अस्पतालमै संक्रमणको जोखिम

शनिबार, ८ जेठ, २०७८
डिजिटल संस्करण

लमजुङको सुन्दरबजारमा रहेको नमुना सामुदायिक अस्पतालमा बिरामीको चाप बढेसँगै उपचारमा समस्या भएको छ । कोभिड–१९ को लक्षण मिल्ने रुघाखोकी र ज्वरोका बिरामीको चाप बढेपछि अस्पतालमा संक्रमण फैलने त्रास बढेको हो । 

नमुना सामुदायिक अस्पतालमा कोभिड–१९ का संक्रमितलाई उपचारका लागि अक्सिजनसहितको ४० शøयाको आइसोलेसन बेड तयार छ । संक्रमितको उपचारका निम्ति आइसोलेसनको व्यवस्थापन गरिए पनि प्रारम्भिक परीक्षणका लागि आवश्यक उपकरण नहुँदा अस्पतालमा आएका बिरामी थप जोखिममा परेको अस्पताल विकास समितिका अध्यक्ष परमेश्वर अधिकारीले बताए । 

अस्पतालमा आएका बिरामीहरूको तत्काल एन्टिजेन परीक्षण गरी उपचार गराउन सकिने भए पनि स्थानीय सरकारले एन्टिजेन उपलब्ध नगराएपछि समस्या सिर्जना भएकोे हो । कोभिड–१९ को लक्षण देखिएका बिरामीलाई परीक्षण नगर्दासम्म संक्रमण पुष्टि गर्न नसकिने र परीक्षण दायरा साँघुरो हुँदा अस्पतालमा आएका अन्य बिरामीहरूमा पनि संक्रमणको जोखिम बढ्ने अस्पताल विकास समितिका अध्यक्ष अधिकारीको भनाइ छ । 

१५ शøयाको अस्पतालमा हाल दैनिक २५ देखि ३० जना बिरामी उपचारका लागि आउने गर्छन् । अस्पतालबाट बिरामीहरू उपचार गरेर निको भई घर फर्किएपछि मात्रै पिसिआर रिपोर्ट पोजेटिभ आउँदा समस्या जटिल बनेको अस्पतालका मेडिकल अफिसर डा.दिलिप अधिकारीले बताए । 

जिल्लामा हप्ताको दुई दिन मात्रै पिसिआर परीक्षणको स्वाब संकलन गरिन्छ । रिपोर्ट आउन एक सातादेखि १० दिनसम्म लाग्ने हुँदा यो अवधिमा बिरामीहरूको उपचारमा निकै समस्या भएको अस्पतालले जनाएको छ । 
 

सुझावित समाचार