लालसलामबाट रामसलाम

बहस

बुधबार, १५ बैशाख, २०७८
डिजिटल संस्करण

अहिले प्रधानमन्त्रीलाई पुरानो इतिहास र कम्युनिस्ट पार्टीबाट मुक्त हुनुपरेको छ, त्यसैले लालसलामबाट रामसलाम भन्दै उनलाई अरूलाई भन्दा ज्यादा धार्मिक देखिनुपरेको छ

छिमेकी भारतको उत्तर प्रदेशको राजधानी लखनउलाई अचेल ‘लासनाउ’ भनिन थालेको छ, कोभिड–१९को संक्रमणबाट ज्यान गुमाउनेको लासको लाइनका कारण । कुम्भको स्नान कोरोनाको हटस्पट बन्यो । भाइरसलाई भिसा चाहिने होइन । कुम्भकै सम्भवतः सबैभन्दा नजिकको नेपालको सहर नेपालगन्जको भयावहता रामभरोसे हुँदै छ । तर, धर्मनिरपेक्ष देशका ‘कम्युनिस्ट’ प्रधानमन्त्री केपी शर्मा ओली भने ‘भगवान् राम’ जन्मेको दाबी गर्दै माडीको अयोध्यापुरीमा रामनवमीका दिन ‘भगवान्’ राम, सीता तथा लक्ष्मण र हनुमानको मूर्ति स्थापना गर्न व्यस्त थिए । चढाएको ‘पवित्र जल’ देशमा वितरण भइरहेको छ । माहामारी सुनामी बन्दै आइसकेको वेला आफैँले तयार गरेको सावधानीको मानक सरकार पालन गर्दैन । इतिहासबाट शिक्षा लिनुको विपरीत तयारीको उदासीनताको फल अहिले भोग्नु पर्दै छ । सामान्यजनले कोसँग आशा गर्ने ? कसलाई विश्वास गर्ने ?

करिब दुई हजार वर्षअघि रोमन दार्शनिक लुसियस सेनेका (इ.पू. ४ – इस्वी ६५) को भनाइ आज पनि उत्तिकै सान्दर्भिक छ । कुख्यात राजा निरोका गुरु सेनेका भन्छन्, ‘धर्मलाई सामान्य मानिसले पत्याउँछ, चेतना विकास भएको मानिसले बहिष्कार गर्छ र राजनीतिज्ञले उपयोग गर्छ ।’ दार्शनिक एवं आध्यात्मिक लेखक जे.एन. कृष्णमूर्ति पनि भन्ने गर्थे, ‘जबसम्म मान्छे संगठित धर्म र राष्ट्रियता–राष्ट्रवाद जस्ता विभाजनकारी शक्तिलाई बुझेर मुक्त हुन सक्दैनन्, तबसम्म आफ्नो चेतनामा फेरबदल गर्न सक्दैनन्, समाज पनि फेरिँदैन ।’ 

दार्शनिकहरू आफ्नै गुरुका तर्क काटेर नयाँ तर्क स्थापित गराउँदै जान्छन् । एउटा योग्य गुरु आफ्नो विद्यार्थीले नै आफूलाई उछिनोस्, अझ योग्य बनोस् भन्ने सोच्छ । तर, धर्माधिकारी र नेताहरू भने अनुयायीका तर्कमा नभई विश्वासमा जोड दिन्छन्, तर्कसँग जोगिन्छन् । अनेकौँ पाखण्ड गर्र्दै आफूसमान नहोस् भन्ने अभिप्राय राख्छन् ।

