त्यस्ता देशहरूको अनुसरण गर्नु उपयुक्त हुँदैन, जसले आर्थिक विकास र रोजगारी सिर्जनाको नाममा वातावरण विनाश पारे । हामीलाई कोभिड महामारीको अनुभवले वातावरण र जनस्वास्थ्य अन्तरसम्बन्धित छ भन्ने पाठ सम्झाएको छ । अनुसन्धानहरूले के देखाएका छन् भने कोभिडजस्ता महामारीहरू पशुपन्छीमा हुने जीवाणुहरू मानव शरीरमा आएपछि फैलिएका हुन् । हाम्रो देशमा जंगली जनावर र जंगल भएका ठाउँमा यी रोग सजिलै फैलिन्छन् । तीव्र रूपमा जथाभावी सहरी विकास, वनजंगल फँडानी र वातावरणीय विनाशले नेपाललाई यस्तो महामारीको मार भविष्यमा फेरि–फेरि पर्न सक्छ ।

नेपालको उद्योग र निर्माण क्षेत्र पुनरुत्थान गर्नका लागि हाम्रा खास निर्यातयोग्य वस्तु जस्तै– चिया, कफी, जडीबुटी, गार्मेन्ट र प्रशोधित खाद्य सामग्री आदि उद्योगलाई कुनै निश्चित औद्योगिक नीति लिएर अनि प्राथमिकता दिएर सघाउनुपर्छ । देशले रोजगारी सिर्जना गर्दा ‘ग्रिन जब्स’ बढी सिर्जना गर्नुपर्छ । आइएलओका अनुसार ‘ग्रिन जब’ले वातावरणीय प्रभाव कम गर्छ । यसले इकोसिस्टम र जैविक विविधतालाई सुरक्षा गर्छ, ऊर्जा खपत कम गर्छ, मेटेरियल्स तथा पानी खपत कम गर्छ र अर्थतन्त्रलाई डी– कार्बोनाइज गर्छ । यसमा प्रदूषण कम हुन्छ । 

नेपालले वातावरणीय प्रभाव कम पार्ने, संरक्षित क्षेत्रहरूको संरक्षण गर्ने, नदी र तालतलैया सफा गर्ने सार्वजनिक नीतिहरू लागू गर्नुपर्छ । तिनीहरूमा ‘ग्रिन जब’हरू पनि सिर्जना हुन्छन् । साँच्चै भन्ने हो भने अहिलेको प्रधानमन्त्री रोजगार कार्यक्रमलाई ‘ग्रिन जब्स’ रोजगार कार्यक्रममा बदल्न सकिन्छ । प्रधानमन्त्री रोजगार कार्यक्रमले अहिले खालि निम्न सीपका रोजगारी मात्र सिर्जना गर्छ । ‘ग्रिन जब’हरू सिर्जना ग¥यो भने मध्यम र बढी सीप भएका रोजगारी पनि सिर्जना हुन सक्छन् । ‘ग्रिन जब्स’ कार्यक्रमको सफलताका लागि निजी क्षेत्रको सहभागिता अनिवार्य छ । साना र मझौला ग्रिन उद्योगलाई प्राथमिकता दिनुपर्छ, तर त्यसको प्राथमिकतामा रोजगारी सिर्जनाको सर्त राखिनुपर्छ । नेपालको वन र वन्यजन्तु संरक्षणलाई बढी प्राथमिकता दिनुपर्छ, जसले गर्दा स्थानीय स्तरमा बढी रोजगारी सिर्जना गर्न सकिन्छ । 

विश्व बैंकको कालीगण्डकी वाटरसेड प्रोजेक्टको अध्ययनअनुसार नेपालमा ठूला ग्रिन सार्वजनिक उद्यमले बढी रोजगारी सिर्जना गर्न सक्छन् र सीपयुक्त पनि हुन्छन् । योजनाबद्ध तरिकाले बनाइएका वन र वाटरसेड व्यवस्थापनले कृषि, जलविद्युत्, सडक, सिँचाइ र विपत् व्यवस्थापनमा सघाउन सक्छ । तथ्यले के देखाउँछ भने यस्ता ग्रिन सार्वजनिक उद्यमले लगानीको दाँजोमा धेरै गुणा फाइदा हुन्छ । पर्यटन यस्तो क्षेत्र हो, जसमा ‘ग्रिन जब’हरू सिर्जना गर्ने क्षमता हामीकहाँ अझै धेरै छ । दिगो पर्यटन नै संसारमा एउटा आकर्षण हो । मैले भ्रमण गरेकामध्ये दुईवटा देश कोलम्बिया र न्युजिल्यान्ड यस्तो पाएँ । त्यहाँ आर्थिक, औद्योगिक गतिविधि उच्च रहेका सहरहरू पनि वातावरणमैत्री छन् । कोलम्बियाको मेडेजिन सहर त वातावरणमैत्री विकासको नमुना नै हो । त्यहाँ ठुल्ठूला उद्योग र निर्माण कम्पनीहरू पनि छन्, तर सहर हरियो–परियो छ, अनि वातावरणीय हिसाबले सहर रहनयोग्य छ । न्युजिल्यान्डमा धेरै कामदार सार्वजनिक जग्गा र पार्कमा काम गर्छन्, जसले वातावरण संरक्षणमा काम गर्छ । यदि तपाईं त्यहाँ हाइकिङ जानुहुन्छ भने तपाईंले प्रयोग गरेका सबै वस्तुहरू फिर्ता ल्याउनुपर्छ । बाटामा फालेर फोहोरमा परिणत गर्न पाइँदैन । नियम सबैले पालना गर्छन् । त्यसैले पार्क र हाइकिङ ट्रेल्सहरू धेरै व्यवस्थित छन् । न्युजिल्यान्ड नेपालजस्तै सुन्दर देश हो, तर यो विकसित र वातावरणमैत्री रूपमा संसारमै अब्बल छ ।

राष्ट्रियस्तरमा बृहत् रूपमा चलाइयो भने ‘ग्रिन जब्स’ कार्यक्रम नेपालका लागि ‘गेम चेन्जर’ हुन सक्छ । सट रनमा यसले चाहिएको रोजगारी सिर्जना गर्छ र आम्दानीका स्रोतहरू विभिन्न क्षेत्रमा खुल्न सक्छन् । रोजगारीहरू फोहोर व्यवस्थापन तथा प्रशोधन, दिगो कृषि तथा अन्न उत्पादन, दिगो वन व्यवस्थापन, निर्माण तथा आपूर्ति व्यवस्थापन, ऊर्जा आपूर्ति तथा त्यसको प्रभावकारितालगायत जैविक विविधता र इकोसिस्टम प्रिजर्भेसनजस्ता क्षेत्रमा सिर्जना हुन सक्छन् । दीर्घकालीन रूपमा भविष्यमा यसले बढी आम्दानी पर्यटन क्षेत्रबाट दिन्छ र यसले बृहत् आर्थिक विकासमा दिगो टेवा दिन्छ । नेपालले वन्यजन्तु संरक्षणमा धेरै प्रगति गरेको छ, यो क्षेत्र एउटा नमुनाको रूपमा स्थापित भएको छ । यो अनुभव ‘ग्रिन ग्रोथ’ र दिगो भविष्यका लागि हामीलाई मार्गदर्शन हुन सक्छ ।
 

सुझावित समाचार