फ्रान्सिस गुरीका अनुसार नवप्रवर्तन नै आर्थिक विकासको इन्जिन हो, जसले ज्ञानमा आधारित अर्थतन्त्रको निर्माण गर्छ
अहिले विश्वका सबै सरकारहरू आप्mना नागरिकलाई छिटो, छरितो र स्तरीय सेवा दिन नसकेकोमा तनावमा छन् । नागरिक सन्तुष्टि सरकारको एक मात्र अभीष्ट हो । यसका लागि प्रणालीभित्र र बाहिरबाट निरन्तर दबाब छ । लोकतन्त्र, नागरिक चेतना र सूचना प्रविधिको निरन्तर विस्तारका कारण सरकार र उसका संरचना नवप्रवर्तन गर्न बाध्य छन् । प्रणालीभित्र सीमान्त सुधार होइन, नवप्रवर्तन (आविष्कार) भन्न थालिएको छ । सर्वसाधारण सेवाग्राही, ग्राहक, उपभोक्ता, नागरिक हुँदै साझेदार बनेका छन् । उनीहरूको स्वाद र सन्तुष्टिका लागि नवप्रवर्तन अपरिहार्य छ ।
अमेरिकी आविष्कार नेटवर्कका अनुसार मूल्य सिर्जना गर्ने नवीन विचारको कार्यान्वयन नै आविष्कार (नवप्रवर्तन) हो । नवप्रवर्तनले तीन परिणति दिन्छ । पहिलो, सेवाको सन्तुष्टि विस्तार । दोस्रो, लागत न्यूनीकरणका साथ कार्यकुशलता वृद्धि र तेस्रो, सरकार र सेवाग्राही दुवैलाई थप मूल्य सिर्जना । अग्रगामी सरकार र उसको संयन्त्र प्रशासनले जहिले पनि सर्वसाधारणको मन जित्ने सेवा कम लागत र उच्चस्तरमा सम्भव तुल्याउँछ, कर्मचारीमा स्वउत्साह बढाई उत्पादकत्व उकास्छ र वातावरणीय संवेदनशीलता देखाउँछ ।
नवप्रवर्तनलाई सिजर्नशीलता र व्यावसायिकताको संयुक्त परिणामका रूपमा लिइन्छ । सिर्जनशीलताको अर्थ नवीन काममार्फत मूल्य अभिवृद्धि गर्नु हो । यो कुनै वैयक्तिक प्राज्ञ नभई एउटा उत्साह हो । संगठनलाई गतिशील बनाउने कार्य वा पुनर्बोध हो । मौजुदा स्थितिप्रति असहमति र तनाव सिर्जना हो । व्यवहारवादी विद्वान्हरू प्रशासनिक नवप्रर्तनलाई एक प्रतिशत विचार र ९९ प्रतिशत कार्यान्वयन भन्ने गर्छन् । प्रशासन स्थापित संयन्त्र भएकाले यसो भनिएको हो । सांगठनिक रूपान्तरणका लागि नै प्रशासनिक नवप्रवर्तन गरिन्छ, न कि स्वैरकल्पनाका लागि । यो परिष्कार मात्र होइन, नवप्रवर्तनले परिष्कारभन्दा माथिल्लो मूल्य अभिवृद्धि गर्छ । प्रवर्तन सबैले गर्न सक्छन्, सबै ठाउँमा गर्न सकिन्छ । तर, प्रोत्साहन गर्ने काम नेतृत्वको हो, मूल्यलाई आदर्श मान्ने र नयाँ दृष्टिकोण सिर्जना गर्ने नेतृत्व नै नवप्रवर्तनका पृष्ठ कारक हुन् । ससाना सफलताले ठूलो सफलताको आधार दिन्छ । सबै ठूला आविष्कार एकैचोटि हँुदैनन् । प्रवर्तनकारी प्रशासन सोच, प्रयास, संयम, विश्वास र प्रोत्साहनमा जोड दिन्छ । यो मूल्य संस्कृति निर्माणको अनवरत प्रक्रिया हो ।
