कोरोना संक्रमित राख्न कचनकवल गाउँपालिकामा १६ बेडको आइसोलेसन बनाइएको छ । तर, त्यहाँ न विशेषज्ञ डाक्टर छन् न त अक्सिजन सिलिन्डर नै छ । जिल्ला कोभिड– १९ संकट व्यवस्थापन केन्द्रले सबै स्थानीय तहमा एक सय बेडको क्वारेन्टिन र ५० बेडको अक्सिजनसहितको आइसोलेसन बनाउने निर्णय गरेको छ ।
तर, कचनकवल गाउँपालिकामा केन्द्रको यो निर्णय पालना गर्ने क्षमता छैन । ‘१६ बेडको आइसोलेसन त बनाएका छौँ । तर, त्यहाँ न विशेषज्ञ डाक्टर छन् न त अक्सिजन नै छ,’ गाउँपालिका अध्यक्ष अञ्जारा आलम भन्छन्, ‘अक्सिजन सिलिन्डर किन्छु भन्दा पनि पाइँदैन । हामीले गर्न खोज्दाखोज्दै पनि सकिरहेकै छैनौँ ।’
आलमका अनुसार कोरोनाको नयाँ भेरियन्टसँग जुध्न न प्रदेश सरकारले नै सहयोग गरेको छ न त केन्द्रले नै । ‘अवस्था भयावह हुँदै छ । गत वर्षको बजेट नै घाटामा छ । प्रदेश र केन्द्रले केही सहयोग गरेको छैन । हामीले मात्र कसरी धान्ने ? गर्छु भन्दाभन्दै पनि नसक्ने अवस्था आयो,’ उनी भन्छन्, ‘अब नसकिने भयो भनेर हात उठाउने वेला आउँदै छ । हामीले बेड राखेर आइसोलेसन बनाउने भनेका छौँ । यहाँ राख्न सकिँदैन । हाम्रो गाउँपालिकामा भएका संक्रमितलाई राख्न पठाउँदा जिल्लाले पनि राखिदिएन ।’
कमल गाउँपालिकाको पनि अवस्था उस्तै छ । कमल गाउँपालिकामा पाँच बेडको अक्सिजनसहितको कोभिड अस्पताल छ । तर, विशेषज्ञ चिकित्सक नहुँदा लक्षण देखिएका संक्रमित राख्ने अवस्था नरहेको गाउँपालिका अध्यक्ष मेनुका काफ्ले बताउँछिन् । ‘हामीले आइसोलेसनमा हाम्रो स्वास्थ्य शाखाको सबै जनशक्ति खटाएका छौँ । स्वास्थ्य शाखाको काम पनि त्यहीँबाट भइरहेको छ,’ उनी भन्छिन्, ‘तर, एमबिबिएस डाक्टर छैनन् । लक्षण देखिएकालाई दमकको कोभिड अस्पतालमा पठाउँदै आएका छौँ । त्यहाँ पनि मान्छे भरिए । प्रदेशबाट डाक्टर मगाएका छौँ । चाँडै पठाउला ।’
कोरोना महामारीविरुद्ध लडिरहेका स्थानीय तहले केन्द्र सरकारले सहयोग नगरेको गुनासो गरेका छन् । जसका कारण महामारीसँग जुध्न मुस्किल भएको स्थानीय तहको भनाइ छ । ‘संघीय सरकारले कोभिड भनेर पैसा छुट्याएको छ । तर, हामीकहाँ आइपुगेको छैन ।
कोभिड व्यवस्थापनमा प्रदेश र केन्द्रको योगदान शून्य छ । अक्सिजन ग्यास सिलिन्डर लुकाएर राखेको छ । किन्न पनि पाइँदैन । सरकारले अक्सिजन व्यवस्थापन गर्न सक्दैन । यहाँभन्दा निकम्मा सरकार संसारमा कहीँ छ ?’ बुद्धशान्ति गाउँपालिका अध्यक्ष रमेश भुजेल भन्छन्, ‘बजेट सकिने वेलामा महामारी आयो । हामीले गर्न बाँकी भएका योजनाबाट खर्च काटेर काम गरिरहेका छौँ । धान्न मुस्किल छ । तर, पछि केन्द्रकै कोभिड खर्च धेरै देखिन्छ । हामीकहाँचाहिँ केही आउँदैन ।’
सकुञ्जेल कोभिड व्यवस्थापनको काम गर्ने तयारीमा छ, झापा गाउँपालिका । तर, अहिलेबाट नै बजेट व्यवस्थापनमा समस्या देखिएको गाउँपालिका अध्यक्ष जयनारायण साह बताउँछन् । ‘कोरोना महामारी रोकथाममा ठूलो चुनौती छ । कहीँकतैबाट सहयोग छैन । हामीसँग बजेट पनि छैन,’ उनी भन्छन्, ‘सकिञ्जेल गर्नेछौँ । तर, चाँडै सकिएन है भनेर हात उठाउने वेला आउनै लाग्यो ।’
भद्रपुरमा मेची प्रादेशिक अस्पताल छ । त्यहाँ २५ बेड अक्सिजनसहितको व्यवस्था छ । तर, सबै बेड भरिएका छन् । त्यहाँ लैजाँदा कोरोना संक्रमित फर्काउनुपर्ने बाध्यता रहेको भद्रपुर नगरपालिकाका प्रमुख जीवन श्रेष्ठ बताउँछन् । ‘हाम्रो नगरपालिकामा एमबिबिएस डाक्टर छैनन् । जसका कारण आइसोलेसन व्यवस्थापनमा पनि समस्या छ । मेची अस्पतालमा लैजाँदा ठाउँ नभएको भन्दै फर्काउँछन् । त्यहाँ राख्न ढुक्नुपर्छ,’ उनी भन्छन्, ‘मेची अस्पताल अत्यन्तै अव्यवस्थित छ । बिरामीलाई एकदम बेवास्था गरिन्छ । यहाँको प्रविधि र जनशक्तिले धान्दैन । संघीय सरकारबाट विज्ञको टोली आएर यो अस्पतालमा कसरी आइसोलेसन चलाउने भनेर सिकाउन आवश्यक छ । नभएर अवस्था भयावह हुन्छ ।’