शिक्षाशास्त्री तथा समाजशास्त्रीहरूले मानव सभ्यताको सुरुदेखि नै शिक्षालाई मानव विकासको महत्वपूर्ण अवयवको रूपमा लिए । मानव समाजमा जे जस्ता परिवर्तन भए, त्यो सबै जस शिक्षालाई नै दिइयो । अब प्रश्न उठ्छ, के वर्तमान समाज साँच्चै सोचेजस्तो विकसित भएको छ त ? जे–जे परिवर्तन भएका छन्, अपेक्षित परिवर्तन यिनै हुन् त ? शिक्षाका माध्यमले बनेको नवनिर्मित समाजको स्वरूप यस्तै हुन्छ ? जो व्यक्ति कुनै दर्शनसँग अनुबन्धित छ, उसले चिन्तन गर्न छाड्छ । दर्शनका अनुयायीहरू नै शिक्षाशास्त्री भएकाले यिनीहरूले समाजलाई निराशा मात्र दिइरहेका छन् । यदि शिक्षाशास्त्रीका चिन्तन सही भएका भए मानव जीवन र उसको विचार निकै भिन्न र विशिष्ट हुन सक्थ्यो । शिक्षकले जुन कुुरा समाजलाई दिइरहेको छ, त्यो खतरापूर्ण छ । यसको परम्परालाई हेर्दा शिक्षक दास र समाज मालिक भएको देखिन्छ । समाज आफ्ना पुराना ईष्र्या, द्वेष, कुविचारजस्ता हजारौँ वर्षदेखि मानव मनमा लादिएका कुरा शिक्षकले बालबालिकाका दिमागमा भरिदेओस् भन्ने चाहन्छ । मरिसकेका वा मर्न लागेका मानिसका ठीक वा बेठीक विचार शिक्षकका माध्यमबाट बालबालिकाका मनमा प्रविष्ट गराउने काम समाजले गर्छ । शिक्षक पनि यही काम गराउन प्रवृत्त छन्, जुन रोगबाट अघिल्लो शताब्दी ग्रस्त थियो, त्यही रोग नयाँ पुस्तामा संक्रमित गराउन । समाजले आफ्नो ढाँचा, स्वार्थ र अन्धविश्वास समाप्त गर्न चाहँदैन ।
हिन्दू मातापिता आफ्ना छोराछोरीलाई हिन्दू बनाएर मात्र मर्न चाहन्छन् । मुस्लिमले आफ्ना सन्तान मुस्लिम नै बनाउन चाहन्छ । यही कारण हिन्दू र मुस्लिमको झगडा नयाँ पुस्तामा हस्तान्तरण हुँदै जान्छ । पुस्तौँपुस्ताका अन्धश्रद्घा नयाँ पुस्तामा हस्तान्तरण गर्न शिक्षकले नै सघाइरहेका हुन्छन् । यही कारण संसारमा भौतिक विकासको दाँजोमा मानसिक विकास भएको छैन । बालबालिकामा पाँच–सात हजार वर्षदेखि संकलित बोझ थमाइएको छ । यस्ता बोझ बालबालिकाको व्यक्तित्व विकासमा बाधक बनेर तेर्सिएका छन् । आमाबाबुले छाडेको सम्पत्तिबाट छोराछोरी अघि बढ्ने भएकाले सामान्यतया भौतिक सम्पत्ति बढ्छ । बाबुले किनेको जग्गामा छोराले केही थप्यो भने बाबु खुसी हुन्छन् । तर, मानसिक समृद्धि त अघि बढ्दैन । मानसिक समृद्धिमा आफ्ना अभिभावकभन्दा अघि बढ्ने वातावरण दिइएकै हुँदैन । छोराछोरीले धार्मिक ग्रन्थ वा माक्र्स, फ्रायड पढेर तिनमा आफ्ना विचार पनि थपिदिँदा अभिभावक खुसी हुनुपर्ने हो, तर दुःखी हुन्छन् । अर्थात्, बाबुको मानसिक घर जस्तो छ, त्यसलाई थपघट गर्नुभन्दा त्यसैमा बसिरहनु उचित ठानिन्छ । भौतिक समृद्धिको तुलनामा मन संकुचित हुँदै गएकाले समाज जटिल बन्दै छ ।
