कारोबार रकम भने घटेर ४ अर्बको हाराहारी मात्र
साताको पहिलो दिन आइतबारको बजार करेक्सनपछि नेप्से दोहोरो अंकले बढेको छ । अघिल्लो साता पनि सेयर बजार करेक्सनकै चरणमा थियो । करेक्सनलाई पार गर्दै सोमबार नेप्से परिसूचक २७ दशमलव ४१ अंकले बढेर २ हजार ६ सय ४५ बिन्दुमा पुगेको हो ।
त्यस्तै, ‘क’ वर्गको कम्पनीमापक सेन्सेटिभ इन्डेक्स ४ दशमलव ३५ अंकले बढेर ४ सय ७५ बिन्दुमा पुगेको छ । नेप्से सूचक बढेको भए पनि कारोबार रकम भने घट्न पुगेको छ । बढेको बजारमा लगानीकर्ताले नाफा बुक गर्दा कारोबार रकम घट्न पुगेको लगानीकर्ता बताउँछन् । पुँजी बजार संघकी अध्यक्ष तथा लगानीकर्ता राधा पोखरेल बढेको सेयरमा लगानीकर्ताले नाफा बुक गर्नु सामान्य भए पनि केही ठूला लगानीकर्ताले यस्तो वेलामा बढी नै नाफा बुकमा राख्दा कारोबार रकम घट्न पुग्ने उनको विश्लेषण छ ।
धितोपत्र र ऋणपत्र गरी कारोबारमा आएका २ सय १८ कम्पनीको ७५ लाख ७९ हजार कित्ता सेयर किनबेच हुँदा ४ अर्ब २० करोड ३८ लाख रुपैयाँको मात्र कारोबार हुन पुगेको छ । सबैभन्दा धेरै कारोबार हुनेमा नेपाल रिइन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनीको २७ करोड ४ लाख रुपैयाँको कारोबार भएको छ । दोस्रो कारोबार हुने कम्पनीमा अपर तामाकोसी हाइड्रोपावरको १९ करोड ७० लाख रुपैयाँको कारोबार भएको छ । त्यस्तै, हाइड्रो इलेक्ट्रिसिटी इन्भेस्टमेन्ट डेभलपमेन्ट कम्पनीको १८ करोड ७ लाख रुपैयाँको कारोबार भएको छ । यस दिन कारोबारमा आएका सबै समूहको सूचक सकारात्मक रहेको छ । अन्य समूह, निर्जीवन बिमा समूह, लगानीगत समूहको सूचक सबैभन्दा उच्चदरले बढेको छ ।
तीन कम्पनीको सर्किट मूल्यमा कारोबार
सोमबार तीनवटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेर कारोबार भएको छ । राष्ट्रिय बिमा कम्पनीको १० प्रतिशतले सर्किट मूल्यमा कारोबार भएको छ भने समता घरेलु लघुवित्त वित्तीय संस्था र रुरु जलविद्युत् परियोजनाको करिब १० प्रतिशतले सर्किट मूल्यमा कारोबार भएको हो ।
यस दिन राष्ट्रिय बिमा कम्पनीका लगानीकर्ताले उच्च नाफा कमाएका छन् । कम्पनीको प्रतिसेयर मूल्य १९ हजार २ सय ५० रुपैयाँ पुगेको छ भने मर्जरपछि कारोबारमा आएको समता लघुवित्त वित्तीय संस्थाको प्रतिसेयर मूल्य ८ सय ८४ रुपैयाँ पुगेको छ । त्यस्तै, रुरु जलविद्युत् परियोजनाको प्रतिसेयर मूल्य ६ सय २ रुपैयाँ पुगेको छ । यस दिन गुहेश्वरी मर्चेन्ट एन्ड फाइनान्स, लिबर्टी इनर्जीका लगानीकर्ताले उच्च नाफा कमाएका छन् ।
विशाल बजार कम्पनी, जोशी हाइड्रोपावर डेभलपमेन्ट, छ्याङ्दी हाइड्रोपावर कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । विशाल बजार कम्पनीको नकारात्मक सर्किट लाग्न पुगेको छ भने जोशी र छ्याङ्दीका लगानीकर्ताले ४ प्रतिशतले गुमाएका छन् ।