नवप्रर्वतनले राम्रै गर्छ, गर्नुपर्छ भन्ने मान्यता राखिन्छ । तर, सर्वसाधारणको सोचाइभन्दा यो अग्रगामी हुन सक्छ । जस्तो कि गुगलले गरेको आविष्कार हाम्रा लागि हो भनेर नसोचिएको हुन सक्छ, जसरी अहिले उपयोग भइरहेको छ । सेवाग्राही सधैँ ठीक नहुन सक्छन्, तर आविष्कारको मुटुमा सेवाग्राही नै हुन्छन् । असफलताबाट आत्तिएर पनि आविष्कार हुँदैन । थोमस अल्वा आडिसनले एक प्रसंगमा भनेका थिए– ‘म असफल भएर के भयो, किन सफल भइनँ भन्ने हजार कुरा बुझ्न सफल भएँ ।’
नवप्रवर्तनलाई ६ वर्गमा राख्न सकिन्छ । पहिलो, उत्पादन अन्वेषण, जसले नयाँ सेवाको उत्पादन, उत्पादित वस्तुको प्रयोग, स्वाद र स्वरूप बदल्ने गर्छ । दोस्रो, प्रक्रिया नवप्रवर्तन, जसले सार्वजनिक सेवाको गुणस्तर वृद्धि तथा प्रवाह विधिलाई सरल बनाउने गर्छ । तेस्रो, बजार नवप्रवर्तन, जसले उत्पादित वस्तु तथा सेवाको बजार वा सेवाग्राही पहिचानलाई सघाउँछ । चौथो, सांगठनिक नवप्रवर्तन, जुन संगठन सञ्चालन, सांगठनिक व्यवहार, आन्तरिक लोकतन्त्र, सहभागिता संस्कृतिको परिवर्तनमार्फत संगठनलाई कार्यमूलक बनाउने गर्छ । पाँचौँ, कार्यढाँचा नवप्रवर्तन, जसले कार्यढाँचाको परिवर्तनमार्फत मूल्य अभिवृद्धि गराउँछ । छैटौँ, अवधारणात्मक नवप्रवर्तन, जुन शासकीय अवधारणा नै बदल्ने काम हो । जस्तो कि संरचना परिवर्तन, नीति–निर्माणको ढाँचा परिवर्तन गरी नागरिक सहभागिता बढाउने काम, नागरिक बजेट, भर्चुअल संगठन, कार्य सञ्जालीकरणजस्ता कार्यलाई सहज पार्छ । यी सबै कार्यले सीमान्त सुधारभन्दा परिवर्तन खोजेको हुन्छ । सीमान्त सुधार त प्रशासनभित्र जहिले पनि हुने नै गर्छ ।
व्यवस्थापनको चाख र नेतृत्वको शैलीले नवप्रवर्तन भित्रिन्छ । जस्तो कि नेपालमा ०७५ मा मालपोत प्रशासनमा परिवर्तनका खातिर अघि सारिएका लिखत ढाँचाको परिवर्तन, पब्लिक एक्सेस मोडल, भूसेवा केन्द्र र अनलाइन सेवा, ०७७ मा लागू गरिएको क्रियाकलापमा आधारित लेखा प्रणाली र फिन्टेकका नवीन विधिहरू यसका केही उदाहरण हुन्
नवप्रवर्तन त्यत्तिकै प्राप्त गर्न सकिँदैन । यो सिलसिलेबार प्रयासको नतिजा हो । नवप्रवर्तनका लागि सर्वप्रथम विचारको सिर्जना चाहिन्छ । विचार त्यत्तिकै सिर्जना हुँदैन, प्रोत्साहन चाहिन्छ । दोस्रो, जब विचार सिर्जना हुन्छ, त्यसको परीक्षण आवश्यक हुन्छ । परीक्षित विचारलाई सम्भाव्य प्रयोगमा लगेर त्यसले दिने प्रतिफलको लेखाजोखा चाहिन्छ । परीक्षणबाट उचित देखिएपछि विचारको कार्यान्वयन गरी निरन्तर परिष्कारको प्रक्रियामा लैजाने सामर्थ्य चाहिन्छ ।
सरकारको नवप्रवर्तन अन्य क्षेत्रको जस्तो नभई सर्वसाधारणलाई दिनुपर्ने सेवा र नीति उत्पादन, त्यसका लागि सांगठनिक सुधार र स्रोत–सामग्री उपयोगको पुनर्बोध हो । अल्बर्टी र बुर्तुसीका अनुसार प्रशासनिक यो तीन पक्षमा केन्द्रित हुन्छ : (क) सहज पहुँचसहितको स्तरीय सेवा । (ख) सार्वजनिक जवाफदेहिताको सुदृढीकरण । (ग) नागरिक सहभागिताको विस्तार । यसर्थ, सरकारले सामना गरिरहेको जल्दाबल्दा समस्या हल गर्न मौजुदा