राउटे युवतीमाथि दुर्व्यवहार गर्ने तीन पक्राउ

आइतबार, २३ जेठ, २०७८
डिजिटल संस्करण

राउटे समुदायका युवतीलाई होटेलमा लगेर दुर्व्यवहार गरेको आरोपमा तीनजना पक्राउ परेका छन् । राउटे युवतीलाई शनिबार राति होटेलमा लगेर दुर्व्यवहार गर्ने तीनजनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा गुर्भाकोट नगरपालिकाका ३५ वर्षीय दोमनबहादुर घर्ती, २४ वर्षीय भूपेन्द्र बुढा र २९ वर्षीय होटेल सञ्चालक विनोद पुन रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । 

राउटे युवतीलाई होटेलमा लगेर मदिरा सेवन गराएर तीनैजनाले सामाजिक सञ्जालमा भिडियो अपलोड गरेका थिए । 
राउटे युवतीमाथि यौन दुर्व्यवहार गर्नेहरूलाई पक्राउ गरिएको र थप अनुसन्धानका लागि प्रहरी निरीक्षकको कमान्डमा अनुसन्धान टोली राउटे बस्तीमा पठाइएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी उपरीक्षक राजेन्द्र भट्टले बताए । ‘बस्तीमै पुगेर प्रहरीले थप अनुसन्धान गर्छ,’ उनले भने, ‘पक्राउ परेकाहरूलाई के कारबाही गर्ने भन्ने स्थलगत अनुसन्धानबाट खुल्छ ।’

सामाजिक सञ्जाल युट्युब, टिकटक र फेसबुकमा भाइरल भएका राउटे समुदायका युवतीहरूमाथि पछिल्लोपटक दुर्व्यवहार बढ्दै गएको छ । भिडियो, फोटो खिच्न भन्दै राउटे समुदायमा पुग्ने स्थानीय युवाहरूबाट राउटे युवती दुर्व्यवहारको सिकार भइरहेको स्थानीय बताउँछन् ।

राउटे युवती तथा बालिकाहरू ‘युट्युब पत्रकार’ बताउनेलगायत व्यक्तिबाट यौनजन्य हिंसामा परिरहेको सूचना राष्ट्रिय मानव अधिकार आयोग, कर्णाली प्रदेश शाखा कार्यालय जुम्लामा केही दिनदेखि आइरहेकाे रहेको मानव अधिकार आयोग शाखा कार्यालय जुम्लाका किरण बमले जानकारी दिए ।

‘यौनजन्य क्रियाकलाप भइरहेको भिडियोसहित सूचना प्राप्त भएपछि राति नै प्रदेश प्रहरी, सुर्खेत प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रहरीलाई जानकारीसहित अनुरोध भई राति ३ बजे नै होटेलवालासहित दुई युवालाई स्थलगतबाट नै नियन्त्रणमा लिन प्रहरी सफल भयो,’ उनले भने, ‘राउटे बस्तीमा अहिले मनोपरामर्शदातासहित सामाजिक विकास मन्त्रालयका प्रतिनिधि थप प्रहरीसहित पुगेको छ ।’
 

सुझावित समाचार