गण्डकी प्रदेश सभा सदस्य थापालाई जनमोर्चाको कारबाही, संसदीय दलको नेताबाट हटाइयो

बुधबार, २९ बैशाख, २०७८
डिजिटल संस्करण

राष्ट्रिय जनमोर्चाले गण्डकी प्रदेश सभामा आफ्नो संसदीय दलका नेता कृष्ण थापालाई संसदीय दलको नेताबाट हटाएको छ । जनमोर्चाका महासचिव मनोज भट्टले  थापालाई संसदीय दलको नेताबाट हटाइएको जानकारी दिए । थापाले पार्टीको निर्देशन नमानेकाले कारबाही गरिएको र यस विषयमा संसद् सचिवालयलाई जानकारी दिएको उनले जानकारी दिएका हुन् ।
 सांसद कृष्ण थापालाई संसदीय दलको नेताबाट कारबाही गरिएपनि सांसद पदबाट भने निलम्बन गरिएको छैन । पार्टीका आफ्नै प्रक्रिया हुने भन्दै यसपछि के कारबाही हुन्छ भन्ने कुरा अहिले नै बताउन नमिल्ने उनले बताए ।

प्रदेश सभामा तीन सदस्य रहेको राजमोका पियारी थापा र खिमविक्रम शाहीले विपक्षी कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी गठबन्धनले मुख्यमन्त्रीको रूपमा अगाडि सारिएका कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलको पक्षमा हस्ताक्षर गरिसकेका छन् ।

 सांसद कृष्ण थापाले भने उनको पक्षमा हस्ताक्षर गर्न इन्कार गरेसँगै बिहान स्पष्टीकरण सोधेको राजमोले दिउँसो संसदीय दलको नेताबाट हटाएको हो । 

राजमोले थप कारबाहीको बारेमा नबताए पनि कृष्ण थापालाई निलम्बनको प्रक्रिया अगाडि बढाएको र
संसद् सदस्यबाट नै हटाउने आफूहरूलाई आश्वासन दिएको गठबन्धन दलका एक नेताले नयाँ पत्रिकालाई बताएका छन् । त्यसो गर्दा ६० सदस्यीय गण्डकी प्रदेश सभामा ५९ सांसद हुने र ३० सांसदको साथ पाउँदा  विपक्षी गठबन्धनलाई बहुमत पुग्ने ती नेताको दाबी छ । 

सुझावित समाचार