मिथक इतिहास होइन : अहिले मिथकलाई इतिहास साबित गर्ने र हकवाला बन्ने होडबाजी छ । अयोध्यापुरी न त कुनै वैदिक ग्रन्थमा उल्लेख छ, न पुरातात्विक खोजमै केही फेला परेको छ । मात्र प्रधानमन्त्रीको बोलीलाई औचित्यपूर्ण साबित गर्न अहिले केही ‘प्राज्ञिक’ अभ्यास हुँदै छन् । प्रतीक जहाँ पनि बन्न सक्छन् । पशुपति अन्यत्र बन्दैन, न त कुम्भ अन्यत्र । मस्जिद जहाँ पनि बन्न सक्छन्, तर कावा बन्दैनन् । चर्चहरू जहाँ बने पनि भेटिकन बन्दैनन् । गौतम बुद्ध इतिहासले प्रमाणित गरेका र लुम्बिनी पुरातात्विक खोजबाट प्रमाणित थलो हो । भारतले उत्तरप्रदेश, सिद्धार्थनगरको पिप्रहवा (वास्तविक लुम्बिनीबाट सडकमार्ग दूरी ६३.५ किलोमिटर छ भने हवाई दूरी लगभग ८.९ किमि)लाई बुद्ध जन्मस्थल भनेर मिथ्या विश्वास फैलाउँदै छ । आधुनिक राज्य र राष्ट्र बन्नु पहिले आजको जस्तो राज्य–सीमा थिएन । अझ भारत स्वतन्त्र हुँदा पाँच सय ५२ रजौटा थिए । आधुनिक राज्य–राष्ट्रको जन्मसँगै कुन भूगोल, कुन भू–भागमा पर्छ, आजको इतिहास चेतले धारणा बनाउन सकिँदैन ।

रामायण र माहाभारत शक्तिशाली वैदिक साहित्य हुन्, मिथक हुन् । मिथक इतिहास हुँदैन । मिथकमा सुन्दर कल्पना, लेखकीय आग्रह, अपिल, भावना र चिन्तन संग्रह हुन्छन् । तत्कालीन शक्तिसंघर्ष, उत्पादनका साधन, स्रोत र सम्बन्धले विचार निर्माणमा प्रभाव पारेका हुन्छन् । कालान्तरमा कैयौँले त्यसलाई धर्मको रूप र सन्देश पनि मान्छन् । धर्मलाई भावना, आस्था र विश्वास चाहिन्छ भने दर्शनलाई तर्क, इतिहास र विज्ञानलाई प्रमाण । भावनामा टिकेर आफूलाई श्रेष्ठ साबित गर्न धार्मिक जन पूर्वकालको महिमामण्डन गर्छन् भने विज्ञानलाई नित्य नयाँ र भविष्यमुखी हुन अनिवार्य हुन्छ । विज्ञानमा चमत्कार हुँदैन, आफ्नै प्रमाणलाई अध्ययन, खोज, अनुसन्धानमा भएका विकास र आविष्कारलाई अघि बढाउँदै लैजान्छ । तब पुराना विश्वाससमेत भत्काउँदै नयाँले ठाउँ लिँदै जान्छन् । दार्शनिकहरू भने आफ्नै गुरुका तर्क काटेर नयाँ तर्क स्थापित गराउँदै जान्छन् । एउटा योग्य गुरु आफ्नो विद्यार्थीले नै आफूलाई उछिनोस्, अझ योग्य बनोस् भन्ने सोच्छ । तर, धर्माधिकारी र नेताहरू भने अनुयायीको तर्कमा नभई विश्वासमा जोड दिन्छन्, तर्कसँग जोगिन्छन् । अनेकौँ पाखण्ड गर्र्दै आफूसमान नहोस् भन्ने अभिप्राय राख्छन्।