मान्छेजस्तो प्रकृतिले पनि रूखलाई ठूलो र घाँसलाई सानो देख्ने भए संसार रूखैरूखको हुन्थ्यो होला । घाँस बनाउन छोडिन्थ्यो । जबसम्म हामी एउटासँग अर्काको तुलना गरिरहन्छौँ, तबसम्म गलत बाटोमा हिँडिरहन्छौँ ।
शिक्षा भविष्योन्मुख हुनुपर्नेमा हाम्रो सम्पूर्ण शिक्षा अतीतोन्मुख छ । सूचना, धारणा र आदर्श अतीतबाट ग्रहण गरिन्छ । अतीतका कुरालाई बालबालिकाका मनमा थोपरेर त्यस्ता धारणामा अनुकूलित भई देखाउनेलाई हामी आदर्श बालबालिका भन्छौँ । यसले गर्दा जे उत्पत्ति भइरहेको छ, त्यसको रक्षक र जे हुन सक्थ्यो, त्यसको भक्षक वा बाधकको भूमिका शिक्षकले खेलेका छन् । शिक्षकले सिकारुलाई अतीतको सीमाभन्दा माथि उठ्न दिएको छैन । समाज भनेकै राजनीतिक एकाइ हो । सबैभन्दा माथि राज्यसत्ता र राजनीति नै हुन्छ । राजनीतिज्ञले जानी–नजानी शिक्षकका माध्यमबाट आफ्ना विचारहरू बालकमा सम्प्रेषित गराउँछ । बालकले आफ्ना धारणा आफैँ बनाउन नसक्ने अवस्थामै अरूका धारणा भरिदिने कामभन्दा घातक काम अरू के हुन सक्छ ? समाजवादी राज्यसत्ता भएका देशमा समाजवादी शिक्षा दिइन्छ भने पँुजीवादी राज्यसत्ता भएका देशमा पुँजीवादी शिक्षा । के यो अबोध बालकलाई पुँजीवादी वा समाजवादी बनाउन खोज्नु मूर्खता होइन ?
नेपालमा लोकतन्त्र प्राप्तिका लागि होस् कि गणतन्त्रका लागि, राजनीतिज्ञको धारणा थियो– मुक्तिका लागि शिक्षक तथा विद्यार्थी क्रान्तिमा लाग्नु आवश्यक छ । तिनै राजनीतिज्ञहरू सत्तामा पुगेपछि भन्न थाले– शिक्षक र विद्यार्थी राजनीतिबाट टाढै बस्नुपर्छ । राजनीतिज्ञका लागि जे हितअनुकूल हुन्छ, त्यही–त्यही मात्र सत्य हुन्छ । उनीहरूकै भाषा शिक्षकले अरूलाई सम्प्रेषण गर्छ । यस तथ्यलाई हेर्दा जुन व्यक्तिभित्र विद्रोहको ज्वाला उर्वर हुन्छ, त्यही व्यक्ति सही अर्थमा शिक्षक हुन्छ । आन्तरिक रूपमा सचेतना भएको र विद्रोहको ज्वाला नभएको व्यक्ति कुनै न कुनै रूपले प्रचलित राजनीति, धर्म वा नीतिको एजेन्ट मात्र हुन्छ । शिक्षक प्रेम गर भनी सिकाउँछन्, तर प्रतिस्पर्धा गराउँछन् । प्रतिस्पर्धाले ईष्र्या सिकाउँछ । आफू अघि बढ, अरूलाई पछि पार भन्ने नीतिगत सिकाइबाट प्रथम हुनेलाई पुरष्कृत गरी उसको अहम्लाई मलजल गर्छौं भने विद्यार्थीलाई अहंकार,ईर्ष्या र प्रतिस्पर्धाको वातावरणमा शिक्षित गर्दा उनीहरूले कसरी प्रेम गर्न सिक्छन् ? प्रेमको खास अर्थ जसलाई प्रेम गरिन्छ, उसलाई अघि बढ्न दिनुपर्छ भन्ने हो । अरूभन्दा पछाडि उभिनु नै हो । प्रेमले आफू मर, अरूलाई बचाऊ भन्छ भने प्रतिस्पर्धाले आफू बाँच, अरूलाई मार भन्छ । त्यसैले सम्पूर्ण संसारभरि प्रतिस्पर्धारूपी विष शिक्षाको नाममा रोपिएको छ । अनि, कसरी सुन्दर संसार निर्माण हुन्छ ?
