कम्तीमा दुई महिनालाई पुग्ने खाद्यान्न मौज्दात, उपभोक्तालाई नआत्तिन आग्रह

आइतबार, १९ बैशाख, २०७८
डिजिटल संस्करण

कोरोना भाइरस नियन्त्रणका लागि सरकारले १६ वैशाखबाट दुई साताका लागि निषेधाज्ञा गरेपछि उपभोक्ताहरू दैनिक उपभोग्य खाद्यवस्तुको मौज्दात बढाउन थालेका छन् । व्यवसायी र सरकारी निकायले भने मागअनुसार खाद्यान्न आपूर्ति गर्न कुनै समस्या नरहेकाले अनावश्यक मौज्दात नबढाउन उपभोक्तालाई आग्रह गरेका छन् ।

अनुगमनकारी निकाय वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक प्रकाश पौडेलले व्यवसायीसँग गरेको विभिन्न छलफल र नियमित अनुगमनले बजारमा खाद्यवस्तुको पर्याप्त उपलब्धता रहेको बताए । ‘अहिले खुद्रा किराना पसलमा मात्रै एक महिनालाई र थोक व्यवसायीसँग कम्तीमा दुई महिनालाई पुग्ने खाद्यवस्तुको मौज्दात रहेको देखिन्छ,’ महानिर्देशक पौडेलले भने, ‘त्यसैले उपभोक्ताले चाहिनेजति मात्रै खाद्यवस्तु खरिद गरे हुन्छ । पसलमा अनावश्यक भिड गरेर धेरै सामान किन्नुपर्दैन ।’

सरकारले निषेधाज्ञा गर्ने निर्णय गरेपछि विभागले सम्बन्धित व्यवसायीसँग छलफल गरेको थियो । त्यसक्रममा पनि व्यवसायीले खाद्यान्नको अभाव नहुने बताएका थिए । सरकारले निषेधाज्ञाको समयमा बिहान ७ देखि १० बजे र साँझ ५ देखि ७ बजेसम्म खाद्यान्न किराना पसल खुला गर्न दिएको छ । यो समयमा उपभोक्ताले धेरै सामान किन्न खोज्दा भिड बढिरहेको छ  ।

वाणिज्य विभागले बिहान र बेलुका खाद्यान्न पसलमा अनुगमन गरी अनावश्यक मौज्दातका लागि खाद्य सामग्री खरिद नगर्न उपभोक्तालाई सचेत गराइरहेको महानिर्देशक पौडेलले बताए । ‘हामीले अनुगमनका क्रममा उपभोक्तालाई बढी सामान नकिन्न आग्रह गरिरहेका छौँ । त्यस्तै दैनिक मूल्यसूचीसमेत संकलन भइरहेको छ,’ उनले भने । थोक खाद्यान्न व्यवसायीको संस्था खाद्य किराना व्यवसायी संघका अध्यक्ष देवेन्द्रभक्त प्रधानले पनि बजारमा खाद्यान्न आपूर्तिमा कुनै समस्या नरहेको बताए ।

‘चामल, दाल, तेललगायत धेरै खाद्यवस्तु नेपालमै उत्पादन भइरहेको छ । यी वस्तुको आपूर्तिमा समस्या हुने कुरै भएन,’ उनले भने, ‘थोक बजारमा अहिले पनि कम्तीमा दुई महिनालाई पुग्ने खाद्यवस्तु मौज्दात छ । आवश्यकता परे थप आपूर्ति गरेर उपभोक्ताको मागअनुसार वितरण गर्न सकिन्छ ।’ उनले अनावश्यक सञ्चय हुँदा बजारमा भइरहेको आपूर्ति प्रणालीमा असर पर्न सक्ने बताए ।

‘सबै प्रकारका खाद्यवस्तु जति चाहिने हो, त्यति मात्रै किनेर उपभोग गरे हुन्छ । अहिले नै अत्तालिनुपर्ने कुनै कारण छैन,’ प्रधानले भने । किराना पसलहरूको संस्था खुद्रा व्यापार संघका अध्यक्ष राजकुमार श्रेष्ठले पनि खाद्यान्न आपूर्तिमा समस्या नरहेको बताए । ‘उपभोक्ताहरू धेरै सामान किन्न खोजिरहेका छन् । हामीकहाँ किन्न आउनेलाई धेरै नलैजाउ भन्न पनि मिलेन,’ उनले भने, ‘तर, पछि नपाइएला कि भन्ने चिन्ता लिनुपर्दैन ।’ उनले केही खाद्यवस्तुमा मूल्यवृद्धि हुन थालेकाले नियमनकारी निकाय जागरुक हुनुपर्ने बताए । ‘अहिले चिनी र दालको मूल्यमा केही वृद्धि हुन थालेको छ । यसको कुनै कारण छैन । त्यसैले नियमनकारी निकाय सक्रिय भएर कृत्रिम मूल्यवृद्धि रोक्न पहल गर्नुपर्छ,’ अध्यक्ष श्रेष्ठले भने । उनका अनुसार चिनीको मूल्य प्रतिकिलो ५ रुपैयाँ बढेर ९० रुपैयाँसम्म पुगेको छ । त्यस्तै, दालको मूल्य प्रतिकिलो ५ देखि १० रुपैयाँसम्म बढेर आएको छ ।

खाद्यान्न आपूर्ति गरिरहेको सरकारी निकाय खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले पनि उपत्यकाको थापाथली, नख्खु, रामशाहपथ, सूर्यविनायकको बिक्री केन्द्र बिहान ७ देखि १० बजेसम्म खुलेर चामल, कर्णालीको सिमी, जुम्ली मार्सी, खाने तेल, घिउलगायत बिक्री गरिहेको सूचना अधिकारी शर्मिला न्यौपाने जानकारी दिइन् ।

आइतबारबाट ठूला थोक विक्रेताकहाँ अनुगमन
अनुगमनकारी निकाय वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले आइतबारबाट ठूला थोक खाद्यान्न विक्रेता लक्षित अनुगमन गर्ने जनाएको छ । साउन महिनादेखिको बिक्री परिमाण, बिक्री मूल्य, खरिद मूल्यलगायतका तथ्यांक लिने गरी अनुगमन हुन लागेको महानिर्देशक पौडेलले बताए । ‘केही वस्तुमा मूल्य बढेको भनेर पनि गुनासो आएका छन् । हामी सबै कुरालाई सम्बोधन गर्नेगरी थोक विक्रेताकहाँ अनुगमन गरी तथ्यांक लिन्छौँ र मूल्य तथा परिमाण नियमन गर्नेछौँ ।’ विभागले हाल खाद्य पसल खोल्ने समय बिहान र साँझ अनुगमन गरिरहेको उनले बताए । उपभोक्तालाई कुनै गुनासो भए ११३७ नम्बरमा फोन गर्न विभागले आग्रह गरेको छ । 

सुझावित समाचार