ज्ञान र जिज्ञासा समृद्ध हुँदै जाँदा विज्ञानको क्षेत्रफल व्यापक हुँँदै गयो । चन्द्रमामा मान्छे पुगिसके । यसले भौतिक जीव, जगत् मात्र नभएर पृथ्वीको सीमा काट्दै अन्तरिक्ष पार गरी ब्रह्माण्डमा प्रवेश गरेर सोचलाई फराकिलो बनाउँदै गयो । स्टेफेन हकिङ्सले कल्पनामा रहेका ब्रह्माण्डका कैयन् रहस्य खोलिदिए । अन्य रहस्यको अनुसन्धानमा विज्ञान निरन्तर यात्रा गर्दै छ । हकिङ्सले सूचना क्रान्तिसँगै वैज्ञानिक आधारमा ईश्वर छैनन् भनेर प्रमाणित गरे । नेताहरू भने भगवान् र धर्मको नाममा उन्माद फैलाउँदै आज्ञाकारी नागरिक तयार गरेर सत्ता हत्याउँदै छन् । मिथक वा आदर्शवादले अस्तित्व जोगाउन पनि विज्ञान र प्रविधिलाई अस्वीकार गर्न सकेनन् । विज्ञान धर्मबेगर बाँच्न सक्ने भो, तर धर्म विज्ञानबेगर एकछिन पनि टिक्न सकेन । कुम्भ भर्न गएका पूर्वराजा र रानी कोरोना दूत बनेर देश फर्किएर अस्पतालमा छन् । समय घर्केर अस्पताल शरण लिएका महामण्डलेश्वर बाँच्न सकेनन् । 

धर्म र अन्धराष्ट्रवादको आधार वर्चस्वशालीको भयदोहन र आवेग बढाउने औजार बन्यो । वैज्ञानिक चेतनाबेगर ज्ञानको क्षेत्रफल फैलिँदैन । शरीरका अरू अंगलाई छुट्टी भए पनि मस्तिष्कलाई हुँदैन । धर्म विश्वासमा टिक्छ भने विज्ञान प्रयोगबाट सिद्ध हुनुपर्छ । प्रश्न, जिज्ञासा र तर्क धर्मका दुस्मन हुन् । जुन समाजमा प्रश्न उठाउने हिम्मत हुँदैन, त्यो सत्यनजिक पुग्नै सक्दैन ।

के प्रधानमन्त्रीको विश्वास फेरिएको हो ? : मुलुकको संविधानले नेपाल धर्मनिरपेक्ष राष्ट्र भन्छ । सत्ता ‘कम्युनिस्ट’ पार्टीले चलाएको छ । कम्युनिस्ट बन्दै वर्गसंघर्षका कारण १४ वर्ष जेल बसिसकेका प्रधानमन्त्री १४ वर्ष वनवासी रामको शरणमा पुगे । बहुजातीय, बहुसांस्कृतिक र बहुधार्मिक देशमा धर्म राज्यप्रायोजित विषय बन्यो । धर्मलाई हामीले संस्कार संस्कृतिसँग घोलमेल गरेर यति सरल बनाइदियौँ कि त्यसका लागि मानसिक र आध्यात्मिक श्रम गर्नैपरेन । भीडमा अन्य धर्मलाई घृणा गरे पुग्ने भयो । आधुनिक युगको सुरुवात धर्मको नियन्त्रणबाट राज्यलाई अलग्याउँदै भएको थियो । त्यसपछि ज्ञानको विस्तार, आविष्कारको थालनी हुँदै गए । संसारले मान्छेको अन्तर्निहित क्षमता चिन्न पायो । विज्ञानले रहस्यमा रहेका अनेकौँ विषयको पर्दाफास गर्दै गयो । धर्म र लोकतन्त्र सँगै जान सक्दैन । त्यसैले धर्म र अन्धराष्ट्रवादको आधार वर्चस्वशालीको भयदोहन र आवेग बढाउने औजार बन्यो । वैज्ञानिक चेतनाबेगर ज्ञानको क्षेत्रफल फैलिँदैन । शरीरका अरू अंगलाई छुट्टी भए पनि मस्तिष्कलाई हुँदैन । धर्म विश्वासमा टिक्छ भने विज्ञान प्रयोगबाट सिद्ध हुनुपर्छ । प्रश्न, जिज्ञासा र तर्क धर्मका दुस्मन हुन् । जुन समाजमा प्रश्न उठाउने हिम्मत हुँदैन, त्यो सत्यनजिक पुग्नै सक्दैन । 