प्रत्येक मानिस आफूभन्दा अगाडि रहेकालाई तानेर पछि पार्ने प्रयासमा लागेको हुन्छ । अरूलाई पछि पारेर अघि बढ्नुजस्तो हिंसा अरू केही हुँदैन । यस्तो शिक्षामा आधारित विश्वमा हिंसा, हत्या र लडाइँ भयो भनी आश्चर्य मान्नुको अर्थ के ? झुप्रोको छेउमा रातारात महल खडा भयो, भोकालाई देखेर महलवासीले अट्टहास गरे भनेर के आश्चर्य मान्नु । शिक्षा प्रणालीले यही त सिकाइरहेको छ । यस्तै समाज निर्माण गर्ने हो भने ईश्वरले सम्पूर्ण शिक्षा प्रणाली समाप्त पारिदिऊन् भनी प्रार्थना गरे हुन्छ । शिक्षाविनाको समाज बरु योभन्दा उत्तम होला । शिक्षितभन्दा अशिक्षितमा प्रेमको भावना बढी छ । प्रतिस्पर्धी भावना कम हुन्छ । प्रतियोगी मन कठोर, हिंस्रक र अनुदार हुन्छ । यस्तो सिकाइले तिमीले सुतली बम बनायौ भने हामी हाइड्रोजन बम बनाउँछौँ मार्काको चिन्तन विकास गर्छ ।
कसरी शान्त र आनन्दित हुने भन्ने कसले सिकाउने ? शान्ति र सफलता विरोधाभास हुन् । सफलता प्रतिस्पर्धासँग सम्बन्धित छ । यसले तनाव बढाउँछ, शान्ति र आनन्द होइन । जबसम्म सफलतालाई केन्द्रमा राखिन्छ, तबसम्म संसारमा असत्य, बेइमानी बढिरहन्छ । श्रमको सम्मान हुनुपर्छ, सफलताको होइन । सफल होइन, सुफल हुनुपर्छ । जबसम्म पालेको अपमान हुने र हाकिमको सम्मान हुने प्रथा कायम रहन्छ, तबसम्म संसारमा इमानदारी टिक्न सक्दैन । सम्मान पाउन अपमान त्याग्नुपर्छ । अपमान त्याग्नु नै असत्यमा हिँड्नु हो । असत्यले सफलता हात पार्छ भने कुन मूर्खले छोड्छ ? त्यसैले सफलताको केन्द्र समाप्त पारिनुपर्छ । यदि मान्छेजस्तो प्रकृतिले पनि रूखलाई ठूलो र घाँसलाई सानो देख्ने भए संसार रूखैरूखको हुन्थ्यो होला । घाँस बनाउन छोडिन्थ्यो । जबसम्म हामी एउटासँग अर्काको तुलना गरिरहन्छौँ, तबसम्म गलत बाटोमा हिँडिरहन्छौँ । जबसम्म हामीले अरू व्यक्तिको अनुपमेयता र अद्वितीयतालाई सम्मान गर्न सक्दैनौँ, तबसम्म प्रतियोगिता चलिरहन्छ ।