विभिन्न स्वरूपका कोरोनाबीच अनिश्चितता

आइतबार, १९ बैशाख, २०७८
डिजिटल संस्करण

अझ बढी सिक्वेन्सिङ नगरी भाइरस उत्परिवर्तन भएर दोस्रो लहर सुरु भयो भन्न सक्ने अवस्था छैन

भारतमा अहिले आएको कोरोनाको दोस्रो लहर भयानक छ । दोस्रो लहर पहिलो लहरभन्दा कडा स्वरूपमा प्रस्तुत भएको छ । पहिलो लहरको मध्यमा दैनिक एक लाख मानिस संक्रमित हुन्थे भने दोस्रो लहरमा तीन लाखभन्दा बढी मानिस दैनिक संक्रमित भइरहेका छन् । मृत्युदर पनि पहिलेको लहरको मध्यमा दैनिक एक हजार थियो भने अहिले दैनिक तीन हजारभन्दा बढी छ । अहिले भारतमा एक प्रकारको संकटकाल छाएको छ । विश्वको औषधि उत्पादक कहलिएको देशमा अक्सिजन र औषधिको चरम अभाव छ भने मृत्युदर उच्च भएर दाहसंस्कार गर्न ठाउँ पुगिरहेको छैन । विभिन्न देशले सावधानीस्वरूप भारतसँगको हवाई सम्पर्क बन्द गरेका छन् ।

भारतको यो कोरोना कहरले भारतलगायत विश्वभरिका वैज्ञानिकलाई अचम्ममा पारेको छ । केही महिनाअघि मात्र गरिएको एक अनुसन्धानले डिसेम्बर २०२० मा भारतको सहरी जनसंख्याको लगभग ४१ प्रतिशतलाई कोरोना लागिसकेको (सेरोप्रेभलेन्स) देखिएको थियो । यो नतिजा मेडआरएक्सआइभी जर्नलमा प्रकाशित भएको थियो । कतिपय रोगमा एकपटक संक्रमित भएपछि फेरि संक्रमित हुने सम्भावना न्यून रहन्छ । कोभिड त्यसप्रकारको रोग भएको खण्डमा यति ठूलो जनसंख्यामा कोरोना नलाग्नुपर्ने हो । दोस्रो लहर यति भयानक हुनुमा विभिन्न कारण हुन सक्छन् । पहिलो कारण त परिवर्तित स्वरूपका बढी संक्रामक, घातक र खोपबाट अन्त्य नहुने भाइरस हुन सक्छन् । दोस्रो कारण पहिले भाइरस लागेर विकास भएको शरीरको प्रतिरोधात्मक क्षमताको क्षय भएको हुन सक्छ । तेस्रो भारतमा पहिलो लहरपछि जीवनशैलीमा लिनुपर्ने सतर्कता नलिएकाले हुन सक्छ । जुनसुकै कारणले भए पनि कोरोनाको यो लहरले भारत र नेपाललगायत विश्वव्यापी रूपमा अनिश्चितता बढाएको छ । भारतजस्तै नेपालमा पनि कोरोनाको संक्रमण बढ्दो छ । बिरामीको संख्या बढेसँगै निषेधाज्ञाको घोषणा गरिएको छ । उल्लिखित तीन कारक तत्वहरू नेपालको कोरोना कहरमा पनि महत्वपूर्ण छन् । लेखमा यिनै कारणको चर्चा गरिएको छ । 

पहिले चर्चा गरौँ विश्वव्यापी रूपमा फैलिँदै गएका विभिन्न स्वरूपका भाइरसहरूको । चीनको वुहानबाट फैलन सुरु भएको भाइरसमा आजको दिनसम्म आउँदा विभिन्न समयमा थुप्रै परिवर्तन भइसकेका छन् । हजारौँ भाइरसहरूको रूपरेखा (सिक्वेन्स) इन्टरनेटमा पाउन सकिन्छ । भाइरसका विभिन्न भाग (प्रोटिन) मा परिवर्तनहरू भएका छन् । विभिन्न भागमध्ये एस प्रोटिनका परिवर्तनहरू उल्लेखनीय हुन्छन् किनकि यही प्रोटिनको माध्यमबाट भाइरस मानिसमा सर्छ । भाइरस कत्तिको सर्छ एस प्रोटिनको स्वरूपले निर्धारण गर्छ । फेरि अहिलेसम्म विकास गरिएका धेरैजसो खोपले यही प्रोटिन बनाउने गर्छन्, ताकि शरीरले भाइरस चिनेर प्रतिरोधात्मक क्षमता विकास गर्न सकोस् । 

