कुशल भुर्तेल आइसिसीको प्लेअर अफ दि मन्थ अवार्डमा मनोनीत

बुधबार, २२ बैशाख, २०७८
डिजिटल संस्करण

नेपाली राष्ट्रिय टी–२० पुरुष टोलीका ओपनिङ ब्याट्सम्यान कुशल भुर्तेल अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)को प्ले अफ दी मन्थ अवार्डमा मनोनीत भएका छन् । पाकिस्तानका दुई ब्याट्सम्यान बाबर आजम र फखर जमानसँगै कुशल पनि अप्रिल महिनाको प्लेयर अफ दी मन्थ अवार्डमा मनोनीत भएका हुन् ।

आइसिसीले तीन खेलाडीको नाम बुधबार आफ्नो वेबसाइटमा भोटिङका लागि सार्वजनिक गरेको छ । कुशलले यसै महिना त्रिवि क्रिकेट मैदानमा नेदरल्यान्ड्स, नेपाल र मलेसिया सम्मेलित त्रिकोणात्मक टी–२० सिरिजमा डेब्युको अवसर पाएका थिए । सो त्रिकोणात्मक सिरिज ४ देखि ११ वैशाखसम्म भएको थियो । डेब्यु खेलमा उनले सनसनी मात्र मच्चाएनन्, विश्व कीर्तिमानी प्रदर्शनसमेत गरे । प्रतियोगिताको म्यान अफ दी सिरिज घोषित कुशलले पाँच खेलमा चार अर्धसतकसहित सर्वाधिक दुई सय ७८ रनको योगदान दिएका थिए । 

कुशलकै उत्कृष्ट प्रदर्शनकै मद्दतमा नेपालले सन् २०१० पछि घरेलु मैदानमा क्रिकेट उपाधि जितेको थियो । ११ वर्षअघि कप्तान विनोद दासको नेतृत्वमा नेपालले आइसिसी डिभिजन ५ को उपाधि हात पारेको थियो । नेपालले घरेलु मैदानमा टी–२० सिरिजमाथि कब्जा जमाएको यो पहिलोपटक हो । नेपालका लागि मुख्य प्रशिक्षक बनेका श्रीलंकाली डेभिड वाटमोरले नेदरल्यान्ड्सविरुद्धको पहिलो खेलमै कुशल र आसिफ सेखलाई ओपनिङ जोडीका रूपमा उतारेका थिए । 

टी–२० डेब्युमै विश्व कीर्तिमान 
सिरिजको पहिलो खेल नेदरल्यान्ड्सविरुद्ध (१७ अप्रिल) कुशल र आसिफले पहिलो विकेटका लागि एक सय १६ रनको साझेदारी गरे । यस खेलमा नेपाल नौ विकेटले विजयी भयो । कुशलले केवल ४६ बलमा समान पाँच छक्का र चौका प्रहार गरी ६२ रन जोडे । कुशलले ३० बलमा आफ्नो डेब्यू टी–२० अन्तर्राष्ट्रिय खेलमै अर्धसतकीय इनिङ्स खेल्दै सनसनी मचाउन सफल भए । नेदरल्यान्ड्सविरुद्ध जमेको ओपनिङ जोडीले मलेसियाविरुद्धको खेलमा पनि निरन्तरता पायो । 
१९ अप्रिलमा मलेसियाले १६.५ ओभरमा सवै विकेट गुमाएर एक सय ९ रन बनाएको थियो । प्रत्युत्तरमा कुशल र आसिफले पहिलो विकेटका लागि पुनः एकपटक उत्कृष्ट ब्याटिङ गरी एक सय दुई रनको साझेदारी गरे । यस खेलमा कुशल मलेसियाविरुद्ध नै ४१ बलमा पाँच छक्का र तीन चौका प्रहार गरी ६१ रन बनाए । यो खेलमा कुशलले २६ बलमै अर्धशतक बनाए ।

२० अप्रिलमा नेपालले नेदरल्यान्ड्सविरुद्ध खेल्दा कुशलले ४६ बलमा एक छक्का र आठ चौका प्रहार गरी ६२ रनको योगदान दिए । यो खेलमा नेपाल नेदरल्यान्ड्ससँग तीन विकेटले पराजित भएको थियो । डेब्यु सिरिजमै तीन अर्धशतक प्रहार गर्दै विश्वकीर्तिमान बनाएका कुशल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मिडियामा एकैपटक छाए । २२ अप्रिलमा मलेसियाविरुद्धको खेलमा कुशलले केवल १६ रन मात्र बनाएका थिए । 