कार्यप्रणाली, कार्यढाँचा र व्यवस्थापनको नतिजामूलक परिवर्तन सरकारको नवप्रवर्तन हो, जसका संस्थागत, सांगठनिक, कार्यप्रक्रिया र अवधारणागत आयाम छन् । प्रवर्तनमुखी सरकारको प्रवृत्ति हरेक दिन नै प्रशासन आविष्कारको प्रक्रियामा संलग्न रहने अवस्था सिर्जना गर्नमा रहन्छ । किनकि राजनीतिक प्रक्रिया, नेतृत्वको परिवर्तन, तनावको सामना, आन्तरिक समस्या र नयाँ अवसरको सिर्जनाले प्रशासनिक नवप्रवर्तनको माग लगातार गरिरहेको हुन्छ ।
नेतृत्वको दृष्टिकोणले नै नवप्रर्तनलाई बढवा दिने गर्छ । सन् ७० को दशकमा रोनाल्ड रेगन र मार्गरेट थेचरले नेतृत्व गरेको नयाँ दक्षिणपन्थी आन्दोलनले सार्वजनिक प्रशासन र अर्थतन्त्रमा नवप्रवर्तनका लागि मार्गप्रशस्त गर्यो । नेक्स्ट स्टेप एजेन्सी, नागरिक बडापत्र, कार्यसम्पादन करार, सहउत्पादन, चार्टर विद्यालय यही अभियानका परिणाम हुन् । बिल क्लिन्टनले हरेक समस्याको समाधान सरकारको ठूलो आकारले गर्ने होइन कि ठूलो सरकार नै समस्याको कारण हो भन्ने निष्कर्षमा अलगोरलाई राष्ट्रिय उपलब्धि सीमारक्षा गर्ने जिम्मा दिए । प्रतिवेदनले सरकारको पुनर्बोधको सिफारिस गर्यो र कर्मचारीतन्त्रीय संस्कृतिलाई उपलब्धि संस्कृतिमा बदल्न पुग्यो ।
व्यवस्थापनको स्वयं चाख र नेतृत्वको शैलीले पनि नवप्रवर्तन भित्रिन्छ । जस्तो कि नेपालमा ०७५ मा मालपोत प्रशासनमा परिवर्तनका खातिर अघि सारिएका लिखत ढाँचाको परिवर्तन, पब्लिक एक्सेस मोडल, भूसेवा केन्द्र र अनलाइन सेवा, ०७७ मा लागू गरिएको क्रियाकलापमा आधारित लेखा प्रणाली (सिगास), सरकारी भुक्तानीको विद्युतीकरण, भुक्तानीको विद्युतीय हस्तान्तरण (इएफटी) र फिन्टेकका नवीन विधिहरू यसका केही उदाहरण हुन् । नवप्रवर्तनका यी प्रयासले सेवा व्यवस्थापनलाई छरितो, पारदर्शी, सम्बद्धमा पहुँचयोग्य र विश्वासिलो बनाउँदै लगेको छ ।
९० को दशकबाट प्रशासनिक नवप्रवर्तनलाई प्रोत्साहन गर्ने विधिहरू प्रयोगमा ल्याइयो । क्यानाडामा सार्वजनिक प्रशासन इन्स्टिच्युट (आइपाक)ले व्यवस्थापनभित्र नवप्रवर्तनलाई प्रोत्साहन गर्न पुरस्कारको स्थापना गर्यो । यसै खालको पुरस्कार स्थापना अमेरिकी सार्वजनिक प्रशासन समाज (आस्पा)ले पनि गर्यो । अलगोर प्रतिवेदनले प्रक्रिया सुधार गर्नेका लागि हम्मर अवार्ड सिफारिस गरेको थियो भने संयुक्त राष्ट्रसंघले राष्ट्रसंघीय प्रणालीभित्र असल अभ्यास गर्ने मुलुुकका प्रशासकलाई पुरस्कृत गर्ने परम्परा थाल्यो । नेपालमा मन्त्रीसँग कार्यसम्पादन करार गर्ने समयमा सचिवले कम्तीमा एक नवप्रवर्तनकारी काम गर्ने प्रतिबद्धता प्रधानमन्त्रीसमक्ष गर्नुपर्थ्यो र त्यसैका आधारमा सचिवको मूल्यांकन गर्ने सोच ल्याइयो । माथि उल्लेख गरिएका भूसेवा केन्द्र, लिखत ढाँचा परिवर्तन, अनलाइन सेवालगायतका नवप्रर्तनकारी