ओखलढुंगामा पाइप बम फेला परेको छ । जिल्लाको खिजीदेम्बा गाउँपालिकाको वडा नम्बर ७ र ८ को सिमानामा पर्ने गुन्छा खोलामा पाइप बम फेला परको हो । घाँस काट्न जाँदा शंकास्पद वस्तु देखेपछि स्थानीयले प्रहरी चौकी रावादोलुमा खबर गरेका थिए ।
बम भेटिएको खबर आएपछि प्रहरी चौकी रावादोलुबाट खटिएको प्रहरी टोली घटनास्थलमा पुगेर अनुसन्धान गरेर प्लास्टिकले बेरेको अवस्थामा पाइप बम १ थान र अन्य २ थान शंकास्पद वस्तु पहिचान गरेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरिक्षक शिव कट्टेलले जानकारी दिए ।
जिल्लाबाट प्रहरी निरीक्षक लंकबहादुर श्रेष्ठको कमान्डमा पाँचजना प्रहरी र अरिदमन गण ओखलढुंगाबाट क्याप्टेन फत्तनारायण श्रेष्ठको कमान्डमा गएको नाैजनाको डिस्पोजल टोलीले उक्त बम डिस्पोज गरेको छ । ‘निकै पुरानो बम रहेछ । सुरुमा डिस्पोज गर्न समस्या भयो, पछि त्यो क्षेत्रमा एउटा तरंग दिने गरी पड्कियो । सायद द्वन्द्वको समयमा राखिएको बम हो । यत्तिको शक्तिशाली बम त्यो वेला मात्रै राखिन्थ्यो ।’
प्रहरी निरीक्षक लंकबहादुर श्रेष्ठले भने, ‘यत्तिका दिनसम्म किन देखिएन, फेरि बाहिरै देखियो । त्यो क्षेत्रमा अरू पनि हुन सक्छन् । सतर्क रहन आवश्यक देखियो ।’ कतै त्यस्तो शंकास्पद वस्तु देखेमा नचलाई, नछोई तत्काल प्रहरीलाई खबर गर्न जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले आग्रह गरेको छ ।