कोरोनाका सन्दर्भमा थुप्रै पक्ष अनिश्चित छन् । ६ महिनासम्म खोप प्रभावकारी रहन्छ भन्ने मानवीय परीक्षणबाट थाहा भएको छ । तर, कति समयसम्म प्रतिरोधात्मक क्षमता रहिरहन्छ निश्चित छैन । फाइजरका प्रमुखले केही समयअघि मात्र भनेका थिए, कोरोनाविरुद्ध तेस्रो डोज खोप लगाउनुपर्ने हुन सक्छ । त्यसपछि हरेक वर्ष फ्लुजस्तो खोप लगाउनुपर्ने पनि हुन सक्छ ।

अहिलेसम्म चर्चामा आएका बदलिएका स्वरूपका भाइरसहरू बेलायत, दक्षिण अफ्रिका, ब्राजिल र भारतमा भेट्टिएका छन् । कुनै एक स्वरूपको भाइरसमा खतरा हुने फेरबदल भएमा चासोको प्रकारमा वर्गीकृत गरिन्छ । स्वरूप अझ खतरनाक ठहरेमा चिन्ताको प्रकारमा वर्गीकरण गरिन्छ । बेलायती, दक्षिण अफ्रिकी र ब्राजिली भाइरसहरूलाई चिन्ताको भाइरसको प्रकारमा वर्गीकरण गरिएको छ । भारतको भाइरसलाई भने चासोको भाइरसको प्रकारमा मात्र वर्गीकरण गरिएको छ । स्वरूप परिवर्तन दुई तरिकाले खतरनाक हुन सक्छन् । एउटा त स्वरूप परिवर्तनको कारणले भाइरस बढी संक्रामक र घातक हुन सक्छ । अर्को स्वरूप परिवर्तनको कारणले भाइरसले खोपको प्रतिक्रियास्वरूप बन्ने प्रतिरोधात्मक तत्वले भाइरसलाई नियन्त्रण नगर्ने नहुन सक्छ । बेलायती भाइरसमा भाइरसलाई बढी संक्रामक बनाउन परिवर्तित स्वरूपले काम गरेको हुन सक्छ । हाल प्रयोगमा रहेका खोपहरूले भने भाइरसलाई असर गर्छन् भन्ने अनुमान गरिएको छ । दक्षिण अफ्रिकी र ब्राजिली भाइरस अझ खतरनाक हुन सक्छन् किनकि यिनीहरूमा बढी संक्रामक बनाउने तथा खोप पचाउने परिवर्तनहरू भएका छन् । नयाँ भारतीय भाइरसमा भने खोपबाट पचाउन सक्ने परिवर्तन भएको छ, तर बढी संक्रामक बनाउने परिवर्तन भने नहुन सक्छ ।

के कोरोनाको दोस्रो लहर नेपाल तथा भारतमा यिनै अथवा कुनै नयाँ परिवर्तनका कारणले भएको हो त ? जवाफ स्पष्ट छैन । भारतमा अलि–अलि भाइरसहरूको सिक्वेन्सिङ गरिएको छ । पञ्जाबमा बेलायती भाइरस देखा पर्यो भने महाराष्ट्रमा भारतकै स्वरूप परिवर्तन गरेको भाइरस देखा प¥यो । नयाँ स्वरूपका भाइरसहरू अधिकांश संक्रमणमा भेटिएको पनि छैन । अझ बढी सिक्वेन्सिङ नगरी भाइरस उत्परिवर्तन भएर दोस्रो लहर सुरु भयो भन्न सक्ने अवस्था छैन । उल्लिखित दुई ठाउँका नतिजाबाट परिवर्तित भाइरसकै कारणले दोस्रो लहर आएको भन्न नमिल्ने अवस्था छ । 