नेकपा (एमाले) अध्यक्षले निर्वाचन परिणामको तुरुन्तै पछाडि १५ फागुन ०७४ मा एक दैनिक पत्रिकालाई अन्तर्वार्ता दिँदै भनेका थिए, ‘साम्यवाद रमाइलो कल्पना मात्रै हो । एमाले र माओवादी केन्द्र मिलेर बन्ने पार्टी कम्युनिस्ट र वामपन्थी दुवै हुनेछैन ।’ अहिले प्रधानमन्त्रीलाई पुरानो इतिहास र कम्युनिस्ट पार्टीबाट मुक्त हुनुपरेको छ । त्यसैले लालसलामबाट रामसलाम भन्दै उनलाई अरूलाई भन्दा ज्यादा धार्मिक देखिनुपरेको छ । गुगलब्वाइको महिमा, होली वाइनको गरिमा, पशुपतिको क्षमापूजा र त्यसैको निरन्तरता अयोध्यापुरीको ‘राम जन्मस्थली’ले दिएको सन्देश भनेको वर्चस्वशाली तप्काबाट र भीडबाट विश्वास आर्जन गर्नु हो । अब प्रश्न उठछ, ‘के कम्युनिस्ट अध्यक्षको विचार र विश्वास फेरिएकै हो ? द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवाद र अध्यात्मवाद एउटै हुन् ?’ प्रधानमन्त्रीको समस्या भनेको पुरानालाई चटक्कै छोड्न पनि नसक्नु, नयाँलाई मन, वचन र कर्मले स्विकार्न पनि नसक्ने द्वैध मानसिकता हो । लोकप्रियता खोज्दा प्रधानमन्त्री कम्युनिस्ट र वामपन्थी दुवै नरहने भन्ने पूर्वमान्यता लागू गर्ने जोखिम उठाउनबाट भने जोगिँदै छन् ।

लोकप्रियतावाद जनतालाई भीडमा फेर्ने अभ्यासमा शासकलाई अन्य विषय सामान्य बनेर धार्मिक विषय र अहंकार पहिलो एजेन्डामा पर्छन् । तर, इतिहास र भविष्यले भने हामीलाई नियालिरहेको हुन्छ । आन्दोलन सूत्रमा हाँकिदैन, विषय ध्यान हटाउन नयाँ विषय थुपुक्क राख्नुपर्छ । डरबाट त निक्लन सकिन्छ, तर लोभ र अहंकारबाट भने निक्लन सकिँदैन । हिन्दुत्वका पनि आ–आफ्ना परिभाषा छन् । भारतीय जनता पार्टीको मूल संगठन राष्ट्रिय स्वयंसेवक संघ (आरएसएस)को हिन्दुत्व र शंकराचार्य एवं अन्य सनातनीको हिन्दुत्वमा फरक छ । 

