सानोमा भारतको कास्मिर उपत्यकामा हुँदा मलाई मेरा चिकित्सक पिताले खोप लगाउन लैजानुहुन्थ्यो । म उहाँलाई खोपले कसरी काम गर्छ, ती कहाँ बन्छन् भनी सोध्थेँ । मानव रोगप्रतिरोध प्रणालीबारे बताउँदै मेरा पिता विश्वभरका वैज्ञानिक तथा औषधि कम्पनीहरूको सचेत एवं विश्वव्यापी प्रयासको परिणाम खोप भएको बताउनुहुन्थ्यो ।
अहिले भारतमा जारी कोभिड–१९ को संकट टार्न विश्वव्यापी पहलकदमीले मात्रै सक्छ । यहाँ पछिल्लो समय दैनिक संक्रमितको संख्याले विश्व कीर्तिमान राख्दै चार लाख नाघेको छ, दुई लाख ४५ हजारभन्दा धेरैको मृत्यु भइसकेको छ । वासिङ्टन विश्वविद्यालयस्थित इन्स्टिच्युट फर हेल्थ मेट्रिक्स एन्ड इभ्यालुएसनको महामारी विज्ञानको मोडेलले भारतमा संक्रमणको दर अबका केही दिन निरन्तर बढिरहने, मेको मध्यमा शिखरमा पुग्ने र भारतमा कोभिड–१९ बाट अन्तिमसम्ममा मृत्यु हुनेको संख्या १० लाख नाघ्न सक्ने प्रक्षेपण गरेको छ । भारतको यो भयावह परिणामको दुस्प्रभाव यो मुलुकभित्र मात्रै सीमित होला भनी विश्वले सोच्नु चरम लापरवाहीको नमुना हो ।
भारतमा कोरोना भाइरस जति फैलिन्छ, त्यो उत्तिकै मात्रामा उत्परिवर्तित पनि हुँदै जान्छ । भाइरसको अनियन्त्रित प्रसारले नयाँ–नयाँ भेरियन्टको उदयतर्फ लैजान्छ, त्यसले यो महामारीलाई तन्काउँदै लाने खतरा छ । अहिले भारतमा नरसंहार मच्चाइरहेको भाइरसको बि.१.६१७ भेरियन्ट अमेरिकालगायतका १९ मुलुकमा फैलिसकेको छ । पछिल्ला रिपोर्टहरूले समेत यो भेरियन्टले खोप लगाएका वा संक्रमित भएर एन्टिबडी विकास भएकाहरूलाई पनि संक्रमित गराउन सक्ने देखाएको छ । यसले स्वास्थ्य प्रणालीमा थप दबाब बढाउने देखिन्छ । अहिले हामीलाई कोभिड–१९ विरुद्ध अनुमति प्राप्त गरेका खोपहरूले यो बि.१.६१७ भेरियन्टविरुद्ध प्रतिरक्षा दिन्छ भन्ने यकिन जानकारी पनि छैन ।
अघिल्लो वर्ष संक्रमण उच्च बनेको बखत पाँच दिनमै अस्पताल खडा गरेको चीनले क्षमता कसरी बढाउने सल्लाह दिन सक्छ । नाइजेरिया र अमेरिकाले अस्पतालहरूको भार घटाउन ठूला खेल संरचनालाई कोभिड–१९ का बिरामी राख्ने आइसोलेसन एकाइमा बदल्न प्राविधिक सहयोग उपलब्ध गराउन सक्छन् ।
यसले विश्वव्यापी खोप अभियानको प्रभावकारितालाई खतरामा पार्न सक्छ । चिन्ताजनक रूपमा देखा परेको यो भेरियन्टले भारतका छिमेकी मुलुकहरू विशेषगरी पाकिस्तान तथा बंगलादेशलगायतका न्यून आयमूलक देशहरूको कमजोर स्वास्थ्य प्रणालीलाई थप तहसनहस पार्ने खतरा छ । ती मुलुकमा जनघनत्व पनि निकै छ, भेन्टिलेटर र सघन उपचार कक्षहरू पर्याप्त मात्रामा छैनन् भने कोभिड–१९ खोपको दर पनि ५ प्रतिशतभन्दा कम छ । अफ्रिका तथा दक्षिण अमेरिकाका गरिब मुलुकहरूमा स्वास्थ्य हेरचाहको क्षमता पनि निकै कमजोर र सीमित छ । साथै, ती देशहरू ब्राजिल भेरियन्टको प्रसारबाट भर्खर तंग्रिन खोज्दै गरेका छन् । बि.१.६१७ भेरियन्टले मध्यम खालको स्वास्थ्य प्रणाली भएको भारतजस्तो मुलुकमा त यति धेरै खति गर्न सक्छ भने कमजोर स्वास्थ्य प्रणाली भएका मुलुकहरूमा त यसको प्रसारले विनाशलीला नै मच्चाउन सक्ने देखिन्छ ।
यो नयाँ भाइरसले भारतको यात्रा एकाएक उलटफेर गराएको छ । भारतले विश्वभर खपत हुने खोपको ६० प्रतिशतभन्दा धेरै हिस्सा आपूर्ति गर्छ । भारतले धेरै मुलुकका लागि कोभिड–१९ विरुद्धका खोपहरू उत्पादनमा पनि अगुवाइ गर्ने ठानिएको थियो, तर यो नयाँ भेरियन्टले भारतको स्वास्थ्य प्रणालीलाई नै अस्तव्यस्त बनाएर त्यो अपेक्षामा तुसारापात गरिदिएको छ । यस्तोमा भारतलाई खोप उत्पादन क्षमता बढाउन कति समय लाग्ला, स्पष्ट छैन । भारतमै अहिले कोभिड–१९ का खोपहरूको चरम अभाव छ । भारतको सेरम इन्स्टिच्युट, जुन विश्वकै ठूलो खोप उत्पादक पनि हो, ऊ केही समय उत्पादन क्षमता बढाउन असमर्थ छ ।
