एनएसएलमा ललितपुरको सुखद यात्रा

बिहिबार, ३० बैशाख, २०७८
डिजिटल संस्करण
एनएसएलमा ललितपुरको सुखद यात्रा

बुटवल लुम्बिनी एफसीविरुद्व बल नियन्त्रणमा लिँदै ललितपुरका गोलरक्षक अर्पण कार्की । तस्बिर : ज्ञानेन्द्र कार्की/नयाँ पत्रिका

लिग चरणको सुरुवाती चार खेलमा लगातार जितविहीन ललितपुरले त्यसपछिको सबै खेल जितेर दोस्रो क्वालिफायरसम्मको यात्रा तय गरेको छ, ललितपुरले फाइनल प्रवेशका लागि बिहीबार काठमाडौं रेजर्सको सामना गर्दै छ 

दोस्रो क्वालिफायर
काठमाडौं रेजर्सविरुद्ध ललितपुर सिटी एफसी
स्थानः दशरथ रंगशाला (५:३० बजे)

ललितपुर सिटी एफसी एउटा सुखद यात्रा तय गर्दै नेपाल सुपर लिग (एनएसएल)को दोस्रो क्वालिफायरमा पुगेको छ । बुधबार भएको इलिमिनेटरमा बुटवल लुम्बिनी एफसीलाई १–० गोलअन्तरले पराजित गर्दै ललितपुर उपाधितर्फ अग्रसर भएको हो ।

ललितपुरले अब फाइनल प्रवेशका लागि दोस्रो क्वालिफायर खेलमा बिहीबार काठमाडौं रेजर्ससँग प्रतिस्पर्धा गर्नेछ । ललितपुर र काठमाडौंबीचको विजेता टोलीले शनिबार हुने उपाधि भिडन्तमा धनगढी एफसीको समना गर्नेछ । धनगढी पहिलो क्वालिफायर खेलमा काठमाडौंलाई अतिरिक्त समयमा २–१ गोलले पराजित गर्दै फाइनलमा प्रवेश गरिसकेको छ ।

ललितपुरको क्वालिफायरसम्मको यात्रा फरक रह्यो । प्रतियोगितामा सम्भवत धेरै उतारचढाव ललितपुरले नै व्यहोरेको छ । सुरुवाती लगातार चार खेलमा जितविहीन भएपछि ललितपुर एक समय प्रतियोगिताको लिग चरणबाटै बाहिरिने अवस्थामा देखिएको थियो । त्यससँगै मुख्य प्रशिक्षक प्रदीप हुमागाईले जिम्मेवारी छाडे । 

तर, त्यसपछि ललितपुर मैदानमा फरक ढंगले प्रस्तुत भयो । त्यसपछिको खेलमा निरन्तर जित हात पार्दै ललितपुर प्रतियोगिताको दोस्रो क्वालिफायरसम्म आइपुगेको हो । 

प्रतियोगितामा सम्भवत धेरै उतारचढाव ललितपुरले नै व्यहोरेको छ । सुरुवाती लगातार चार खेलमा जितविहीन भएपछि ललितपुर एक समय प्रतियोगिताको लिग चरणबाटै बाहिरिने अवस्थामा देखिएको थियो ।

बुटवल लुम्बिनीको यात्रा ललितपुरको भन्दा ठीक उल्टो रह्यो । लिग चरणको सुरुवाती खेलमा सशक्त प्रदर्शन गर्दै बुटवल लुम्बिनीले आफूलाई उपाधि दाबेदार टोलीका रूपमा प्रस्तुत गरेको थियो । तर, पछिल्लो खेलमा त्यही प्रदर्शनलाई निरन्तरता दिन नसक्दा बुटवल लुम्बिनी उपाधि होडबाटै बाहिरिएको छ । टोली उपाधि होडबाट बाहिरिए पनि बुटवल लुम्बिनीका प्रशिक्षक सनोज श्रेष्ठले प्रतियोगितामा आफ्नो टोलीको यात्रालाई लिएर खुसी ब्यक्त गरे । ‘प्रतियोगिताको सुरुवातमा राम्रो प्रदर्शन भयो । सबै खेलाडीले उत्तिकै राम्रो प्रदर्शन गरे । सुरुवाती खेलहरूमा नियमित राम्रो नतिजा निस्कियो,’ उनले भने, ‘तर, पछिल्लो खेलमा बराबरी हुँदै पराजयको नतिजा व्यहोर्न पुग्यौँ । सायद प्रतियोगितामा हाम्रो प्रदर्शनमा कन्सिस्टेन्सी भएन ।’