एउटै परिवर्तित भाइरसका कारणले लहर आएको भए र भाइरस पहिले लागेकालाई फेरि नलाग्ने भए यति ठूलो मात्रामा संक्रमण नहुनुपर्ने थियो । दोस्रो लहरमा भाइरसको प्रकृति फरक छ भन्ने बुझाइ पनि नभएको होइन । भाइरस एकै परिवारका धेरै सदस्यलाई एकैपटक लागिरहेको, भाइरस बालबालिकालाई पनि लागेको र लक्षण पनि पहिलो लहरभन्दा फरक रहेको जनमानसमा हल्ला छ । यी बुझाइ तथ्य हुन् कि हल्लै मात्र, विस्तृत अनुसन्धान हुनु जरुरी छ । तथ्यांक अध्ययन गरेर यी बुझाइहरूको निवारण हुनुपर्ने हो । साधारणतया बालबालिकामा कोरोना भाइरस कम लाग्छ, किनकि उनीहरूमा कम एस २ रिसेप्टर हुन्छ । बेलायती उत्परिवर्तन, जुन विश्वव्यापी रूपमा फैलिएको छ, एस २ रिसेप्टरसँग अझ बलियो गरी जोडिन्छ, जसका कारणले बच्चाबच्चीमा बढी संक्रामक हुन सक्छ । यो उत्परिवर्तनले बच्चाबच्चीमा अस्पताल जाने दर भने नबढाउने केही अनुसन्धानले देखाएका छन । दर बढी नभए पनि संक्रमण नै धेरैलाई भयो भने अस्पतालमा भर्ना हुने बालबालिकाको संख्या बढी हुन सक्छ । 

अनिश्चितताको अर्को पाटो प्रतिरोधात्मक क्षमताको क्षयसँग सम्बद्ध छ । खोप लगाएमा अथवा कोरोनाको संक्रमण भएमा शरीरमा प्रतिरोधात्मक क्षमताको विकास हुन्छ । यो नियम कोरोनामा मात्र नभएर धेरै संक्रामक रोगमा लागू हुन्छ । बच्चा वेला एकपटक ठेउला लागेपछि जीवनभरि लाग्ने सम्भावना न्यून रहन्छ । त्यस्तै दादुरा र पोलियोको खोप दिएपछि यी रोगहरू जीवनभर लाग्ने सम्भावना न्यून हुन्छ । अरू कति संक्रामक रोगमा प्रतिरोधात्मक क्षमता यति लामो समयसम्म रहिरहँदैन । टिबी एकचोटि लागेर निको भए पनि फेरि लाग्न सक्छ । बिसिजी भन्ने खोप उपलब्ध छ, तर यो खोपबाट विकास भएको प्रतिरोधात्मक क्षमता छिट्टै नै क्षय हुन्छ । 

कोरोनाका सन्दर्भमा थुप्रै पक्ष अनिश्चित छन् । ६ महिनासम्म खोप प्रभावकारी रहन्छ भन्ने मानवीय परीक्षणबाट थाहा भएको छ । तर, कति समयसम्म प्रतिरोधात्मक क्षमता रहिरहन्छ निश्चित छैन । फाइजरका प्रमुखले केही समयअघि मात्र भनेका थिए, कोरोनाविरुद्ध तेस्रो डोज खोप लगाउनुपर्ने हुन सक्छ । त्यसपछि हरेक वर्ष फ्लुजस्तो खोप लगाउनुपर्ने पनि हुन सक्छ । फेरि खोपबाट विकास भएको प्रतिरोधात्मक क्षमताबाट लुक्ने भाइरसविरुद्ध नयाँ खोप विकास गर्नुपर्ने हुन सक्छ । रोग लागिसकेकाहरूमा विकास भएको प्रतिरोधात्मक क्षमताले कति समय काम गर्छ, निश्चित छैन । कमसेकम ६ महिना प्रतिरोधात्मक क्षमताले काम गर्छ भन्ने बुझाइ छ । तर, भारत र नेपालमा एउटा लहरको ६ महिना नबित्दै अर्को लहर सुरु हुनुले प्रतिरोधात्मक क्षमता लामो समय रहिरहन्न भन्ने सोचलाई बढवा दिन्छ । खोप र संक्रमणले कति समयलाई प्रतिरोधात्मक क्षमता प्रदान गर्छन्, विस्तृत अनुसन्धान हुनु बाँकी छ । 