अर्थशास्त्रीहरू पहिलेबाटै कमजोर आर्थिक अवस्था भएका मुलुकहरूले सन् २०२३ सम्म पनि पर्याप्त मात्रामा कोभिड–१९ विरुद्धको खोप नपाउने प्रक्षेपण गरिरहेका थिए । अहिले भारतमा देखिएको संकटले महामारीपश्चात्को विश्वव्यापी पुनरुत्थानलाई समेत थप अवरोध गर्ने देखिएको छ । यो कठिन घडीमा अन्तर्राष्ट्रिय समुदायले भारतलाई सहयोग गर्न हात अघि बढाउनुपर्छ र सामूहिक पहलको विधिसमेत विकास गर्नैपर्छ । यो उनीहरूको नैतिक दायित्व पनि हो । अन्य मुलुकका नागरिकको जीवन र अर्थतन्त्र दुवै दाउमा लागेको अवस्था छ । विश्वका सरकारहरूले कोभिडको असर कम गर्न थुप्रै कदम उठाउन सक्छन् ।
पहिलो त अमेरिका, जसले आफ्ना ६ लाख नागरिकको जीवन यो संकटमाझ गुमाएको छ, उसले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्छ । हुन त राष्ट्रपति जो बाइडेनले ६ करोड अस्ट्राजेनेका खोप दिने वाचा गरिसकेका छन् । तर, ती खोप हस्तान्तरण हुन दुई महिना लाग्न सक्छ । यो प्रक्रियालाई दु्रत बनाउन आवश्यक छ । अमेरिकाले भारतमा कोरोनाका खोपहरूको उत्पादन क्षमता बढाउन आवश्यक कच्चा पदार्थको साझेदारी प्रयासको पनि अगुवाइ गर्नुपर्छ ।
दोस्रो, अन्तर्राष्ट्रिय समुदायले कोभिड–१९ को उपचारसँग सम्बन्धित खोपलगायतबाट बौद्धिक सम्पत्ति अधिकार हटाउने अमेरिकाको प्रयासमा सहयोग गर्नुपर्छ । भारत र दक्षिण अमेरिकाले विश्व व्यापार संगठनमा यो माग धेरै अघिदेखि नै गरिरहेका हुन् । अहिले पनि दुई प्रतिशत भारतीयले समेत खोपको दुवै मात्रा लगाउन पाएका छैनन् । यस्तोमा बौद्धिक सम्पत्ति अधिकार हटाउनुको अपरिहार्यतालाई नजरअन्दाज गरिनु हुँदैन ।
भारतको स्वास्थ्य प्रणालीको क्षमता वृद्धि गर्न देशहरूले विश्व स्वास्थ्य संगठनसँग समन्वय गर्नुपर्छ । अघिल्लो वर्ष संक्रमण उच्च बनेको बखत पाँच दिनमै अस्पताल खडा गरेको चीनले क्षमता कसरी वढाउने सल्लाह दिन सक्छ । नाइजेरिया र अमेरिकाले अस्पतालहरूको भार घटाउन ठूला खेल संरचनाहरूलाई कोभिड–१९ का बिरामी राख्ने आइसोलेसन एकाइमा बदल्न प्राविधिक सहयोग उपलब्ध गराउन सक्छन् । महामारीबाट आंशिक रूपमा तंग्रिएका मुलुकहरूले आफ्ना भेन्टिलेटर र अक्सिजन कन्सन्ट्रेटरहरू साझेदारी गरेर सहयोग गर्न सक्छन् । साथै, अन्तर्राष्ट्रिय पेसागत चिकित्सा संगठनहरूले आफ्ना स्रोतहरू साझेदार गरेर र अक्सिजन, पिपिईलगायतका अत्यावश्यक वस्तुहरूको आपूर्ति सहज गराउने प्रोटोकलहरू विकास गरेर सहयोग गर्न सक्छन् ।
केही मुलुक कोभिड–१९ को जारी संकटबाट तंग्रिन सुरु गरेका छन् । तर, ती मुलुकका नीतिनिर्माताहरूले सबै मुलुक सुरक्षित नभएसम्म कुनै पनि मुलुक सुरक्षित रहन सक्दैन भन्ने महामारीले सिकाएको महत्वपूर्ण पाठलाई भने बिर्सनुहुन्न । भारतको संकटले जनस्वास्थ्यको विश्वव्यापी प्रकृतिलाई उजागर पनि गरिदिएको छ । साथै, पुनः एकपटक अन्तर्राष्ट्रिय सहकार्यको फाइदा प्रदर्शन गर्ने अवसर पनि प्रदान गरेको छ ।
(नबी विश्व स्वास्थ्य संगठनको ‘वर्किङ ग्रुप अन रेगुलेटरी कन्सिडरेसन्स फर डिजिटल हेल्थ एन्ड इनोभेसन’मा संलग्न छन्)
© Project Syndicate 2021
नयाँ पत्रिका र प्रोजेक्ट सिन्डिकेटको सहकार्य