यसै साता युरोपका माथिल्लो डिभिजन लिग (प्रिमियर) सम्पन्न भएका छन् । घरेलु लिगमा आफूअनुकूल नतिजा नआउँदा व्यवस्थापनले प्रशिक्षकलाई नै कारबाही गर्ने गर्छन् । साथै क्लबलाई सोचेजस्तो परिणाम दिलाउन नसकेको अवस्थामा प्रशिक्षकले स्वेच्छाले पद परित्याग गर्ने चलन पनि छ । यस सातामा युरोपियन क्लबमा प्रशिक्षकलाई हटाउने, नयाँ नियुक्त गर्ने तथा स्वेच्छाले क्लब छाड्ने घटनाका उदाहरण देखिएका छन् ।
सुरुमा चर्चा गरौँ इटालीको सिरिए । लगातार नौ वर्ष सिरिए च्याम्पियन रही इटालीको घरेलु लिगमा दबदबा जमाएको युभेन्टस लगातार दसौँपटक उपाधि उचाल्न असमर्थ भयो । इन्टर मिलानले ११ वर्षपछि सिरिए लिगको च्याम्पियनसिप उपाधि जित्दा युभेन्टसको युग समाप्त भएको भन्ने प्रश्न तेर्सिएको छ । युभेन्टसले शुक्रबार प्रशिक्षक आन्द्रे पिर्लोलाई बर्खास्त गरेको छ । युभेन्टसले विज्ञप्ति जारी गर्दै पिर्लोको एक वर्ष कार्यकालको धन्यवाद दिँदै बर्खास्त गरेको जनाएको छ ।
पिर्लोको प्रशिक्षणमा युभेन्टसले केवल एउटा उपाधि कोपा इटालिया जितेको थियो । गत सिजनमा युभेन्टसले अप्रत्याशित रूपमा माउरिजो सारीलाई हटाएर पिर्लोलाई क्लबको जिम्मेवारी दिएको थियो । खेलाडीका रूपमा पिर्लो युभेन्टसमा सफल नै मानिन्छन् । सन् २०११ देखि २०१५ सम्म युभेन्टसमा रहँदा पिर्लोले एक सय ६४ खेल खेलेका थिए । जसमा उनले चारपटक सिरिए लिग उपाधि चुमे । तर, प्रशिक्षकका रूपमा असफल भएपछि पिर्लोले प्रशिक्षक गुमाउन पुगेका छन् । यसैबीच युभेन्टसले शुक्रबारै सिमोने इन्जाघीलाई मुख्य प्रशिक्षकको जिम्मेवारी सुम्पिएको छ ।
इन्टरमा सिमोने
इन्टर मिलानले पूर्वप्रशिक्षक सिमोने इन्जाघीलाई पुनः नियुक्त गरेको छ । लाजियो च्याम्पियन्स लिगमा छनोट नभएपछि सिमोनले सो क्लब छाडेका हुन् । हालै सम्पन्न घरेलु फुटबलमा लाजियो सिरिएको पाँचौँ स्थानमा सीमित भयो । लाजियोमा पाँच वर्ष बिताउँदा इन्जाघीले पाँच उपाधि दिलाएका छन् । उनको प्रशिक्षणमा लाजियोले कोपा इटालिया र दुईपटक इटालिया सुपर कप जितेको थियो ।
इन्जाघीको प्रशिक्षणमा लाजियो १३ वर्षपछि युरोपियन च्याम्पियन्स लिगमा छनोट भएको थियो । चिनियाँ कम्पनीको लगानीमा रहेको इन्टर मिलानले इन्जाघीको आगमनले क्लबले नयाँ सिजनमा सशक्त प्रदर्शनको अपेक्षा राखेको छ ।
कोन्टेले इन्टर छाडे
११ वर्षपछि इन्टर मिलानलाई सिरिए लिग च्याम्पियन बनाएलगत्तै यसै बुधबार प्रशिक्षक एन्टोनियो कोन्टे बाहिरिए । यद्यपि, क्लब र कोन्टेबीचको सम्झौता एक वर्ष बाँकी नै छ । कोन्टेले आफ्नो लक्ष्य पूरा भएको बताउँदै इन्टर मिलान छाडेको प्रतिक्रिया दिएका छन् । ५१ वर्षीय कोन्टेलाई इन्टरले प्रतिवर्ष ७० मिलियन पाउन्डमा अनुबन्ध गरेको थियो । उनले अझै पनि क्लबसँग पारिश्रमिक रूपमा एक करोड ३० लाख पाउन्ड लिन बाँकी छ ।
इन्टरमा कोन्टेको आगमनसँगै आमूल परिवर्तन भयो । सिरिए लिग उपाधि दिलाउने क्रममा उनले खेलाडी भित्र्याउँदा ८० मिलियन पाउन्ड खर्च गरे । यसैको परिणामस्वरूप इन्टरले युभेन्टसलाई २०१२ पछि सिरिए लिग उपाधि विमुख गरेको हो । चेल्सीका पूर्वप्रशिक्षक कोन्टेले यस सिजनमा इन्टर मिलानलाई शीर्ष स्थानमा स्पष्ट १२ अंकको अग्रता दिलाए ।
रियलमा जिदान आउने र जाने
पछिल्लो समय स्पेनिस क्लब रियल म्याड्रिडले सबैभन्दा विश्वास गरेको प्रशिक्षक जिनेदिन जिदान नै हुन् । सन् २०१८ मा रियलबाट बाहिरिए जिदानलाई पुनः नियुक्त गर्यो । रियल छाडेको १० महिनापछि नै मुख्य प्रशिक्षक बनेका जिदानले क्लबलाई स्पेनिस ला लिगासमेत दिलाउन सफल भए । यस सिजनमा रियल च्याम्पियन्स लिगको सेमिफाइनलबाट बाहिरिनु तथा ला लिगा उपाधि रक्षा गर्न नसक्दा जिदानले आफूखुसी नै पदबाट राजीनामा दिए ।
जिदानकै प्रशिक्षणमा रियलले लगातार तीनपटक च्याम्पियन्स लिग उपाधि उचालेको थियो । सन् २०१८ देखि ०१८ सम्म प्रशिक्षकका रूपमा जिदानले रियललाई दुईपटक ला लिगा, दुईपटक युइएफएए सुपर कप, दुईपटक क्लब विश्वकप तथा दुईपटक स्पेनिस सुपर कप दिलाएका थिए । गत शनिबार स्पेनिस ला लिगाको अन्तिम चरण खेलमा रियलले जित हात पारे पनि छिमेकी क्लब एटेलेटिको म्याड्रिडसँग शीर्ष स्थानमा दुई अंकले पछि पर्दा उपाधि रक्षा गर्न असमर्थ भयो ।
एजेन्सीहरूको सहयोगमा