चेपाङ परिवारलाई अस्ट्रेलियाबाट सहयोग

बुधबार, २२ बैशाख, २०७८
डिजिटल संस्करण

गत ३ साउनको मध्यबर्खामा चितवन राष्ट्रिय निकुञ्जले आगो लगाइदिएर तथा हात्ती प्रयोग गरेर घर भत्काइदिएको माडी नगरपालिका–९, कुसुम खोलाका चेपाङहरूलाई बाख्रा वितरण गरिएको छ । नयाँ पत्रिकामा समाचार देखेपछि पोखरा घर भई अस्ट्रेलिया बस्ने सुपक अधिकारीले फेसबुक अभियानमार्फत ४३ हजार ३ सय १८ रुपैयाँ संकलन गरी चितवनका नयाँ पत्रिकाकर्मी विवेक पोख्रेललाई पठाएका थिए ।

उक्त रकममध्येबाट ३० हजार ३ सय १८ रुपैयाँमा ५ वटा बाख्रा खरिद गरी सोमबार माडी नगरपालिका प्रमुख ठाकुरप्रसाद ढकालको उपस्थितिमा अति विपन्न पाँच चेपाङ परिवारलाई वितरण गरिएको हो । दीपबहादुर, दानबहादुर, जित्रलाल, बमबहादुर र राजकुमार चेपाङले बाख्राका पाठी पाएका छन् । बाख्रा पाएका चेपाङ परिवारले बाख्रा लिँदै घर पनि बनाइदिन मेयर ढकालसँग आग्रह गरेका छन्  ।

बाँकी १३ हजार रुपैयाँ माडी नगरपालिका विपद् व्यवस्थापन शाखालाई हस्तान्तरण गरिएको छ । उक्त रकममा नगरपालिकाले थप गरी अन्य चेपाङ परिवारलाई बाख्रा दिने ढकालले बताए ।  कुसुम खोलामा बसिरहेका तथा विस्थापित भएका विपन्नका लागि माडी नगरपालिकाले प्रदेश सरकार र दाताको सहयोगमा पहिलो चरणमा ९० घर निर्माण थालेको थियो । तर, वडा नं. ९ को राईटोल र वडा नं. ७ को परोई खोला–किनारामा घर बनाउने योजनामा निकुञ्जले अवरोध ग¥यो । राईटोलमा ४० घर बनाउँदै गर्दा १३ घरमा निकुञ्जले जस्तापाता हाल्न दिएन । अझ परोई खोला–किनारमा ५० घर बनाउन खोज्दा पोल नै गाड्न नदिएको मेयर ठाकुरप्रसाद ढकालले बताए । 

गत ३ साउनमा चितवन राष्ट्रिय निकुञ्जले दानबहादुरसँगै दीपबहादुर चेपाङको घरमा आगो लगाएको थियो भने अन्य आठ घर हात्ती लगाएर भत्काएको थियो । चेपाङका घरटहरामा आगो लगाउँदै बाँकी बस्ती पनि एक साताभित्र खाली गर्न आदेश दिएको थियो । तर, १५ साउनमा सर्वोच्च अदालतले घरटहरा नभत्काउन, भत्काइएकोमा क्षतिपूर्ति दिन र चेपाङहरूका लागि बसोवासको व्यवस्था गर्न सरकारको नाममा आदेश दिएको थियो । नौ महिनासम्म विपन्न चेपाङको आवाज र सर्वोच्चको आदेश बेवास्ता गर्दै आएको छ ।  

कुसुम खोला क्षेत्रमा ०५३ देखि चेपाङ परिवार बस्दै आएका थिए । धादिङ र मकवानपुरबाट उनीहरू यहाँ आएका हुन् । सुरुमा त्यस क्षेत्रमा १ सय ६० चेपाङ परिवार बस्न थालेका थिए । ०७४ मा डुबानमा परेपछि अधिकांश परिवार माडीकै विभिन्न ठाउँमा बसाइँ सरे । ११ घरपरिवार भने कुसुम खोला क्षेत्रमै बसिरहेका थिए । 

See More On

सुझावित समाचार