कोरोना कहर : युवा संघका स्वयंसेवक देशभर परिचालन

बिहिबार, २३ बैशाख, २०७८
डिजिटल संस्करण

कोरोना महामारीबाट पीडितको उद्धारका लागि युवा संघ नेपालले देशभर स्वयंसेवक परिचालन गरेको छ । कोरोना संक्रमण र मृत्युदर बढिरहेको र अधिकांश जिल्लामा निषेधाज्ञा जारी भएको अवस्थामा युवा संघले स्वयंसेवक परिचालन गरेको हो । 

संघका उपमहासचिव एवं प्रवक्ता सञ्जिप राईका अनुसार देशभर हजारौँ स्वयंसेवक परिचालन गरेर सहयोग गर्ने काम भइरहेको छ । उनले भने, ‘जिल्ला–जिल्लामा युवा स्वयंसेवकले पीडितको उद्धार तथा व्यवस्थापन कसरी हुन्छ भन्ने विषयमा समन्वय गरेर काम गरिरहनुभएको छ ।’ 

निषेधाज्ञाका कारण समस्यामा परेकालाई सहयोग गर्नुका साथै मृतकको शव व्यवस्थापनमा समेत स्वयंसेवकको सहयोगमा सहज भएको राईले बताए । 

स्वयंसेवक उद्धार, उपचारमा सहयोग र शव व्यवस्थापनको लागि खटिँदै आएको र आउने दिनमा समेत निरन्तर लाग्ने संघका महासचिव दीपक जिएमले बताए ।

सबैभन्दा बढी प्रभावित बाँकेमा गत १५ वैशाखदेखि स्वयंसेवकले शव व्यवस्थापनमा सहयोग गरिरहेको युवा संघ बाँकेका सचिव सुनिल रसाइलीले बताए । 

युवा संघ विराटनगर महानगर कमिटीले बिहीबार विराटनगरमा रक्तदान कार्यक्रम गरी ५३ पिन्ट रगत दान गरेको छ । रक्त सञ्चार केन्द्रमा समेत रगतको चरम अभाव भइरहेको समयमा युवा संघले रेडक्रसको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम गरेको हो । 

संकलित रगत नेपाल रेडक्रस सोसाइटीको रक्त सञ्चार केन्द्र विराटनगरलाई उपलब्ध गराएको युवा संंघ नेपाल महानगर कमिटीका अध्यक्ष सुरेन शाक्यले बताए । 

कोभिड– १९ को समस्या, समन्वय र सहयोगका सम्बन्धमा संघका तर्फबाट आवश्यक समन्वय एवं संयोजन गर्न संघका उपाध्यक्ष नितेश पौडेलको संयोजकत्वमा कोभिड– १९ केन्द्रीय सहयोग समन्वय समिति गठन गरिएको छ ।
 

सुझावित समाचार