कोरोना जोखिमबीच आरोहीहरू आधारशिविरतर्फ : सगरमाथामा मात्रै आरोही र सहयोगीसमेत गरी ४ हजार

सोमबार, २० बैशाख, २०७८
डिजिटल संस्करण

सगरमाथा आरोहणका लागि ४ सय ८ जनाले आरोहण अनुमति लिएका छन्, तीमध्ये अधिकांश आधारशिविरबाट माथि जाने तयारीमा छन्, १२ मेबाट सगरमाथा आरोहण सुरु हुने सम्भावना, बिरामी भएर काठमाडौं ल्याइएका एकजना गाइडसहित दुई विदेशीलाई कोरोना संक्रमण देखिएको छ

कोभिड–१९ को दोस्रो लहरको जोखिमबीच सगरमाथासहित देशका विभिन्न हिमाल आरोहणका लागि आरोहीहरू आधारशिविरमा जम्मा भएका छन् । सगरमाथामा आरोहणका लागि मात्रै आधारशिविरमा ४ सय आरोहीसहित झन्डै ४ हजार मानिसहरू पुगेका छन् । गत वर्ष कोरोना संक्रमणका कारण सरकारले हिमाल आरोहणमा रोक लगाएको थियो । तर, यस वर्ष भने सगरमाथा आरोहणका लागि ४३ समूहका ४ सय ८ जनालाई अनुमति प्रदान गरिएको छ । त्यस्तै, अन्य हिमाल आरोहणलाई समेत सरकारले अनुमति दिएको छ । 

आरोहण अनुमति प्राप्त गरेका आरोही तथा सहयोगीहरू कोरोनाको जोखिमबीच हिमालतर्फ लागेका छन् । सगरमाथा आरोहणका लागि आधारशिविर र क्याम्प–१ मा पुगिसकेका आरोहण दलहरू यतिवेला उचित मौसमको पर्खाइमा छन् । ‘सम्भवतः मे १५ देखि आरोहण सुरु भएर मे २९ सम्म सम्पन्न भइसक्नेछ, यस वर्ष मौसमले साथ दिइरहेको छैन,’ नेपाल पर्वतारोहण संघका महासचिव कुलबहादुर गुरुङले भने । आधारशिविरमा नेपाली र विदेशी गरेर ३ हजार ५ सयदेखि ४ हजार मानिसहरू त्यहाँ रहेको समेत गुरुङले जानकारी दिए । 

पर्यटन विभागले आरोही तथा सहयोगीहरू सबैको पिसिआर परीक्षणको रिपोर्टका आधारमा मात्रै आधारशिविरतर्फ जानका लागि अनुमति दिएको थियो । सोही क्षेत्रमा रहेका स्थानीय भरिया तथा सहयोगीबाहेक अन्य सबैको परीक्षण गरेर मात्रै त्यसतर्फ गएको पर्यटन विभागका महानिर्देशक रुद्रसिंह तामाङले जानकारी दिए । ‘स्वास्थ्य मापदण्ड कडाइका साथ लागू गरिएको छ, एउटा क्याम्पको व्यक्ति अर्को क्याम्पमा जानका लागि रोक लगाइएको छ,’ तामाङले भने । 

 १६ हिमालका लागि ७४२ आरोहीलाई अनुमति 
चालू सिजनमा आरोहणका लागि विभागबाट १६ हिमालका लागि ८५ आरोहण दलका ७ सय ४२ आरोहीले आरोहणको अनुमति लिएका छन् । त्यसमध्ये सबैभन्दा धेरै सगरमाथाका लागि अनुमति लिएका छन् । सगरमाथा आरोहणका लागि ४३ समूहका ३ सय १५ पुरुष र ९२ जना महिला गरेर ४ सय ८ जनाले आरोहणका लागि अनुमति लिएर आधारशिविरतर्फ गएका छन् । सरकारले आरोहण अनुमतिपत्रको रोयल्टीबापत मात्रै ७१ करोड ४८ लाख ५३ हजार ५ सय २९ रुपैयाँ संकलन गरेको छ । 

 आरोहणमा गएका तीनजनालाई कोरोना संक्रमण
आरोहणमा आएका नर्वे र भारतका एक–एकजनालाई कोरोना संक्रमण देखिएको छ । थप एकजना गाइड शेर्पालाई पनि कोरोना संक्रमण देखिएको छ । आधारशिविरमा पुगेका उनीहरूलाई स्वास्थ्यमा समस्या देखिएपछि हेलिकोप्टरमा काठमाडौं ल्याइएको थियो । अहिले एकजनालाई ग्रान्डी र एकजनालाई ह्याम्स अस्पतालमा उपचार भइरहेको संघका महासचिव गुरुङले जानकारी दिए । ‘स्वास्थ्यमा समस्या देखिएपछि काठमाडौं ल्याएर चेकजाँच गर्दा संक्रमण देखिएको हो, एकजना शेर्पा गाइडलाई पनि कोरोना देखिएपछि काठमाडौंमै उपचार भइरहेको छ,’ गुरुङले भने । कसरी कोरोना संक्रमण देखियो भन्ने विषय जानकारी नभए पनि अन्यमा अहिलेसम्म कुनै पनि समस्या नआएको समेत गुरुङले बताए । ‘अन्यमा संक्रमण फैलन नदिन स्वास्थ्य मापदण्ड कडाइ गरी बन्द क्याम्पमा मात्रै राखिएको र अन्यमा क्याम्पमा जानमा रोक लगाइएको छ,’ गुरुङले भने । 

 क्याम्प–१ मा हिउँपहिरो
आधारशिविर र क्याम्प–१ को बीचभागमा हिउँपहिरो जाँदा आरोहण रोकिएको छ । केही आरोही दल क्याम्प–२ र क्याम्प–३ सम्म पुगेका र केही आधारशिविरमै रोकिएका नेपाल पर्वतारोहण संघका पूर्वअध्यक्ष आङछिरिङ शेर्पाले जानकारी दिए । ‘यस वर्ष अब रोकिँदैन, सयाँै आरोही र आरोहण सहयोगी आधारशिविरमा पुगिसकेका र अहिलेसम्म खासै समस्यासमेत आएको छैन,’ शेर्पाले भने । कुनै समस्या नआएमा सम्भवतः १२ मेदेखि आरोहण हुन सक्नेसमेत शेर्पाले बताए ।

सुझावित समाचार