विश्वासको मत लिई पराजित भएर फेरि उपधारा ५ मै जानुभन्दा मार्गप्रशस्त गरिदिएको छु : प्रधानमन्त्री

शुक्रबार, ७ जेठ, २०७८
डिजिटल संस्करण

प्रधानमन्त्री केपी ओलीले विश्वासको मत लिएर पराजित भई फेरि संविधानको धारा ७६ को उपधारा ५ मा जानुभन्दा अर्काे सरकार बनाउनका लागि मार्गप्रशस्त गरिदिएको बताएका छन् ।

बिहीबार संविधानको धारा ७६ (३)बमोजिम नियुक्त प्रधानमन्त्री केपी ओलीले विश्वासको मत नलिई र राजीनामासमेत नदिएको अवस्थामा राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धाराबमोजिमको सरकार गठनका लागि आह्वान गरेपछि चौतर्फी आलोचना भएकाे छ ।  प्रधानमन्त्री ओलीले शुक्रबार सिंहदरबारमा पत्रकार सम्मेलन गरी संविधानको धारा ७६ को उपधारा ५ अनुसार अर्काे सरकार बनोस् भन्ने अभिप्रायका साथ मार्गप्रशस्त  गरिदिएको बताए । 

बाहिर भएको व्याख्या कृत्रिम र नाटकीय भएको भन्दै ओलीले भने, ‘मैले यसो नगरी विश्वासको मत लिएको भए मलाई विश्वासको मत प्राप्त हुँदैनथ्यो । अनि फेरि हामी जाने भनेको  ७६ को उपधारा ५ मै हो भने किन विश्वासको मत लिने कर्मकाण्ड गरिरहने ? ’  

‘जेठ १५ गते बजेट प्रस्तुत गर्नुपर्छ । समय घर्किसकेको छ । दुई दिनअघि बनेको सरकारले कसरी नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्ने ? कुनै षड्यन्त्रपूर्वक नभएर सुझबुझका साथ वैकल्पिक सरकारका लागि बाटो प्रशस्त गरिदिएको छु । नयाँ सरकार बनाएर आउनुहोस् स्वागत गर्दछु,’ उनले विपक्षी गठबन्धनलाई भने । 

आफूले छलेर सरकार कब्जा गर्न नखोजेको पनि ओलीले स्पष्ट पारे । 

सुझावित समाचार