बिक्री नहुँदा दिनदिनै खेर गयो चितवनको गोलभेंडा

बिहिबार, १६ बैशाख, २०७८
डिजिटल संस्करण
बिक्री नहुँदा दिनदिनै खेर गयो चितवनको गोलभेंडा

भरतपुर महानगरपालिका– २५ अमृतनगरका लेखनाथ भुसाल बिक्री नभएपछि कुहिएको गोलभेंडा मलखातमा फाल्दै

चितवनका किसानले उत्पादन गरेको गोलभेंडा चार रुपैयाँ किलोमा समेत बिक्री नभएपछि बारीमा नै नष्ट हुन थालेको छ । किसानले लाखौँ खर्च गरेर उत्पादन गरेको गोलभेंडा सस्तोमा समेत बेच्न नसकेपछि बारीमा नै नष्ट गर्न थालेका हुन् । 

भरतपुर महानगरपालिका– २५ अमृतनगरका अनुप सुवेदीले बिक्री गर्न ठिक्क पारेको करिब दुई सय क्रेट गोलभेंडा वैैशाख पहिलो साता नष्ट गरे । व्यापारीले आफूसँग प्रसस्त गोलभेंडा भएको भनेपछि उनको उत्पादन बिक्री भएन । उनले भने, ‘बिक्री हुन्छ कि भनेर स्टोर गरेरै घरमा राखेको पनि हो । तर, गर्मीका कारण गोलभेंडा कुहिँदै जादा नष्ट गर्न बाध्य भएँ ।’ 

सुवेदीले गत पुसमा भाडाको ६ बिघा जमिनमा गोलभेंडा लगाएका थिए । फागुन अन्तिम हप्तादेखि गोलभेंडा उत्पादन हुन थाले पनि उनले एक लाखको गोलभेंडा पनि बिक्री गर्न पाएका छैनन् । ‘घाम चर्किएपछि गोलभेंडा उत्पादन पनि छिटो हुन्छ । उत्पादन धेरै हुने समयमा बिक्री गर्न पाइएन । अहिले एकपटक टिप्दा करिब पाँच गाडी गोलभेंडा संकलन हुन्थ्यो, तर बिक्री नभएकाले टिप्नै छोडेँ,’ उनले भने । 

सोही ठाउँका लेखनाथ भुसालले पनि गोलभेंडा बिक्री नभएपछि घरपालुवा जनावारलाई दिएका छन् । केही मलखातमा फालेर नष्ट गरेका छन् । उनले सोमबार बिक्रीका लागि राखिएको १० क्रेट गोलभेंडा बिक्री नभएर कुहिएपछि मलखातमा फालेर नष्ट गरेको बताए । उनले खेती गर्दै आएको ६ बिघामध्ये दुई बिघामा गोलभेंडा लगाएका थिए । त्यसमध्ये एक बिघा जमिनको गोलभेंडाले बजार पाए पनि बाँकी एक बिघाबाट लगानीसमेत उठाउन सकेनन् । 

भुसालका अनुसार नयाँ प्रविधि प्रयोग गरेर एक बिघामा गोलभेंडा लगाउँदा करिब पाँच लाखभन्दा बढी लगानी हुन्छ । पुरानै भयो भने साढे तीन लाखसम्म खर्च लाग्ने उनी बताउँछन् । बजार राम्रो भए किसानले एक बिघाबाट तीन लाखसम्म नाफा लिन सक्ने उनी बताउँछन् । तर, अहिले भारतीय गोलभेंडासँगै नेपालमा नै उत्पादन बढ्दा आफ्नो गोलभेंडा बिक्री नभएको बताए । 

भुसालकै नेतृत्वमा यस वडामा १८ वटा ब्लक बनाएर आधुनिक सामूहिक खेतीमार्फत युवाहरूले व्यावसायिक खेती गर्दै आएका छन् । यस ब्लकको ४० बिघामा यसपटक गोलभेंडा खेती भएको थियो ।

कोरोना महामारीले सिर्जना गरेको लकडाउनसँगै बन्द बजारका कारण तरकारी बिक्री नहुँदा गत वर्ष सामूहिक खेतीमा आबद्ध युवाले डेढ करोड क्षति व्यहोरेका थिए । उनीहरूले सो समयमा आश्रमहरूमा समेत निःशुल्क तरकारी वितरण गरे । लकडाउनमा करोडौँ क्षति व्यहोरेका उनीहरूको समस्या अहिले पनि जस्ताको तस्तै छ । टिप्ने खेतला खोजेर बाँड्दा थप खर्च हुने देखेर टिप्नै छाडेको उनी बताउँछन् । 

सुवेदी र भुसाल प्रतिनिधि पात्र मात्र हुन्, यहाँका किसानले उत्पादन गरेका तरकारी, तरबुजा, काँक्रो, चुकन्दर बिक्री नभएपछि नष्ट गर्दै आएका छन् । बैंक र सहकारीबाट चर्को ब्याजमा ऋण लिएर खेती गरेका नयाँ तथा पुराना कृषि उद्यमीहरू पनि कृषिको बजारीकरण देखेर निराश छन् । 

पुनः लकडाउनको हल्लाले गोलभेंडा खेतीबाट घाटा खाएका किसान केही समय जमिन खाली राख्ने सोचमा रहेकोसमेत बताउँछन् । तर, जिल्लाका सरकारी कार्यालयहरूले किसानको पीरमर्का बुझ्ने र राहतका लागि केही काम नगरेको उनीहरूको गुनासो छ । 

‘मल नपाएर कालोबजारीमार्फत आएको महँगो मल खरिद गरेर उत्पादन गरेको गोलभेंडाले बजार नपाउँदा उत्पादन लागतसमेत उठेको छैन,’ भरतपुर– २५ का कृषक कृष्णप्रसाद न्यौपानेले भने, ‘सरकारले बिउ, मल, प्राविधिक र प्रविधिमा सहयोग गरे उत्पादन लागत निकै सस्तो हुन्थ्यो । छिमेकी देश भारतमा नेपालको भन्दा आधा खर्चमा उत्पादन हुने गोलभेंडा नेपालमा भने लागत नै महँगो छ । उत्पादन धेरै हुँदा बजार झन् भद्रगोल छ ।’

उनका अनुसार एक केजी गोलभेंडा उत्पादन गर्द १५ देखि २० रुपैयाँ खर्च हुन्छ । किसानले बिक्री नभएर फाल्नुपर्ने अवस्था भए पनि बजारमा प्रतिकेजी २० देखि ३५ रुपैयाँसम्ममा उपभोत्ताले खरिद गर्छन् । 

चितवनमा यो समयमा मात्र करिब १५ सय बिघामा गोलभेंडा खेती भएको कृषि ज्ञान केन्द्र चितवनका प्रमुख राजन ढकालले जानकारी दिए । चिसो घटेर तापक्रम बढ्दै जाँदा गोलभेंडाको उत्पादन बढेकाले यो समस्या भएको उनी बताउँछन् । ‘एकैपटक उत्पादन बढ्दा गोलभेंडाको मूल्य घट्नेछ भने किसानलाई थप समस्या परेको छ,’ उनले भने, ‘बजार मात्र होइन उत्पादन प्रणालीसमेत व्यवस्थित नभएकाले यो समस्या आएको हो । हामीसँग प्रशोधन पूर्वधार पनि छैन । बजारको सन्तुलन नमिल्दा यस्तो समस्या भोग्न किसान बाध्य हुनुहुन्छ ।’ खुला बजारका कारण भारतीय गोलभेंडा पनि भित्रिने गरेको उनी स्वीकार गर्छन् ।

सुझावित समाचार