परीक्षाअघि नै प्रश्नपत्र आउट गराउने पूर्वाञ्चल विश्वविद्यालयका एक कर्मचारीसहित नौजना विद्यार्थीलाई प्रहरीले पक्राउ गरेकाे छ । पूर्वाञ्चल विश्वविद्यालयको मोरङ गोठगाउँमा ३ वैशाखमा सम्पन्न इन्जिनियरिङ संकायतर्फको बिई दोस्रो सेमेस्टरको फिजिक्स विषयको परीक्षाको प्रश्नपत्र आउट गरेको आरोपमा मोरङ प्रहरीले फोटोकपी गर्ने एक कर्मचारीसहित आठजना विद्यार्थी र एकजना पूर्वविद्यार्थीलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरूमा विराटनगर– ८ का ४४ वर्षीय कोमलप्रसाद गौतम, संखुवासभा मादी नगरपालिका– ६ का ३५ वर्षीय गोपाल कार्की, रुपन्देही तिलोचन नगरपालिका– १२ का ३० वर्षीय विजय पोखरेल, गोर्खा भीमसेन थापा गाउँपालिका– १ का ३२ वर्षीय मीनप्रसाद, गोरखा गण्डागी गाउँपालिका– ३ का ३१ वर्षीय भरत पठन, गोरखा नगरपालिका– ४ का २६ वर्षीय विकास खड्का, सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका– ४ का २८ वर्षीय निर्मल खड्का र महोत्तरी रामगोपालपुर नगरपालिका– ९ बस्ने २९ वर्षीय नानिपथ मण्डल अनि सप्तरी वोदेबरसाइन नगरपालिका– ७ बस्ने २९ वर्षीय जीवनकुमार यादव, सप्तरी अग्निसायर कृष्णसवरण गाउँपालिका– ५ घर भई भक्तपुर लोकन्थली बस्ने २६ वर्षीय महेश यादव छन् ।
मोरङ प्रहरी प्रवक्ता डिएसपी मन्जिल मुकारुङका अनुसार पक्राउ परेकाहरूमध्ये कोमल गौतम विश्वविद्यालयको विराटनगरस्थित परीक्षा नियन्त्रण कार्यालयमा फोटोकपी गर्ने सहायक कर्मचारी हुन् । उनले पूर्वविद्यार्थी गोपाल कार्की र विद्यार्थी विवेक पोखरेलसँग मिलेमतो गरेर परीक्षा दिने अघिल्लो दिन साँझ नै प्रश्नपत्रको फोटोकपी सामाजिक सञ्जालमार्फत आउट गराएका थिए ।
अनुसन्धानअनुसार पूर्वविद्यार्थी गोपाल कार्कीले विद्यार्थी विवेक पोखरेलसँग ८० हजारमा प्रश्नपत्र आउट गराउने डिल गरेका थिए । र, सोही रकमको आधारमा कर्मचारी गौतमलाई प्रलोभनमा पारेका थिए । विद्यार्थी विवेकले चाहिँ अन्य विद्यार्थीसँगप्रति विद्यार्थी २० हजारसम्म लिएर आउट भएको प्रश्नपत्र दिएका थिए ।
प्रश्नपत्र आउट भएको जानकारी पाएपछि विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालयले हतारमा अर्के प्रश्नपत्र निर्माण गरेर परीक्षा सम्पन्न गराएको थियो । त्यसपछि प्रमुख परीक्षा नियन्त्रण सूर्य संग्रौलाले अनुसन्धानका लागि प्रहरीमा निवेदन गरेका थिए । मोरङ प्रहरीले घटनालाई विशेष टोली खटाएर अनुसन्धान गराएको थियो । पक्राउ परेका सबैलाई शिक्षा ऐन, २०२८ बमोजिम अदालतमा म्याद थप गराएर हिरासतमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।