कप्तान अञ्जनको निर्णायक गोल
ललितपुरलाई दोस्रो क्वालिफायरमा पुर्याउन कप्तान अञ्जन विष्टले खेलको ६१औँ मिनेटमा गरेको एक मात्र गोल निर्णायक बन्यो । मिक्चेन तामाङले क्रस गरेको बलमा हेडिङ गोल गर्दै कप्तान अञ्जनले ललितपुरलाई १–० ले अघि बढाएका थिए । 

त्यसपछिको समयमा दुवै टोलीबाट थप गोल नभएपछि अञ्जनको उक्त गोल नै ललितपुरलाई दोस्रो क्वालिफायरसम्म पुर्याउन पर्याप्त बन्यो । मैदानमा ललितपुर र बुटवल लुम्बिनीबीचको खेल प्रतिस्पर्धात्मक देखिएको थियो । यद्यपि, प्राप्त केही राम्रो अवसर सदुपयोग गर्न नसक्दा बुटवल लुम्बिनीको यात्रा इलिमिनेटरमै रोकियो ।

खेलको ४०औँ मिनेटमा विलियम ओपोकु असिदुको सशक्त प्रहारलाई ललितपुरका गोलरक्षक अर्पण कार्कीले रोकेका थिए । उनीबाट फर्किएर आएको उक्त बललाई बुटवल लुम्बिनीका आशिष लामाले कसैको पनि अवरोधविना प्रहार गर्ने अवसर पाएका थिए । तर, उनी बलमा पुग्नुअघि नै लडे । 

त्यसपछि खेलको ७४औँ मिनेटमा कर्नरमार्फत आएको बललाई मानबहादुर परियारले खाली पोस्टमा प्रहार गर्न सकेनन् । ललितपुरका गोलरक्षक अर्पणसमेत बिट भइसकेको अवस्थामा सिक्स यार्ड बक्सनजिक प्राप्त उक्त बललाई प्रहार गर्नुअघि नै उनले हातले छोइदिए । त्यसपछि खेलको ७९औँ मिनेटमा गोलरक्षक अर्पणले फर्काइदिएको बललाई डी बक्सबाहिरबाट बुटवलका ओमोलाजा नुरेइन करिमको प्रहार साइड बारमा लागेर फर्कियो । 

ललितपुरले पनि केही राम्रा अवसर चुकाएको थियो । खेलको २५औँ मिनेटमा द्रोण थापाको छोटो पासमा डी बक्सभित्रबाट नुर्लान नोभ्रोजोभ जइदले गरेको सशक्त प्रहारलाई बुटवलका गोलरक्षक विशाल श्रेष्ठले पन्च गर्दै फर्काइदिएका थिए । सोही बललाई नियन्त्रणमा लिएर अञ्जनले गरेको प्रहार क्रसबारभन्दा केही टाढाबाट बाहिरियो ।

बुटवल लुम्बिनीका प्रशिक्षक सनोजले प्राप्त अवसर सदुपयोग गर्न नसक्दा पराजित हुनुपरेको प्रतिक्रिया दिए । ‘विशेष गरी आजको खेलमा हामीले प्राप्त अवसर सदुपयोग गर्न सकेनौँ । आशिष लामा सिक्स यार्ड बक्समा खाली बल पाउँदा चिप्लिन पुगे । करिमको प्रहार साइड बारमा लागेर फर्कियो । त्यसमाथि विपक्षी खेलाडीलाई नियमित मार्किङ गर्न नसक्दा गोल खान पुग्यौँ,’ उनले भने, ‘हाम्रो पराजयको कारण यही बन्यो ।’

मुख्य प्रशिक्षकको राजीनामापछि जिम्मेवारी सम्हालेका सबै खेलमा टोलीलाई विजयी बनाउँदै क्वालिफायरसम्म पुर्याएका ललितपुरका प्रशिक्षक राजु तामाङले खुसी व्यक्त गरे । ‘खेलको सुरुवातमा हामीलाई केही मुस्किल भयो । आजको खेलमा हाम्रा रक्षक निरज बस्नेतले खेल्न पाएनन् । उनको अभाव खट्किएको देखियो,’ उनले भने, ‘तर, जब गोल सम्भव भयो, त्यसपछि हामीलाई जित सहज देखियो ।’

प्रशिक्षक तामाङले यही प्रदर्शनलाई कायम राख्दै टोली उपाधिसम्म पुग्ने बताए । यद्यपि, २४ घन्टाभन्दा पनि कम समयमा क्वालिफायरजस्तो महत्वपूर्ण खेल खेल्नुपर्दा आफू केही दबाबमा हुने उनले सुनाए । ‘हामी भोलि नै क्वालिफायर खेलमा प्रतिस्पर्धा गर्नुपर्नेछ । त्यसले हामी दबाबमा हुनेछौँ,’ उनले भने, ‘यद्यपि, हामी यही प्रदर्शनलाई कायम राख्दै अघि बढ्न चाहन्छौँ ।’

See More On

सुझावित समाचार