बुढीगण्डकी नदीमा आएको बाढीले केही घरसहित पुलसमेत बगायो

आरुघाट गाउँपालिका–२ र ३ जोड्ने सोतीस्थित पक्की पुल बग्याे

आइतबार, २५ असोज, २०८३
डिजिटल संस्करण

बुढीगण्डकी नदीमा आएको बाढीले केही घरसहित पुलसमेत बगाएको छ । गोरखाको चुमनुम्ब्री गाउँपालिका– ६ मा ठुलो बाढी आइरहेको बाढी पूर्वानुमान महाशाखाले जनाएकाे छ ।

गोरखाकाे चुमनुब्री गाउँपालिका– ६ स्थित लोक्पा र चुम्लिङबिच ठुलो पहिरो खस्दा थुनिएको बुढीगण्डकी नदी पुनः बग्न थालेपछि ठुलो बाढी आएको हो ।

दुई झोलुंगे पुलसहित फलामे पुल बगायो, घरहरूमा क्षति

बाढीले चुमनुब्री गाउँपालिका– ३, न्याकचेतस्थित न्याकचेतबाट सिर्दिबास जोड्ने पुरानो झोलुंगे पुल बगाएको छ। यसैगरी चुमनुब्री गाउँपालिका– ३, सिर्दिबासनिवासी रामबहादुर गुरुङको एउटा कच्ची घर बगाएको र अर्को एउटा घरमा बाढी पसेको छ।

यसैगरी गोरखा, धार्चे गाउँपालिका– ५ माछीखोलाबाट केरौजा जोड्ने झोलुंगे पुल पनि बाढीले बगाएको छ । यस्तै, धार्चे गाउँपालिका– ५ माछीखोलास्थित तल्लो बस्तीमा बाढी पस्दा पाँच–सातवटा घर र पाँच–सातवटा टहरामा बाढी पसेको प्रहरीको भनाइ छ।

बाढीका कारण धार्चे गाउँपालिका– ३, सल्लेरीस्थित २०–२२ वटा घर जोखिममा छन् । आरुघाट गाउँपालिका– २ र ३ जोड्ने सोतीस्थित पक्की पुलसमेत बाढीले बगाएको छ ।

नदीको सतह खतराको तहभन्दा अधिक बढी

यसैगरी राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले गोरखाको आरुघाट स्टेसनमा नदीको सतह खतराको तहभन्दा अधिक बढी भएकाले गोरखा, धादिङ, तनहुँ, चितवन, नवलपरासी पूर्व र नवलपरासी पश्चिमसम्मका नदी तल्लोतटीय क्षेत्रका सबै बासिन्दालाई सतर्क हुन अनुरोध गरेको छ ।

यसैगरी बाढी पूर्वानुमान महाशाखाले बुढीगण्डकी नदीमा बाढी खतरा तहभन्दा माथि रहेको र बढ्ने–घट्ने क्रम जारी रहेकोले त्रिशूली नदी बेनीघाटसम्म (अति उच्च जोखिम) रहेकाले उच्चस्थानमा जान, मुग्लिङसम्म (उच्च जोखिम) भएकाले उच्च सतर्कतामा बस्न, चितवन र नवलपरासी नदीआसपास (मध्यम जोखिम) भएकाले सतर्क रहन आमसर्वसाधारण समक्ष अपिल गरेको छ ।

सुझावित समाचार