काम आव २०७६/७७ मा भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण सचिव र मन्त्रीबीच कार्यसम्पादन करारका प्रतिबद्धता थिए भने क्रियाकलापमा आधारित लेखा प्रणाली, विद्युतीय भुक्तानी प्रणाली महालेखा नियन्त्रक र अर्थमन्त्रीबीच २०७६/७७ का कार्यसम्पादन करार गर्दा गरिएका प्रतिबद्धता थिए । यस्ता कामले सार्वजनिक प्रशासनभित्र नवप्रवर्तन भित्र्याउन योगदान पुर्याउँदै आएको छ ।
संयुक्त राष्ट्रसंघ सदस्य मुलुकलाई प्रवर्तनकारी बनाउन उत्प्रेरक बन्दै आएको छ । राष्ट्रसंघीय प्रणालीले विभिन्न मञ्च तथा माध्यमलाई उपयोग गरी असल अभ्यासको विनिमय गरिरहेको छ भने व्यवस्थापन सुधारका लागि विभिन्न संयन्त्रमार्फत सहयोग पनि गरिरहेको छ । जस्तो कि नेपालले गरिबी र वातावरणको संयुक्त प्रयास (पिइआई) र जलवायु बजेट कोडलाई कदर गर्दै २०१३ मा पहिलो इन्टरनेसनल लिडरसिप अवार्ड प्रदान गरी यसलाई असल अभ्यासका रूपमा विश्व विकास सम्मेलनमा प्रस्तुत गरिएको थियो । अर्को वर्षदेखि अन्य मुलुकहरूले पनि कार्यान्वयनमा ल्याएका थिए । अमेरिकामा अपनाइएको स्टेम (शिक्षामा जब प्रवर्तनकारी अवधारणा) र अन्तर्राष्ट्रिय ओलम्पियाड विश्वव्यापी भएको छ, नेपाल पनि यस प्रक्रियामा थोरै आबद्ध छ ।
फ्रान्सिस गुरीका अनुसार नवप्रवर्तन नै आर्थिक विकासको इन्जिन हो, जसले ज्ञानमा आधारित अर्थतन्त्रको निर्माण गरी दिगो आर्थिक विकास सम्भव गराउँछ । अन्तर्राष्ट्रिय मुद्रा कोषकी महानिर्देशक क्रिस्टिना लेगार्ड र राष्ट्रसंघीय जलवायु परिवर्तन निकाय प्रमुख क्रिस्टिने फिगुरेसले ‘गुड इकोलोजी इज गुड इकोनोमी’कोे आदर्श वाक्य अघि सारी विकासको ढाँचालाई हरित अर्थतन्त्रतर्फ मोड्न सफल भए । कोफी अन्नानले व्यवस्थपन सुधारलाई विकासको नवआविष्कारका रूपमा लिए । बिल क्लिन्टनले आफ्ना भनाइमा असहमति जनाउन सक्ने प्रशासन चाहिएको र यसैलाई नै प्रशासनिक नवप्रवर्तनको आधार मानेका थिए ।
सार्वजनिक नवप्रवर्तनलाई धेरै जटिल रूपमा बुझ्नुहुँदैन । नवप्रवर्तनका लागि मौजुदा सेवा प्रणालीको सुधार र नयाँ सेवाक्षेत्रको पहिचान गरी दुई रणनीति लिए पुग्छ । जसका लागि बाह्य झड्काभन्दा आन्तरिक चाहनाले साथ दिनुपर्छ, थोपरिएको होइन, स्वाभाविक र स्वतःस्फूर्त हुनुपर्छ । साथै पटकेभन्दा निरन्तर र सीमान्तवादीभन्दा रूपान्तरणकारी हुनुपर्छ । तर, अल्पविकसित मुलुकमा पूर्वतयारीविना नै काम गर्ने र संस्थागतभन्दा पनि नेतृत्वप्रेरित हुने हुँदा नेतृत्व परिवर्तनसाथ नवप्रवर्तन अल्मलिने गर्छ । प्रशासनभित्र आन्तरिक प्रोत्साहनसहितको स्वयं उत्साह सिर्जना गर्न सक्दा प्रशासन नै पलपलको आविष्कार हो, त्यसो गर्नु कर्मचारीको व्यावसायिक कर्म र नैतिक धर्म हो । अहिलेको चुनौती त्यो स्वयं उत्साह कसरी सिर्जना गर्ने भन्नेमा हो ।