मलेसियन अटोमोबाइल कम्पनी प्रोटोनको उत्पादन एसयुभी ‘एक्स७०’ गाडी नेपाल भित्रिएको छ । शंकर ग्रुपअन्तर्गत रहेको जगदम्बा मोटर्स प्रालिले वैशाख १५ देखि प्रोटोन एक्स७० बिक्री सुरु गर्ने तयारीका साथ गाडी भित्र्याएको हो ।
टिभिएस ब्रान्डको बाइक तथा स्कुटर बिक्री गर्दै आइरहेको जगदम्बा मोटर्सले गत पुसमा प्रोटोन गाडी बिक्री सुरु गर्दै चारपांग्रे बजारमा प्रवेश गरेको हो । यसअघि ०६६ सालतिर कन्स्ट्यान्ट बिजनेस ग्रुपले प्रोटोनको सेडान कार ‘सागा’ नेपाली बजारमा भित्र्याएको थियो । त्यतिवेला १ सय २५ भन्दा बढी गाडी बिक्री भएको जनाइएको छ । तर, कम्पनीले बीचमै गाडी बिक्री गर्न छाडेपछि प्रोटोन नेपाल भित्रिन छाडेको थियो । पछिल्लो समय शंकर समूहले प्रोटोन गाडी पुनः नेपाली बजारमा भित्र्याएको हो ।
प्रोटोन एक्स७० गाडी १५ सय सिसी टिजिडिआई टर्बो चाज्र्ड पेट्रोल इन्जिनमा उपलब्ध हुने जनाइएको छ । जगदम्बा मोटर्सका सहायक महाप्रबन्धक विवेक बलामीका अनुसार एक्स७० गाडीको इन्जिन र ट्रान्समिसन स्विडिस कम्पनी भोल्भोले बनाएको हो । यसमा ७ स्पिड डुअल क्लच ट्रान्समिसन रहेको छ ।
नेपाली बजारमा एक्स७० स्ट्यान्डर्ड टू ह्विल ड्राइभ, एक्जुकेटिभ टू ह्विल ड्राइभ, एक्जुकेटिभ अल ह्विल ड्राइभ र प्रिमियम टू ह्विल ड्राइभ भेरियन्टमा उपलब्ध हुने उनले जानकारी दिए ।
आकर्षक डिजाइन र उत्कृष्ट फिचरले सुसज्जित प्रोटोन एक्स७० सुरक्षाका हिसाबले पनि अब्बल रहेको बलामीले बताए । गाडीमा अगाडि र साइडमा गरी ६ वटा एयरब्याग रहेका छन् । यस्तै, गाडीमा एबिएस, इबिडी, ब्रेक एसिस्ट, अटो ब्रेक होल्ड, अटोनोमस इमर्जेन्सी ब्रेक, क्रुज कन्ट्रोल, डोर वार्निङ, इन्टेलिजेन्ट्स हाई बिम कन्ट्रोल, टायर प्रेसर मोनिटर, फ्रन्ट र रियर पार्किङसेन्सरलगायत दर्जनौँ सुरक्षा विशेषताहरू रहेका छन् । यो गाडीको मूल्य करिब ९० लाख रुपैयाँबाट सुरु हुने अनुमान गरिएको छ ।
३६ वर्षको इतिहास बोकेको मलेसियन ब्रान्ड प्रोटोनको इतिहास पल्टाउँदा यसले पहिलो कार ‘सागा’ सन् १९८५ मा बजारमा ल्याएको थियो । त्यसपछि कम्पनीले सन् १९९२ मा सागा इस्वारा, १९९३ मा प्रोटोन वाइरा, १९९४ मा प्रोटोन सतरिया र १९९६ मा प्रोटोनपुत्र कुपे बजारमा ल्यायो, जसमध्ये पछिल्ला दुई संस्करण एसिया र युरोपमा राम्रो बिक्री भएको कम्पनीको दाबी छ । कम्पनीले १९९५ मा प्रोटोन परदाना र १९९६ मा प्रोटोन टिअरा सार्वजनिक गरेर नब्बेकै दशकमा थप २ मोडलका गाडी पनि बजारमा ल्याएको थियो ।