समुदायस्तरमा कोरोना परीक्षणको दायरा बढाउन उपत्यकाका मेयरहरूको माग

आइतबार, २६ बैशाख, २०७८
डिजिटल संस्करण
समुदायस्तरमा कोरोना परीक्षणको दायरा बढाउन उपत्यकाका मेयरहरूको माग

फाइल तस्बिर

काठमाडौं उपत्यकाका मेयरहरूले कोरोना महामारी रोकथाम र नियन्त्रणका लागि परीक्षणको दायरा बढाउन सरकारसँग माग गरेका छन् । निषेधाज्ञा अवधिमा पनि कोरोना भाइरसको संक्रमण तीव्र रूपमा फैलिरहेको भन्दै उपत्यका नगरपालिका फोरमले परीक्षणको दायरा बढाउन माग गरेको हो । 

फोरमले निषेधाज्ञालाई कडाइका साथ पालना गर्ने र गराउने निर्णय पनि गरेको छ । ‘सरकारले जारी गरेको निषेधाज्ञामा पनि संक्रमण बढिरहेको छ, त्यसैले यसको रोकथाम र नियन्त्रणका लागि सबै नगरवासीलाई निषेधाज्ञाको पालना गर्न आग्रह गरेका छौँ,’ फोरमका सचिव एवं मध्यपुरथिमि नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठले भने । 

बैठकले संक्रमितको उपचारमा अक्सिजन अभाव देखिएकाले तत्काल सहज आपूर्तिका लागि व्यवस्थापन गर्न सरकारलाई अनुरोध गरेको छ । 

हाल काठमाडौं उपत्यकामा मात्रै सक्रिय संक्रमितको संख्या ३५ हजार नाघेको छ । जसमध्ये काठमाडौंमा २६ हजार चार सय २६, भक्तपुरमा तीन हजार पाँच सय ४० र ललितपुरमा पाँच हजार सात सय १२ जना सक्रिय संक्रमित रहेका छन् ।
 

सुझावित समाचार