प्रतीकलाई वैधानिकता दिँदै जाँदा : आरएसएसको अखण्ड भारत सय वर्षीय परियोजना पूरा हुन अब चार वर्ष मात्र (१९२५—२०२५) बाँकी छ । इतिहासका पाठकले आजको अवस्थामा वा आग्रहले अध्ययन गर्न सक्दैनन् । आजको राजनीतिक सीमांकनले मानव विकासको तत्कालीन भूगोल, चिन्तन, अभ्यासको निष्कर्ष निकाल्न सकिँदैन । इतिहासले अतीतजीवी हुन प्रोत्साहन गर्दैन, बरु विगतबाट सिकेर उन्नत चेतले वर्तमानमा निर्णय लिने क्षमता विकास गर्दै भविष्यको सुन्दर चित्र कोर्छ । राज्य, राष्ट्र, राष्ट्रियता देशभक्तिका कुरा समयसँगै परिभाषा फेरिँदै जान्छन् । अहिले आरएसएसभित्र अखण्ड भारत चर्चा जोडले चल्दै छ । डियन ओकको इतिहासको पुनःअध्ययन र दीनानाथ वात्राको अखण्ड भारत (अफगानिस्तानदेखि म्यानमारसम्म, तिब्बतदेखि हिन्द महासागरसम्म)को भूमिका प्रधानमन्त्री नरेन्द्र मोदीले लेखे । गुजराती स्कुलमा अध्ययन गराइन्छ । विवादित थलो अयोध्यामा राममन्दिर शिलान्यास भयो । त्यस्तै, कट्टरपन्थी मुसलमानलाई खुसी पार्न हागिया सोफिया म्युजियमलाई टर्कीका राष्ट्रपति एर्दोगानले मस्जिदमा परिणत गरिदिए । जुनसुकै आवरणमा रहेका दक्षिणपन्थी शासकलाई कोरोनाकाल अवसर बन्यो । तत्कालीन अमेरिकी राष्ट्रपति ट्रम्प अगुवा बनेका थिए । उस्तै–उस्तै चरित्रका ब्राजिलका जायर बोल्सोनारो, हंगेरीका भिक्टर अर्वानले इसाई ‘महानता’को राजकीय अभ्यास गरे । संकीर्ण राष्ट्रवाद, वर्चस्वशाली समुदायको आधिपत्य, अधिनायकवादी शासनशैली र बहुसंस्कृतिविरोधी क्रियाकलापलाई आफ्नो राजनीतिक अभीष्ट बनाए । तर, जुन कारणबाट समस्या घर्काउन अन्यत्र उग्र दक्षिणपन्थको नेतृत्वले पायो, त्यो सुविधा ‘कम्युनिस्ट’ प्रधानमन्त्रीलाई छैन । त्यहाँ वर्चस्वशाली समूहको उग्रपन्थी धारा धेरै पहिलादेखि सांस्कृतिक श्रेष्ठताको आधार तयार गरिरहेका थिए । अनुकूल अवस्थामा मान्छेका स्वभाव देखिन सक्छ । सेकुलर भनेर हुँदैन, त्यसको प्रयोग राजकीय आचरणमा कसरी भयो भन्ने हुन्छ । 

अन्तमा, 
हिन्दू, मुस्लिम, इसाई, यहुदी कट्टरपन्थी भक्तजनका प्रार्थनास्थल फरक हुन्छन्, धार्मिक ग्रन्थ पनि फरक तर सोच र संस्कृति भने एउटै । अझ कर्मकाण्डी कम्युनिस्टको बखान गरिसाध्यै छैन । कसरी एउटा लाल क्षेत्र पहेँलपुर बन्न सक्छ ? तीन दशक ‘कम्युनिस्ट राज’ भएको भारतको पश्चिम बंगालको जारी चुनाव नियाले पुग्छ । कसरी अध्यात्मवाद र भौतिकवादको एकैपटक अनुयायी बनेर लालसलामलाई रामसलाममा फेर्न सक्छ । प्रसिद्ध भारतीय व्यंग्यकार हरिशंकर परसाई भन्छन्, ‘केही मान्छे अत्यन्तै चतुर हुन्छन् । उनीहरू सामूहिक पतनमा पनि निजी गौरवको मुद्दा खोजिहाल्छन् र आफ्नो पतनलाई पनि सामूहिक पतन भनेर उम्कन्छन् । आफ्ना अपराध र कमजोरीमा अर्कालाई पनि सामेल गराइए त्यसले सार्वजनिक मान्यता पाउँछ भन्ने सोच राख्छन् ।’ महामारीमा राज्यको प्राथमिकता के थियो र हो ? आस्था व्यक्ति र समाजको हुन्छ । जब व्यक्ति र समाज नै बाँच्दैनन् तब आस्थाले के गर्छ ? जब व्यक्ति बाँच्छ, समाज सुरक्षित हुन्छ, तब न धर्म रहन्छ । स्वर्ग जान चाहने मान्छे पनि मर्न भने चाहँदैन, अस्पतालको शरणमा पुग्छ । धर्म तबसम्म मात्रै हुन्छ, जबसम्म उसलाई मान्नेवाला रहन्छन् ।
 

सुझावित समाचार