गुणस्तरहीन विकास : परीक्षणकै क्रममा फुट्यो जलविद्युत् आयोजनाको बालुवा थिग्य्राउने पोखरी

मंगलबार, ११ जेठ, २०७८
डिजिटल संस्करण

लिखु ४ जलविद्युत्र आयोजनाको डिसेन्डिङ बेसिन (बालुवा थिग्य्राउने पोखरी) फुटेको छ । निर्माणकार्य सम्पन्न नहुँदै ओखलढुंगा र रामेछापको सिमानामा निर्माणाधीन ५२.४ मेगावाट जलविद्युत् आयोजनाको बालुवा थिग्य्राउने पोखरी परीक्षणकै क्रममा फुटेको हो ।

ओखलढुंगाको खिजीदेम्बा गाउँपालिका र रामेछापको लिखुतामाकोसी गाउँपालिकाको बीचबाट बग्ने लिखु खोलाबाट विद्युत् उत्पादनका लागि लिखु ४ आयोजनाले काम गरिरहेको छ । आयोजनाको काम सम्पन्न नहुँदै बालुवा थिग्य्राउने कंक्रिट पोखरीको २० मिटरभन्दा बढी भाग फुटेर भत्किएको छ ।

छिटो आयोजना सम्पन्न गर्ने भनेर राम्रो काम नगर्दा समस्या आएको हुन सक्ने स्थानीय दिनेश सुनुवारले बताएका छन् । ‘एसियामै सबैभन्दा छिटो बनिएको संरचना भनेको सुनेको थिएँ । आज त के हो भत्किएको पनि सबैभन्दा छिटो पो भन्ने  सुनियो,’ सुनुवारले भने । 

लिखु ४ जलविद्युत् आयोजनामा गुणस्तरहीन काम भइरहेको स्थानीयले सुरुवातदेखि नै आवाज उठाउँदै आएका थिए । खिजीदेम्बाका केही जनप्रतिनिधि र राजनीतिक दलका नेताको संरक्षणका आडमा आयोेजनाले स्थानीयका माग सुनुवाइ नगरी आफूखुसी आयोजना अघि बढाइरहेको रगनीका चित्र पौडेलले बताए ।

‘यो आयोजनाले जथाभावी सुरुङ खनेर गाउँलाई जोखिम बढाएको छ । वातावरणीय हिसाबले पनि एकदमै समस्या निम्त्याएको छ,’ पौडेलले भने, ‘यसको कामगराइ कत्तिको गुणस्तरीय हुन्छ भन्ने त देखियो नि परीक्षण नै नगर्दै संरचना भत्किएपछि ।’ आयोजनाले प्रभाव क्षेत्रसमेत कम देखाएर बढी मुनाफाकेन्द्रित बन्न खोजेको उनको आरोप छ । 

तह–तहको पोखरीमा पानी जम्मा गर्दै सुरुङबाट पावरहाउसतर्फ पठाउनेगरी संरचना निर्माण भएको छ । त्यसमध्ये एउटा पोखरीको करिब २० मिटर पार्टचाहिँ परीक्षणकै क्रममा खसेको हो ।  आयोजनाका वरिष्ठ जनसम्पर्क तथा प्रशासकीय प्रबन्धक कृष्णदास श्रेष्ठले परीक्षणका क्रममा बालुवा फिल्टर गर्ने बेसिन भत्किएको, तर ठूलो क्षति नभएको दाबी गरेका छन् ।

‘ड्याम् फुटेको भनेर हल्ला चल्यो, यदि ड्याम नै फुटेको थियो भने त आयोजना नै शून्यमा गइहाल्थ्यो । यो त ड्याममा पानी फिल्टर गरेर लैजानका लागि बनाइएको बालुवा छान्ने बेसिन भत्किएको हो,’ श्रेष्ठले भने, ‘टर्वाइनसम्म वेगले जाने पानी फिल्टर गर्नका लागि पानीमा भएका बालुवा थिग्य्राउने गरी बनाएको एकापट्टिको बेसिन भत्किएको हो । यसका विषयमा हामी अध्ययन गर्दै छौँ ।’ आयोजना निर्माणमा केही त्रुटिका कारण यो भत्किएको उनले स्वीकार गरेका छन् । भत्किएको भागलाई तत्काल मर्मत गरिने उनको भनाइ छ । 

लिखु चौथो जलविद्युत् आयोजनाको सिभिल निर्माणको ठेक्का लिएको भारतको एसएसएनआर कम्पनीले गुणस्तरीय संरचना निर्माणमा ध्यान नदिएकै कारण बालुवा थिग्य्राउने पोखरी फुटेको स्थानीयको दाबी छ । आयोजनाको कंक्रिट संरचना नै भत्किएपछि त्यसको डिजाइन र निर्माणको गुणस्तरमाथि प्रश्न उठेको छ ।

अहिले पानी जम्मा गर्ने पोखरी पानी थेग्नै नसकेर फुटेपछि ‘पानी थेग्नै नसक्ने कंक्रिट पोखरी बनाइएको’ भन्दै निर्माण कम्पनीको आलोचना भइरहेको छ । २०७७ साल भदौ–असोजमा पूरा गर्ने गरी नेपाल विद्युत् प्राधिकरणसँग ०७३ असार २५ गते विद्युत् खरिद सम्झौता गरेर लिखु ४ जलविद्युत् आयोजनाको काम अघि बढाएको थियो ।

आयोजनाका लागि खिजीदेम्बा गाउँपालिका– ३ खिजीचण्डेश्वरीको बिमिरेमा ड्याम बनाएर भूमितगत सुरुङ हुँदै खिजीदेम्बा गाउँपालिका– १ रगनीको लिम्तीमा खसाएर विद्युत् उत्पादन गर्ने तयारी छ । 

हालसम्म आयोजनाको करिब ९० प्रतिशतभन्दा बढी काम भइसकेको बताइएको छ । ग्रिन भेन्चर प्रालि प्रवर्द्धक रहेको आयोजनाको बाँधस्थल र डिसेल्डिङ च्याम्बरलगायतका संरचना निर्माणको जिम्मा एसएएनआर कम्पनीले तथा विद्युत्गृह, भल्भ साउथ, सर्ज साफ्टलगायतका संरचना निर्माणको जिम्मा साउथ एसियन इन्फ्रास्ट्रक्चरले लिएको छ । तर, आयोजनामा निर्माण कम्पनीको उत्तिकै चरम ढिलासुस्ती देखिएको छ । 
 

सुझावित समाचार