भित्रिँदै मनसुन : औसतभन्दा बढी पानी पर्ने

बिहिबार, २७ जेठ, २०७८
डिजिटल संस्करण

बर्खामा बाढीपहिरोबाट १८ लाख जनसंख्या प्रभावित हुने अनुमान

यसै साता नेपाल भित्रिने एसियाली मनसुनले देशमा ठूलो क्षति गर्न सक्ने मौसमविद्ले बताएका छन् । अबको दुई/तीन दिनमा नेपाल भित्रिएर सुरुवातमै सुदूरपश्चिम क्षेत्रमा ठूलो पानी पार्ने अनुमान गरिएको मनसुनी वर्षाका कारण बाढीपहिरोका घटना बढ्ने आकलन गरिएको छ । 

मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश २ को पूर्वी र प्रदेश १ तराई क्षेत्रबाहेक मुलुकका धेरैजसो स्थानमा मौसम प्रतिकूल रहनेछ । ‘२८ देखि ३० जेठसम्म मनसुन सक्रिय हुने आकलन गरिएको छ,’ मौसम पूर्वानुमान महाशाखाका मौसमविद् विभुति पोखरेलले भनिन् । मनसुन मध्यअसोज अर्थात् १०५ दिन नेपाली आकाशमा कायम रहन्छ । जसअनुसार सुदूरपश्चिम, कर्णाली, गण्डकी र बागमती प्रदेशका अधिकांश स्थान तथा प्रदेश १ को मध्य तथा पश्चिम पहाडी र हिमाली भूभागमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना छ, जसलाई प्रतिशतमा हेर्दा ३५–६५ देखिन्छ ।

लुम्बिनी, गण्डकी र बागमती प्रदेशको तराई र प्रदेश २ को पश्चिमी भू–भागमा सरदर वर्षा हुने देखिन्छ । हिमाली तथा उच्च पहाडी भूभागमा सरदरभन्दा बढी वर्षाको सम्भावना ५५–६५ प्रतिशत छ भने त्योभन्दा तल्लो बेल्टमा ४५–५५ प्रतिशत । यसैगरी, सिवालिक क्षेत्रमा सरदरभन्दा बढी वर्षाको सम्भावना ३५–४५ प्रतिशत छ । लुम्बिनी प्रदेशको दक्षिणी भूभाग, बागमतीको चितवन क्षेत्र र प्रदेश २ को बारा, पर्सामा सरदरभन्दा बढी वर्षाको सम्भावना ३५–४५ प्रतिशत छ । तर, प्रदेश १ को तराई र २ का पूर्वी तराईमा सरदरभन्दा कम वर्षा हुने सम्भावना ३५–४५ प्रतिशत छ । गत वर्ष गण्डकी प्रदेशमा केन्द्रित वर्षा हुँदा सुदूरपश्चिम र कर्णालीमा कम वर्षा भएको थियो । त्यसअघिल्लो वर्ष प्रदेश १, २ र बागमतीको अधिकांश भूभागसहित लुम्बिनी प्रदेशको पश्चिमी भूभागमा औसतभन्दा कम वर्षा भएको थियो ।

बाढीपहिरोको जोखिम 

गत वर्ष मुलुकमा ठूल्ठूला पहिरो खसेका थिए । मनसुनी अवधिमा सिन्धुपाल्चोक, म्याग्दी, कालिकोट, बझाङलगायत जिल्लामा ठुल्ठूला पहिरो खस्दा दुई सय ९६ जनाको मृत्यु भएको थियो । त्यसैगरी, बाढीमा ४३ जनाको ज्यान गएको थियो । यो वर्ष बाढीपहिरोका घटना अझ बढ्न सक्ने भएकाले जनसंख्या प्रभावित हुने आकलन गरिएको छ ।

पछिल्लो १० वर्षको तथ्यांक र मनसुन पूर्वानुमानमा आधारित रही राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले गरेको विश्लेषणअनुसार यस वर्ष बाढी र पहिरोबाट क्रमशः १७ लाख र एक लाख १७ हजार जनसंख्या प्रभावित हुने देखिएको छ । पहिरोमा २४ हजार ६ सय ७८ घरपरिवार प्रभावित हुने आकलन गरिएको छ । गत हिउँद र प्रिमनसुनमा १२ प्रतिशत बढी डढेलो लागेकाले पनि भूस्खलनका घटना बढ्ने आकलन गरिएको छ । बाढी पूर्वानुमान महाशाखाका प्रमुख विक्रम श्रेष्ठले मनसुनी अवधिमा बाढीपहिरोका घटना बढ्ने भएकाले हरेक दिन मौसमको आकलन गरेर प्रभावित क्षेत्रका नागरिकका मोबाइलमा सन्देशमूलक एमएमएस पठाइने बताए । ‘२४ घन्टा ड्युटीको व्यवस्था गरेका छौँ, पूर्वानुमान, तत्कालको अवस्थाबारे जानकारी दिनेछौँ,’ श्रेष्ठले भने ।

यो वर्ष बाढीपहिरोको जोखिम बढेको छ : अनिल पोखरेल, प्रमुख कार्यकारी अधिकृत राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण

हामी अहिले ठूलो महामारीमा छौँ । मनसुन संघारमा छ । बाढीपहिरो हाम्रो नियति भएको छ । डढेलोले पहाड नांगा भएका छन्, उजाडिएका छन् । बाढीपहिरो झन् थपिने देखिएको छ । यो अवस्थामा चुनौती थपिएका छन् ।

बाढीपहिरोको उच्च जोखिममा रहेका जनसंख्या, घरपरिवारको विवरण लिइएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखा र जलस्रोत तथा सिँचाइ विभागको समन्वयमा ‘अलर्ट’ जारी गरिनेछ ।

मनसुन पूर्वनुमान मात्र होइन, घटना भइहालेमा उद्धार र सुरक्षित वासस्थानका लागि तयारी गरेका छौँ । उद्धारमा स्थानीय, प्रदेश र संघ सरकारको समन्वयविना सम्भव हुँदैन । सबै निकाय एकीकृत रूपमा अगाडि बढ्नुपर्नेछ ।

See More On

सुझावित समाचार