कारबाही फिर्ता गर्ने उदार र जिम्मेवार निर्णयले एकतामा सकारात्मक प्रभाव पार्छ : प्रदीप ज्ञवाली

बिहिबार, ३० बैशाख, २०७८
डिजिटल संस्करण

एमाले प्रवक्ता तथा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले वरिष्ठ नेता माधवकुमार नेपालसहित चार नेतामाथिको कारबाही फिर्ता लिने स्थायी समितिको निर्णयले पार्टी एकतामा सकारात्मक प्रभाव पार्ने बताएका छन् । बैठकपछि उनले पार्टी एकता कायम राख्न, उदार भावना र जिम्मेवारीबोधसहित निर्णय गरिएको दाबी गरे ।

‘हाम्रोतर्फबाट एकताका पक्षमा हदैसम्म प्रयास गरेका छौँ । कुनै वेला आफ्नो अध्यक्षलाई दलको नेता, पार्टी अध्यक्ष र साधारण सदस्यसमेत नरहने गरी उहाँहरूका तर्फबाट बर्खास्त गरिएको अवस्था थियो । २७ वैशाखको त्यति महत्वपूर्ण मतदानमा अनुपस्थित भएर सरासर प्रतिपक्षी गठबन्धनलाई टेवा पुर्याउँदा पनि अध्यक्ष उदारतापूर्वक लचिलो भएर र  उदारतापूर्वक जिम्मेवारीबोधका साथ प्रस्तुत भएर निर्णय गरिएको छ,’ ज्ञवालीले भने, ‘यसले सकारात्मक प्रभाव पर्ने हामीलाई विश्वास छ ।’

राष्ट्रपति विद्या भण्डारीले दुई वा दुईभन्दा बढी दललाई बहुमत पुर्याएर प्रधानमन्त्रीमा दाबी प्रस्तुत गर्न दिएको समयसीमा आज राति ९ बजे सकिँदै छ । प्रधानमन्त्री केपी ओलीले पार्टी एकता बचाउन कुनै पहल नलिएको भन्दै वरिष्ठ नेता नेपाल र झलनाथ खनाल समूहका सांसदहरूले सामूहिक राजीनामाको अन्तिम तयारी गरिरहेका वेला संस्थापन पक्षको बैठकले नेपालसहितको नेताहरूमाथिको कारबाही फिर्ता लिने निर्णय गरेको हो । बैठकअघि प्रधानमन्त्री ओलीको सन्देश लिएर उपमहासचिव विष्णु पौडेल नेपालनिवास कोटेश्वर पुगेका थिए । 

बैठकले पार्टीभित्रको परिस्थिति, राष्ट्रिय राजनीतिको परिस्थितिबारे आवश्यक निर्णय गर्ने अधिकार अध्यक्षलाई प्रत्यायोजन गरेको ज्ञवालीले जानकारी दिए । त्यस्तै, बैठकले कोभिडविरुद्धको लडाइँमा सरकारले गरिररहेको कामको समीक्षा गर्दै अक्सिजन र औषधिजन्य सामग्रीलाई अझ प्रभावकारी ढंगले व्यवस्था गर्न सरकारलाई सुझाब दिएको छ । त्यस्तै, पार्टी नेता तथा सांसद पशुपति चौलागाईंको कोभिड– १९ बाट भएको निधनमा शोक व्यक्त गर्दै श्रद्धाञ्जली प्रस्ताव पास गरेको छ ।

सुझावित समाचार