मेटलाइफ फाउन्डेसनद्वारा ५० हजार अमेरिकी डलर सहयोग

मंगलबार, ४ जेठ, २०७८
डिजिटल संस्करण

मेटलाइफ फाउन्डेसनले अमेरिका–नेपाल मेडिकल फाउन्डेसन (एएनएमएफ) लाई नेपालमा कोभिड–१९ को संकटबाट प्रभावित असहाय व्यक्तिहरूका लागि आवश्यक चिकित्सा सेवा प्रदान गर्न ५० हजार अमेरिकी डलर अनुदान दिने भएको छ । एएनएमएफ सन् १९९७ देखि देशमा विशिष्ट स्वास्थ्य सेवालाई टेवा पु¥याउने दृष्टिकोणका साथ नेपाली चिकित्सकहरूद्वारा स्थापना गरिएको गैरनाफामूलक संस्था हो ।

मेटलाइफ फाउन्डेसनको अनुदानले एएनएमएफलाई देशका विभिन्न स्थानमा सञ्चालित आइसोलेसन केन्द्र तथा अस्पतालहरूमा उच्च बहावको अक्सिजन उपकरण तथा कन्सन्ट्रेटरलगायत अन्य आवश्यक स्वास्थ्य चिकित्सा आपूर्ति गर्न सहज हुने जनाइएको छ । उच्च संख्यामा बढिरहेका गम्भीर अवस्थाका बिरामीहरूका कारण हाल देशको चिकित्सा प्रणालीमा दबाब परिरहेको अवस्थामा यो अनुदानले एएनएमएफलाई स्वास्थ्य सेवा पूर्वाधारमा पर्ने भार न्यूनीकरण गर्न थप सक्षम बनाउन मद्दत गर्ने संस्थाले जनाएको छ । 

मेटलाइफ नेपालका महाप्रबन्धक निर्मलकाजी श्रेष्ठले आफूहरू अहिलेको विश्वव्यापी महामारीबाट प्रभावित मानिसहरूको स्वास्थ्य र जनहितका लागि हरसम्भव प्रयासहरू गरिरहेको बताए । उनले भने, ‘मेटलाइफ विश्वास गर्छ कि हामी सबै मिलेर यस जटिल परिस्थितिलाई बदल्न सक्छौँ र मेटलाइफ फाउन्डेसनले यस कठिन समयमा जनताको पीडा कम गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्दै सार्थक सहयोगसमेत प्रदान गरिरहेकोमा गर्व छ ।’

मेटलाइफ नेपाल सन् २००१ डिसेम्बरदेखि नेपालमा सञ्चालन भइरहेको मेटलाइफ इन्कर्पोरेटको शाखा हो । नेपालमा बिमा इजाजतपत्र पाउने पहिलो कम्पनीमध्येको एक, मेटलाइफ प्रतिस्पर्धी मूल्यमा आकर्षक बिमा सुरक्षा र सुविधाहरू जस्तै, जीवन बिमा, दुर्घटना तथा स्वास्थ्य बिमा तथा कर्मचारी लाभ बिमा प्रदान गर्ने अग्रणी बिमा कम्पनी रहेको जनाइएको छ । 

सुझावित समाचार