जसपाका दुवै पक्षलाई निर्वाचन आयोगको पत्र, कारबाही प्रमाणित हुने विवरण माग

बिहिबार, २० जेठ, २०७८
डिजिटल संस्करण

जसपाका दुवै पक्षले एक–अर्को समूहका शीर्ष नेतालाई निष्कासन गरेपछि निर्वाचन आयोगले दुवै पक्षसँग थप विवरण माग गरेको छ । दुवै पक्षले दल दर्ताको पुस्तकबाट निष्कासित व्यक्तिको नाम हटाउन पठाएको पत्रको जवाफ दिँदै आयोगले विवरण हेरफेरका लागि राजनीतिक दलसम्बन्धी नियमावलीअनुसार फारम भर्न भनेको हो । साथै आयोगले महन्थ ठाकुर पक्षलाई पार्टी केन्द्रीय कार्यकारिणी समितिको हस्ताक्षर र निर्णयको प्रतिलिपिसमेत पठाउन भनेको छ ।

राजकुमार श्रेष्ठ, प्रवक्ता निर्वाचन आयोग

दुवै पक्षले पठाएको पत्रको अध्ययन गरेपछि उहाँहरूले माग गरेबमोजिम प्रक्रिया अगाडि बढाउन अपुग आधारहरू माग गरिएको छ । दल दर्ताको विवरण हेरफेर गर्ने भनेपछि सम्बन्धित दलको विधान र दलसम्बन्धी नियमावलीबमोजिम आधारहरू चाहियो । दलसम्बन्धी नियमावलीमा माग गरिएबमोजिम त्यहीँ व्यवस्था गरिएको अनुसूची १८ को फारम भरेर पठाउन भनेका छौँ । विवरण आएपछि थप प्रक्रिया अघि बढाउँछौँ ।

आयोगका प्रवक्ता तथा सहसचिव राजकुमार श्रेष्ठले पत्रको अध्ययन गरेपछि दुवै पक्षले माग गरेबमोजिम कारबाही अगाडि बढाउन आवश्यक आधार नपुगेकाले पत्र पठाइएको बताए । ‘दुवै पक्षले पठाएको पत्रको अध्ययन गरेपछि उहाँहरूले माग गरेबमोजिम प्रक्रिया अगाडि बढाउन अपुग आधारहरू माग गरिएको छ । दल दर्ताको विवरण हेरफेर गर्ने भनेपछि सम्बन्धित दलको विधान र दलसम्बन्धी नियमावलीबमोजिम आधारहरू चाहियो । दलसम्बन्धी नियमावलीमा माग गरिएबमोजिम त्यहीँ व्यवस्था गरिएको अनुसूची १८ को फारम भरेर पठाउन भनेका छौँ । विवरण आएपछि थप प्रक्रिया अघि बढाउँछौँ,’ आयोग प्रवक्ता श्रेष्ठले भने ।

उनले दुवै पक्षलाई पत्र पठाए पनि कुनै निश्चित समय नतोकेको र पहिले नै पत्र पठाइसकेको हुँदा त्यसका लागि गरिएका निर्णय र हस्ताक्षरको प्रतिलिपि मात्रै माग गरिएकाले धेरै समय नलाग्ने अनुमान व्यक्त गरे ।

आयोगले पत्रमा अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवलाई राजनीतिक दलसम्बन्धी नियमावली २०७४ को अनुसूची १८ मा रहेको ‘दलको विवरण हेरफेर भएको निवेदनको ढाँचा’को फारम भर्न भनेको छ । उक्त ढाँचामा दलको नाम, कार्यालयको ठेगाना, गठन भएको मिति, दल दर्ता भएको मिति तथा दर्ता नम्बर र दलको विवरण हेरफेर गर्ने गरी केन्द्रीय समितिबाट निर्णय भएको मितिसँगै साबिकको विवरण र हेरफेर भएको विवरण भर्नुपर्ने हुन्छ । यससँगै दलको विधान तथा नियमावली र केन्द्रीय समितिले विवरण हेरफेर गर्ने गरी गरेको निर्णयको प्रतिलिपिसमेत बुझाउनुपर्छ । 

अध्यक्ष यादव पक्षले यसअघि नै जसपा केन्द्रीय कार्यकारिणी समितिले बैठकबाट गरेको निर्णय र बहुमत सदस्यको हस्ताक्षर पठाइसकेको हुँदा आयोगले फारम मात्रै भर्न भनेको छ । तर, अर्का अध्यक्ष ठाकुर पक्षसँग आयोगले केन्द्रीय कार्यकारिणी समितिको निर्णयको प्रतिलिपि र सदस्यहरूको हस्ताक्षर पनि माग गरेको छ । 

यादव पक्षका नेता तथा केन्द्रीय कार्यकारिणी समिति मोहम्मद इस्तियाक राईले आयोगको पत्र प्राप्त भएलगत्तै फारम भरेर कागजात तयार पारिसकेको र बिहीबार बुझाउने तयारी भइरहेको बताए । ‘आयोगले पठाएको पत्रअनुसार राजनीतिक दलसम्बन्धी नियमावलीको अनुसूची ८ को फारम भरेर तयार पारिएको छ । मंगलबार गएर बुझाउने तयारी छ,’ राईले भने । तर, ठाकुर पक्षका नेताहरूले भने बुधबार अबेरसम्म पनि आफूहरूलाई पत्र नै प्राप्त नभएको प्रतिक्रिया दिएका छन् । 

