दोर्दी बेसिनबाट १ सय २२ मेगावाट विद्युत् उत्पादन हुने

आइतबार, २३ जेठ, २०७८
डिजिटल संस्करण

लमजुङको दोर्दी खोला बेसिनका जलविद्युत् आयोजनाबाट १ सय २२ मेगावाट विद्युत् उत्पादन हुने भएको छ । दोर्दी बेसिनमा निर्माणको विभिन्न चरणमा रहेका ५ वटा जलविद्युत् आयोजनाबाट उक्त विद्युत् उत्पादन हुने भएको हो । निजी क्षेत्रको २४ अर्ब लगानीमा दोर्दी बेसिनमा ५ वटा जलविद्युत् आयोजना निर्माणाधीन छन् । 

२५ मेगावाटको माथिल्लो दोर्दी ‘ए’, २७ मेगावाटको दोर्दी खोला, १२.५ मेगावाटको दोर्दी–१ र ५४ मेगावाटको सुपर दोर्दी ‘ख’ र ४ मेगावाटको माथिल्लो छ्याङ्दी जलविद्युत् आयोजना निर्माणाधीन छन् । निर्माणाधीन आयोजनामध्ये पनि माथिल्लो दोर्दी ‘ए’, दोर्दी खोला, दोर्दी–१ र माथिल्लो छ्याङ्दी–४ उत्पादन सुरु गर्ने तयारीमा छन् । आयोजनाको विद्युत् प्रवाह हुने १ सय ३२ केभी दोर्दी करिडोर प्रसारण लाइन निर्माण पूरा भइसकेकाले चालू आर्थिक वर्षभित्र यी आयोजनाको विद्युत् राष्ट्रिय प्रणालीमा जोडिनेछ ।

दोर्दी करिडोरको सबैभन्दा माथिल्लो तटमा पिपुल्स हाइड्रोपावरले सुपर दोर्दी ‘ख’ (५४ मेगावाट) आयोजना निर्माण गरिरहेको छ । आयोजनाको निर्माण करिब ८० प्रतिशत पूरा भएको आयोजनाले जनाएको छ । आयोजनाको ०७८ फागुनदेखि विद्युत् उत्पादन सुरु गर्ने तालिका छ ।

२७ मेगावाटको दोर्दी खोला जलविद्युत् आयोजना ०७६ भदौ १५ गतेबाट विद्युत् उत्पादन गर्ने लक्ष्यका साथ निर्माण भए पनि भूकम्प, नाकाबन्दी र बाढीका कारण विद्युत् उत्पादनमा ढिलाइ भएको हो । आयोजनाको ९८ प्रतिशत निर्माण कार्य सम्पन्न भएको छ ।

लिबर्टी इनर्जीले निर्माण गरिरहेको माथिल्लो दोर्दी ‘ए’ २५ मेगावाट आयोजना परीक्षणको चरणमा छ । दोर्दी खोला जलविद्युत् कम्पनीले दोर्दी–१ (१२.५ मेगावाट) आयोजना निर्माण गरिरहेको छ । आयोजनाको ८० प्रतिशत निर्माण सम्पन्न भएको छ । 

सुझावित समाचार