मकैबारीमा अर्धनग्न अवस्थामा फेला परेकी महिलाको मृत्युको कारण पत्ता लागेन

बुधबार, २२ बैशाख, २०७८
डिजिटल संस्करण

पाँच दिनअघि मकैबारीमा अर्धनग्न अवस्थामा मृत फेला परेकी मोरङ कानेपोखरीकी एक महिलाको मृत्युको रहस्य प्रहरीले अझै पत्तो पाउन सकेको छैन ।  १९ वैशाख बिहान ९ बजेतिर मोरङको रतुवामाई नगरपालिका– ६ स्थित सन्थाल बस्तीनजिकै बेरामारी भन्ने स्थानमा रामप्रसाद भण्डारीको मकैबारीभित्र अर्धनग्न अवस्थामा मृत फेला परेकी कानेपोखरी गाउँपालिका– १ विसनपुर सुकुम्बासी बस्तीमा बसोवास गर्दै आएकी सन्थाल समुदायकी  ३२ वर्षीया सरिता सोरनको मृत्युकाे रहस्य प्रहरीले अझै पत्तो पाउन नसकेको हो । 

यद्यपि शरीरमा प्रशस्त चोटपटक र नीलडाम भएकाले मृतक सरिताको मृत्यु स्वाभाविक नभएर हत्या नै भएको प्रहरीको प्रारम्भिक ठहर छ । स्थानीयले सुरुवाल सुर्किएको अवस्थामा भएकाले उनको बलात्कारपछि हत्या भएको हुन सक्ने शंका गरेका छन् । तर, प्रहरीले भने पोस्टमार्टम रिपोर्टले पुष्टि नगरी बलात्कार भन्न नसकिने जनाएको छ । गाउँमा केहीले सरिताको  हत्याको कारण यौन सम्बन्ध पनि हुन सक्ने अनुमान गरेका छन् । 

घटना अनुसन्धान गर्न प्रहरीले घटनास्थलमा कुकुर पनि परिचालन गरेको थियो । तर, कुकुरले कुनै मानिसलाई पत्तो लगाउन सकेन । मात्रै मकैबारीदेखि सन्थाल बस्तीसम्म पछ्याएको थियो । यसैले सरिताको हत्यामा सन्थाल बस्तीमै बसोवास गर्ने कसैको संलग्नता हुन सक्ने प्रहरीको आशंका छ ।  

मोरङ प्रहरी प्रवक्ता डिएसपी मानबहादुर राईले सरिताको मृत्यु हत्या नै भएको आशंकाले विभिन्न कोणबाट अनुसन्धान भइरहेको बताए । स्थानीयका अनुसार मृतक सरिताका श्रीमानको दुई वर्षअघि मृत्यु भएको थियो । उनका १५ वर्षीय एक छोरा छन् । 
सम्पादकीय असावधानीले प्रकाशित तस्बिर हटाइएको छ ।

See More On

सुझावित समाचार