नेपाली कांग्रेसले कोभिडको आडमा सरकारले आफ्नो राजनीतिक अभीष्ट पूरा गर्नका लागि जनतामा आतंक फैलाउने काम गरेकोे आरोप लगाएको छ । बुधबार बिहान सभापति शेरबहादुर देउवानिवास बुढानीलकण्ठमा बसेको पदाधिकारी बैठकले कोभिड– १९ संक्रमणको रोकथाम गर्नभन्दा पनि महामारीको आडमा सरकारले राजनीति गर्न खोजेको निष्कर्ष निकालेको हो ।
आफ्ना असंवैधानिक कदमलाई वैधानिकता दिन र राजनीतिक अभीष्ट पूरा गर्नका लागि सरकारले कोभिड संक्रमणको नाममा जनतामा आतंक फैलाउन खोजेको ठहर बैठकले गरेको छ । बैठकपछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै सहमहामन्त्री प्रकाशशरण महतले कोभिडका नाममा जनतामा आतंक फैलाउने र राजनीतिक स्वार्थसिद्धि गर्ने कोसिसमा सरकार अघि बढेको बताए ।
उनले कोभिड संक्रमितको उपचार सुनिश्चित गर्नुभन्दा पनि संक्रमणको आडमा जनतामा आतंक फैलाउने र राजनीतिक स्वार्थसिद्धि गर्ने सरकारका क्रियाकलापको बैठकले घोर भर्त्सना गरेको बताए । ‘सरकार कोभिड संक्रमलाई रोकथाम गर्नभन्दा पनि यसका आडमा राजनीति गर्न खोज्दै छ । जनतामा आतंक फैलाउन खोज्दै छ,’ उनले भने, ‘दुई दिनभित्र किनमेल गर भन्ने किसिमका कुराहरू गर्दै छ । सरकारको आशय अहिले पनि अक्सिजन, अस्पताल बेडको सुनिश्चिततासँगै दुर्गम गाउँगाउँमा पिसिआर परीक्षण गर्ने, संक्रमितको उपचार सुनिश्चित गर्नुभन्दा पनि संक्रमणको आडमा जनतामा आतंक फैलाउने र राजनीतिक स्वार्थसिद्धि गर्ने कोसिस सरकारबाट भइरहेको छ । यसको घोर भर्त्सना गरेका छौँ । कोभिड महामारीलाई कम गर्नको लागि सार्थक काम गर्न सरकार केन्द्रित छैन । यो आडमा आफ्नो सत्ता बचाउनका लागि जनतामा आतंक फैलाउने काममा मात्रै सरकार केन्द्रित छ ।’
महामारीमा जनताको दैनिकी असहज भइरहेका वेला सहयोगी भूमिका निर्वाह गर्नुभन्दा सरकार जनअधिकारलाई निषेध गर्ने र अवैधानिक बाटोलाई वैध बनाउने बाटोमा लागेको भन्दै बैठकले त्यस कार्यको निन्दा एवं भर्त्सना गरेको नेता महतले जानकारी दिए ।
कांग्रेसले उपचार नपाएर र अक्सिजन नपाएर कोभिड संक्रमितहरको ज्यान गइरहेको तथा दुर्गमलगायत क्षेत्रमा कोरोना परीक्षण हुन नसकिरहेका वेला उपचार, रोकथाम र राहततर्फ केन्द्रित हुनका लागि सरकारको ध्यानाकर्षण गराएको छ । तत्काल सडकमा उत्रिने अवस्था नरहेकाले सञ्चार, सामाजिक सञ्जाल, नागरिक समाजलगायतमार्फत निरन्तर रूपमा राष्ट्रपति र सरकारको असंवैधानिक कदमविरुद्ध लाग्नुको साथै कानुनी र राजनीतिक लडाइँलाई निरन्तरता दिने निर्णय बैठकले गरेको छ ।
केही दिनअघि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोभिड– १९ महामारी रोकथाम, नियन्त्रण तथा उपचारका सम्बन्धमा गर्नुपर्ने काम र सर्वसाधारणको दैनिकीलाई सहज बनाउनका लागि राहतलगायतको व्यवस्था गर्न माग गर्दै प्रधानमन्त्री केपी ओलीलाई १५बुँदे ज्ञापनपत्र बुझाएका थिए ।