पर्सामा बिहीबारदेखि एक साता निषेधाज्ञा गर्ने निर्णय

मंगलबार, १४ बैशाख, २०७८
डिजिटल संस्करण

बिहीबार बिहानदेखि लागू हुने गरी पर्सामा एक साताका लागि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको छ । मंगलबार बसेको जिल्लास्तरीय कोभिड संकट व्यवस्थापन केन्द्रको बैठकले कोरोना संक्रमणको दर तीव्र गतिले बढेपछि यसको रोकथामका लागि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो । 

पर्सा जिल्लाभर  बिहीबार बिहान ४ बजेदेखि वैशाख २२ गते मध्यरात १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गर्नका लागि प्रमुख जिल्ला अधिकारीलाई सिफारिस गरिएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलले बताए । 

‘यही सिफारिसका आधारमा अब प्रमुख जिल्ला अधिकारी पीताम्बर घिमिरेले सार्वजनिक सूचना जारी गरी निषेधाज्ञा जारी गर्नुहुनेछ,’ पौडेलले भने । यसैगरी सीमानाकाबाट नेपाल प्रवेश गर्ने यात्रुहरूको व्यवस्थापनका लागि ठाकुरराम बहुमुखी क्याम्पसमा होल्डिङ सेन्टर स्थापना गर्ने र त्यसको व्यवस्थापनको जिम्मा नेपाली सेनालाई दिने निर्णय बैठकले गरेको छ ।

साथै कम्तीमा दुई दुई सय बेड क्षमतासम्मको कोभिड– १९ संक्रमितको उपचारका लागि डेडिकेटेड अस्पताल स्थापना एवं सञ्चालन गर्ने व्यवस्थाका लागि प्रदेश २ सरकारलाई अनुरोध गर्ने निर्णयसमेत भएको उनले बताए ।

यस्तै, विदेशबाट आएका नागरिकहरूलाई प्रत्येक पालिकाहरूले आइसोलेसन वा होम आइसोलेसनमा कम्तीमा दश दिन राख्नुपर्ने, सीमानाकाबाट नेपाल प्रवेश गर्ने यात्रुहरू राख्नका लागि वीरगन्जको ठाकुरराम क्याम्पसलाई होल्डिङ सेन्टर बनाउने र वीरगन्जको नेसनल मेडिकल कलेजलाई सरकारले तोकेको मापदण्डमा रही कोरोना संक्रमितको उपचार गर्न–गराउन लगाउनेलगायतका निर्णय भएको छ ।

सुझावित समाचार