दोस्रो लहर यति भयानक हुनुमा सतर्कताको अभाव पनि प्रमुख कारक हुन सक्छ । हामी सबै विश्वभरि कोरोनाले कति क्षति गर्यो, आँकलन गरिरहेका थियौँ । उत्तर अमेरिका, दक्षिण अमेरिका र युरोपमा कोरोना बढी घातक ठहरियो । भारत तथा नेपालमा कोरोनाको संक्रमण दर तथा मृत्युदर कैयौँ गुणा कम रह्यो । के कारणले यस्तो भयो, वैज्ञानिकहरूले अझ ठम्याउन सकेका छैनन् । हाम्रो उपमहाद्वीपमा अरू कोरोना भाइरस अथवा अरू परजीवीको संक्रमणले विकास भएको प्रतिरोधात्मक क्षमताले कोरोनाविरुद्ध रक्षा गरेको हुन सक्छ । हामी यही ठम्याउन नसकिने रक्षा प्रणालीमा बढी विश्वस्त भयौँ ।

सोहीअनुसार पहिलो लहरपछि हामीले सतर्कता अपनाउन छाड्यौँ । भारतमा निस्फिक्री रूपमा चुनावका भेला, भक्तहरूको ताँती तथा खेलकुदका दर्शकको भिड उत्रियो । लुकेर बसेको कोरोना सलबलाउने मौका पायो । पहिलो लहरताका निकै सतर्कता अपनाइएको थियो । दोस्रो लहरताका कोरोनामाथि विजय हासिल गरेझैँ जनजीवन सञ्चालन गरियो । हाम्रो अन्दाज गलत साबित भयो । उल्लिखित तिनै कारणहरूको सम्मिश्रणको फलस्वरूप हराएको कोरोनाले भयानक रूप धारण गरेको छ ।

अनिश्चितताको माझमा भोलिका दिनमा हामी के गर्न सक्छौँ त ? मेरो विचारमा कोरोनाको महामारीले आधुनिक समाजका तौरतरिकामा ठूलो प्रहार गरेको छ । कतिपय सामाजिक तथा वैज्ञानिक मान्यतालाई पुनर्विचारयोग्य बनाएको छ । त्यसैले आगामी दिनमा सकेसम्म बढी सतर्कता अपनाउनु जरुरी हुन्छ । उपलब्ध खोपहरू आयात गरेर सकेसम्म बढी जनसंख्यालाई उपलब्ध गराउनु आजको आवश्यकता हो । मास्क लगाउनु तथा भौतिक दूरी कायम राख्नु हामी सबैको दायित्व हो । हामी भारतीय उपमहाद्वीपका मानिसले आफूलाई युरोप र अमेरिका जति भयावह स्थिति अहिलेसम्म भोग्नु नपरेकोमा भाग्यमानी ठान्न सक्छौँ । आगामी दिनका हाम्रा कदम वैज्ञानिक प्रमाण आधारित हुनु अति आवश्यक छ ।

यसका लागि नेपालमा पनि महामारीको अनुसन्धान जारी राख्न अनिवार्य छ । विभिन्न देश तथा प्रान्तमा महामारीले फरक रूप लिएको छ । उदाहरणका लागि एसियामा, अफ्रिकामा र युरोपमा महामारीको स्वरूप फरक छ । एसियाकै भारत र चीनमा माहामारीको प्रकृति फरक छ । भारतभित्रै पनि महाराष्ट्र र पञ्जाबमा महामारीले फरक रूप लिएको छ । नेपाल र भारतमै पनि महामारी फरक रूपमा प्रस्तुत भएको छ । यस हिसाबले नेपालमा महामारीको समाधान खोज्न अमेरिका र भारतसँग भर परेर पुग्दैन । होला, हामी कति पाठ सिक्न सक्छौँ, तर नेपालभित्रै पनि ठुल्ठूला प्रश्न सोध्न जरुरी छ । भाइरससम्बन्धी तथ्यांक, भाइरसका भेरियन्ट सिक्वेन्सिङ, प्रतिरोधात्मक क्षमताको विकास र क्षय, पुनः संक्रमणको अवस्था आदि विषयमा अध्ययन हुनु जरुरी छ ।

(लेखक काठमाडौं विश्वविद्यालय, बायोटेक्नोलोजी विभागका उप–प्राध्यापक हुन्)

सुझावित समाचार