धुमपान किन छाड्ने ?

विश्व सुर्तीजन्य पदार्थरहित दिवस

मंगलबार, १८ जेठ, २०७८
डिजिटल संस्करण

प्रत्येक वर्ष ३१ मेमा विश्व सुर्तीजन्य पदार्थरहित दिवस मनाइने गरिन्छ । महामारीकाबीच यस वर्ष सोमबार मनाइएको विश्व सुर्तीजन्य पदार्थरहित दिवसलाई सरकारले थप महत्व दिएको छ । धुमपान गर्ने व्यक्तिमा कोभिड भाइरस संक्रमणको जोखिम बढी हुने भएकाले यो वर्ष धुमपानरहित समाजलाई बढी प्राथमिकता दिएको हो ।

विश्व स्वास्थ्य संगठनको एक तथ्यांकअनुसार, विश्वभर सुर्तीजन्य पदार्थ सेवन गर्नेहरूमध्ये ६० प्रतिशतले धुमपान त्याग्न चाहन्छन् । तर, ३० प्रतिशतले मात्र सुर्तीजन्य पदार्थको सेवन त्याग्नका लागि स्वास्थ्य सेवाको पहुँच हुन्छ ।

धुमपानको प्रयोगबाट हुने फोक्सोको समस्या, क्यान्सर, मधुमेह र उच्च रक्तचापका कारण बर्सेनि ८० लाखभन्दा बढीको मृत्यु हुने गर्छ । धुमपान श्वासप्रश्वासको समस्याका लागि प्रमुख कारण हो, जुन कोभिडको जोखिमसँग प्रत्यक्ष रूपमा जोडिएको छ । 

हाल विश्वका २३ वटा देशले धुमपान त्याग्नका लागि देशभर अभियान नै चलाएका छन् । कोभिडको समयमा सुर्तीजन्य वस्तुको सेवन न्युनीकरणका लागि विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले विश्वभरि ‘कमिट टु क्विट’ नामक अभियान सुरु गरेको छ । यसका लागि हरेक देशलाई धुमपानले संक्रमणमा पार्ने प्रभावबारे जनचेतना जगाउन, धुमपान त्याग्नका लागि सहयोग गर्ने अर्थात् आवश्यक सुविधा प्रदान गर्नसमेत अनुरोध गरिएको छ ।

नेपालमा करिब २७ हजार व्यक्ति प्रत्येक वर्ष धुमपानका कारण अकालमा मरिरहेका छन् । विश्व स्वास्थ्य संगठनको तथ्यांकअनुसार नेपालमा सन् २०१६ मा ३४.४५ प्रतिशतले कुनै न कुनै किसिमले सुर्तीजन्य पदार्थ सेवन गर्ने गरेका थिए । सन् २०१९ सम्म आइपुग्दा प्रयोगकर्ता ३१.९ प्रतिशतमा झरेको छ । 

सरकारले ०४९ देखि नै सार्वजनिक स्थानमा धुमपान निषेध गरिसकेको छ । सन् २००६ मा नेपाल सरकारले विश्व स्वास्थ्य संगठनका फ्रेमवर्क कन्भेन्सन अन टोबाको कन्ट्रोल अनुमोदन गरेको छ । यसलाई कार्यान्वयनका लागि सुर्तीजन्य पदार्थ (नियमन र नियन्त्रण) ऐन २०६८ समेत जारी गरेको छ ।

नियमित धुमपान गर्ने व्यक्तिमा स्वस्थ व्यक्तिको तुलनामा कोभिड भाइरसको जटिलता बढी हुने अध्ययनले देखाएको छ । दोस्रो लहर फैलिएपछि युवामा पनि संक्रमणको जटिलता बढेको छ । केही अध्ययनहरूले निकोटिनजन्य वस्तुको प्रयोग बढी हुनेहरूमा संक्रमणको जटिलता बढाएको जनाएका छन् । साथै सामान्य व्यक्तिको तुलनामा अस्पताल भर्ना हुने दर र आइसियू र भेन्टिलेटरको आवश्यकता पनि बढी हुने अध्ययनले देखाउँछ । 

सुर्तीजन्य पदार्थको सेवनले शरीरमा रोगप्रतिरोधी क्षमतामा प्रत्यक्ष असर पार्ने हुँदा कोभिड संक्रमण मात्र नभई सिजनल फ्लु, निमोनिया, इन्फ्लुएन्जा, क्षयरोग र सिओपिडीजस्ता श्वासप्रश्वाससम्बन्धी समस्याको जोखिम बढाउँछ । 

योसँगै मुखको क्यान्सरको प्रमुख कारण सुर्तीजन्य पदार्थको सेवनलाई मानिन्छ । महामारीको समयमा संक्रमणको जोखिम घटाउनका लागि सुर्तीजन्य पदार्थको त्यागलाई विशेषज्ञहरूले प्राथमिकतामा राख्न अपिल गरिरहेका छन् । संक्रमणको जटिलता न्युनीकरण गर्न र अन्य जटिल स्वास्थ्य समस्याबाट बच्नका लागि सुर्तीजन्य पदार्थको सेवन त्याग्नु आवश्यक देखिन्छ । 

एजेन्सीको सहयोगमा

See More On

सुझावित समाचार