केन्द्रीय कार्यकारिणी समितिका सदस्य लक्ष्मणलाल कर्णले पत्र आएकोबारेमा अहिलेसम्म कुनै जानकारी नभएको बताए । पत्र प्राप्त भएपछि के गर्ने भनेर निर्णय गर्ने उनको भनाइ छ । यस्तै, अध्यक्ष ठाकुरनिकट नेता सतेन्द्र महतोले पत्र नै नआएको बताए । ‘अहिलेसम्म हामीलाई पत्र आइपुगेको छैन । पत्र आएपछि पार्टीको बैठक बसेर केही निर्णय हुन्छ होला । पत्र नै नआएकाले के गर्ने भनेर त कसरी भन्न सकिन्छ ?’ महतोले प्रतिप्रश्न गरे ।

पार्टीभित्रको समीकरणका आधारमा यादव पक्षसँग आयोगले माग गरेको कानुनी आधार पुगे पनि ठाकुर पक्षलाई भने गाह्रो पर्ने देखिन्छ । जसपाको ५१ सदस्यीय केन्द्रीय कार्यकारिणी सदस्यमध्ये यादव पक्षले आफूसँग ३१ जना रहेको दाबी गर्दै आएको छ । ठाकुर पक्षसँग भने पार्टी एकीकरणका समयमा पूर्वराजपाबाट आएका नेताहरूसमेत बाँकी छैनन् । जसपाको विधानअनुसार पार्टीको केन्द्रीय कार्यकारिणीले गरेको निर्णय नै आधिकारिक मानिन्छ । यसो हुँदा ठाकुर पक्षलाई आयोगले मागेको केन्द्रीय कार्यकारिणीको निर्णय र सदस्यको हस्ताक्षर बुझाउन अप्ठ्यारो पर्ने देखिन्छ । यसबाहेक ठाकुर पक्षसँग विघटित प्रतिनिधिसभाका सदस्यहरूको संख्यामा बहुमत पुग्ने भए पनि पार्टी विधानअनुसार त्यसले आयोगको कारबाहीमा काम गर्दैन । राष्ट्रिय सभामा पनि जसपाका कुल तीनजनामध्ये ठाकुरसँग एकजना र यादवसँग दुईजना सदस्य रहेका छन् ।

पछिल्लो ६ महिनायता मुलुकको राजनीतिक खिचातानीसँगै जसपाभित्र बढेको अन्तर्विरोध यतिवेला निर्वाचन आयोग पुगेको छ । गत ५ पुसमा प्रधानमन्त्री केपी ओलीको सिफारिसमा राष्ट्रपति विद्या भण्डारीले पहिलोपटक संसद् विघटन गरेसँगै पक्ष र विपक्षमा जसपाभित्र दुई फरक–फरक धारहरू देखापरेका थिए । पार्टीका संघीय अध्यक्ष बाबुराम भट्टराई र अध्यक्ष यादव पक्ष राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीको कदमको विरोध गर्दै विपक्षी दलहरूसँग गठबन्धन बनाएर संघर्षमा छ । अर्का अध्यक्ष ठाकुर र वरिष्ठ नेता महतो पक्ष भने ओली नेतृत्वको सरकारमा नै सहभागी हुने अन्तिम तयारीमा रहेको छ । पछिल्लो समय ८ जेठमा दोस्रोपटक प्रतिनिधिसभा विघटन भएसँगै जसपाभित्रको विवाद पनि थप पेचिलो बनेको छ ।

ठाकुर पक्षले प्रतिनिधिसभा विघटन र ओलीलाई समर्थन गरिरहेको छ भने यादव पक्ष कांग्रेस सभापति देउवालाई प्रधानमन्त्री नियुक्त गर्नुपर्ने र प्रतिनिधिसभा पुनस्र्थापना गर्नुपर्ने भन्दै विपक्षी दलहरूसँग कानुनी र राजनीतिक संघर्षमा उत्रिएको छ । पार्टीको विवाद समाधान गर्न अध्यक्षद्वय ठाकुर र यादवले ८ र ९ जेठमा केन्द्रीय कार्यकारिणी समितिको बैठकमा छलफल गर्ने भने पनि पूर्ण बैठक बस्न सकेन । ठाकुरले अघिल्लो दिन मात्रै विज्ञप्ति निकालेर बैठक नबस्ने भनेका थिए । त्यसपछि यादव पक्षका जसपाका बहुमत कार्यकारिणी सदस्यको बैठकले ठाकुरलगायत चारजना नेतालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । यादव पक्षले स्पष्टीकरणपत्र पठाएपछि ठाकुरले पनि जवाफमा स्पष्टीकरण सोधेका थिए । 

लगत्तै यादवले पुनः २४ घन्टे अल्टिमेटमसहित स्पष्टीकरण माग गरे भने ठाकुरले पनि उस्तै व्यहोराको पत्र यादवलाई पठाए । त्यसपछि यादवले ठाकुर, महतो, लक्ष्मणलाल कर्ण र सर्वेन्दनाथ शुक्ललाई पार्टीबाट निष्कासन गरेर निर्वाचन आयोगलाई दल दर्ताको विवरण हेरफेरको माग गर्दै पत्र पठाए । ठाकुरले पनि सोही दिन यादवलाई पार्टीको साधारण सदस्यसमेत नरहेको भनेर कारबाही गरी आयोगलाई विवरण हेरफेरको माग गर्दै पत्र पठाएका थिए । 
 

सुझावित समाचार