२४ अप्रिलको फाइनल खेलमा कुशल पुनः एकपटक चम्कदा नेदरल्यान्ड्सको केही सीप लागेन । उपाधि भिडन्तमा कुशलले ५३ बलमा तीन छक्का र आठ चौकाको सहयोगमा ७७ रनको अर्को म्याच विनिङ इनिङ्स खेले । फाइनलमा उनले ४३ बलमै अर्धशतक जमाए । डेब्यु टी–२० अन्तर्राष्ट्रिय सिरिजमा चार अर्धशतक प्रहार गर्ने कुशल एक मात्र खेलाडी बनेका छन् । यस खेलमै नेपालले टी–२० खेलमा उच्चतम योगफल २३८÷३ बनाएको थियो । डेब्यु सिरिजमै स्मरणीय बनाएका कुशलले १ सय ९८ बलको सामना गरी १४०.४० को स्ट्राइक रेट राखे । उनले सिरिजभरि नै २४ चौका र १६ छक्का प्रहार गरेका थिए । 
यसै त्रिकोणात्मक सिरिजकै प्रदर्शनकै आधारमा कुशल पहिलोपटक आइसिसीको टी–२० को ब्याटिङ वरीयतामा समावेश भए । पहिलोपटक समावेश हुँदा उनी ९३औँ स्थानमा रहे । पछिल्लो अपडेटअनुसार कुशल आइसिसी टी–२० को ब्याटिङ वरीयतामा ६१औँ स्थानामा उक्लेका छन् । 

कुशलका प्रत्यासी यस्ता छन्
२४ वर्षीय कुशलका पाकिस्तानी दुई प्रतिद्वन्द्वी बाबर र फखरले दक्षिण अफ्रिकाविरुद्ध एकदिवसीय सिरिजमा उत्कृष्ट प्रदर्शन गरेका थिए । एकदिवसीय सिरिजमा बाबरले दुई सय २८ रन बनाएका थिए । यस प्रदर्शनको आधारमा बाबरले आइसिसी एकदिवसीय ब्याटिङ वरीयतामा भारतका विराट कोहलीलाई पछि पार्दै शीर्ष स्थानमाथि कब्जा जमाएका छन् । फखरले दक्षिण अफ्रिकाविरुद्ध एकदिवसीय सिरिजमा तीन सय दुई रन बनाएका थिए ।

पाकिस्तानका कप्तान बाबरले दक्षिण अफ्रिकासँग एकदिवसीय र टी–२० सिरिज जिताउन उत्कृष्ट प्रदर्शन गरेका थिए । दक्षिण अफ्रिकासँग पहिलो एक दिवसीय खेलमा पाकिस्तानले तीन विकेटको जित निकाल्दा बाबरले १ सय ३ रनको शतकीय इनिङ्स खेलेका थिए । तेस्रो तथा निर्णायक एक दिवसीयमा उनले ९४ रनको महत्वपूर्ण इनिङ्स खेलेका थिए ।

टि–२० खेलमा दक्षिण अफ्रिकाले प्रस्तुत गरेको २ सय ४ रनको लक्ष्य पछ्याउँदा बाबरले १ सय २२ रनको कीर्तिमानी इनिङ्स खेलेका थिए । अर्का ओपनर फखर दक्षिण अफ्रिकासँग दोस्रो र तेस्रो एकदिवसीय खेलमा शतक प्रहार गरेका थिए । उनले दोस्रोमा १ सय ९३ रन र तेस्रोमा १ सय १ रनको उत्कृष्ट शतकीय इनिङ्स खेल्दै पाकिस्तानलाई सिरिज जिताएका थिए ।

अवार्डको विजेता आइसिसीकै प्यानल र खुला मतदानको मतअनुसार घोषणा हुनेछ । आइसिसीको प्यानलमा पूर्वखेलाडी, पत्रकार तथा ब्रोडकास्टरको उपस्थिति रहनेछ । आइसिसी प्यानलको मतभार ९० प्रतिशत र खुला मतदानको १० प्रतिशत भार हुनेछ । दुवै जोडेर सर्वाधिक मत प्राप्त गर्ने खेलाडीले अवार्ड जित्नेछ । 

कुशलको यात्रा
कुशलले सन् २०१२ मै यू–१६ राष्ट्रिय टोलीमा स्थान बनाएका थिए । मलेसियामा भएको यू–१६ इलिट कपमा कतारविरुद्ध उनले डेब्यु गर्दै ३५ रनको योगदान दिए । तर बहराइनसँगको प्रतिस्पर्धा अघि अभ्यासको क्रममा उनको दायाँ हात भाँचियो । त्यसपछि उनी नेपाल फर्र्किए । 

सन् २०१५ को यू–१९ टोलीमा पनि उनले स्थान बनाए । त्यही वर्ष मलेसियामा भएको यू–१९ विश्वकपमा उनले नेपालबाट प्रतिस्पर्धा गरे । यद्यपि विश्वकपमा एक खेल नखेलेका कुशलले हार मानेनन् । घरेलु प्रतियोगितामा आफूलाई उनले व्यस्त बनाए । विभागीय टोली नेपाल पुलिससँग आबद्ध भए । पुलिससँग आबद्ध भएयता उनले कहिले पछाडि फर्केर हेर्नुपरेन । सन् २०१६ मा बंगलादेशमा भएको यू–१९ विश्वकपमा स्थान बनाएका कुशलले सौरभ खनाल घाइते भएपछि टोलीमा स्थान सुरक्षित गरे । घरेलु क्रिकेट प्रतियोगितामा कुशलले ललितपुरबाट एभरेस्ट प्रिमियर लिग, पोखराबाट पोखरा प्रिमियर तथा विराटनगरबाट धनगढी प्रिमियर लिग खेलेका छन् । सन् २०१९ मा कुशलले लिस्ट एमा नेपाली राष्ट्रिय टोलीमा स्थान पक्का गरे । 

सुझावित समाचार