नेपाली राष्ट्रिय फुटबल टोलीमा ठूलो परिवर्तन देखिएको छ । इराकसँगको मैत्रीपूर्ण खेल तथा विश्वकप २०२२ र एसियाकप २०२३ को छनोटअन्तर्गत दोस्रो चरणको बाँकी खेलका लागि मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुइतरीले मंगलबार घोषणा गरेको टोलीमा युवा खेलाडीलाई प्राथमिकता दिएका छन् ।
उनको टोलीमा ६ जना नयाँ खेलाडीले स्थान बनाएका छन् । डेढ महिनाअघि मात्रै थ्री नेसन्सकप जितेको नेपाली टोलीबाट १३ जना खेलाडी बाहिरिएका छन् । उक्त टोलीमा रहेका १० खेलाडीले मात्रै राष्ट्रिय टोलीमा स्थान पाएका छन् ।
प्रशिक्षक अल्मुइतरीले प्रारम्भिक चरणमै थ्री नेसन्सकप जितेको टोलीका धेरै खेलाडीलाई बाहिर राखेका थिए । अन्तिम २३ सदस्यीय टोलीको घोषणा गर्दा स्ट्राइकरहरू भरत खवास, दर्शन गुरुङ, रक्षक रञ्जित धिमाल, गोलरक्षक विकेश कुथुलगायत खेलाडी बाहिरै रहे । थ्री नेसन्सकपमा नेपाली टोलीमा नरहेकामध्ये मिडफिल्डर सन्तोष तामाङ र स्ट्राइकर नवयुग श्रेष्ठले नेपाली टोलीमा लामो समयपछि पुनरागमन गरेका छन् ।
नियमित खेलाडी टोलीबाट बाहिरिँदा गोलरक्षक विशाल सुनार, रक्षक गौतम श्रेष्ठ, मिडफिल्डर सुरजजिउ ठकुरी, आयुष घलान, मनीष डाँगी र कमल थापाले पहिलोपटक राष्ट्रिय टोलीमा स्थान बनाएका छन् । यी खेलाडीले गत शनिबार सम्पन्न नेपाल सुपर लिग (एनएसएल)मा उत्कृष्ट प्रदर्शन गरेका थिए ।
नेपालले आगामी १५ जेठमा इराक (सन् २००७ को एएफसी एसियनकप च्याम्पियन टोली)सँग उसकै मैदानमा मैत्रीपूर्ण खेल खेल्दै छ । उक्त मैत्रीपूर्ण खेलपछि नेपाली टोली विश्वकप २०२२ र एसियाकप २०२३ को छनोटअन्तर्गतको दोस्रो चरणको बाँकी खेल खेल्न कुवेततर्फ प्रस्थान गर्नेछ । पाँच टोली रहेको समूह बीमा नेपाल तीन अंक जोडेर चौथो स्थानमा रहेको छ । नेपालभन्दा पछि चाइनिज ताइपेई मात्रै रहेको छ ।
नेपाली टोली
- गोलरक्षकः किरणकुमार चेम्जोङ, दीप कार्की, विशाल सुनार
- रक्षकः अनन्त तामाङ, गौतम श्रेष्ठ, सुमन अर्याल, रोहित चन्द, दिनेश राजवंशी, विकास खवास
- मिडफिल्डरः पुजन उपरकोटी, एरिक विष्ट, सुमन लामा, मनीष डाँगी, सन्तोष तामाङ, सुरजजिउ ठकुरी, कमल थापा, विशाल राई, सुनील बल, आयुष घलान
- स्ट्राइकरः नवयुग श्रेष्ठ, आशिस लामा, अञ्जन विष्ट, अभिषेक रिजाल, सुमन लामा