कोभिड दोस्रो लहरको त्रासले नेप्सेमा दुई महिनायताकै उच्च गिरावट

‘प्यानिक सेल’ले कारोबार रकम बढ्यो

सोमबार, १३ बैशाख, २०७८
डिजिटल संस्करण

कोभिडको दोस्रो संक्रमणले मुलुकमा समेत भयावह स्थिति आउने अनुमान चलिरहँदा र मुलुक पुनः लकडाउनमा गए अर्थतन्त्रमा प्रभाव पर्ने आकलनबीच सेयर बजारका लगानीकर्तामा पनि त्रास देखिएको छ ।  परिणामतः साताको पहिलो कारोबारमै नेप्से परिसूचक दुई महिनायताकै उच्चदरमा घटेको छ । आइतबार नेप्से परिसूचक ७५ दशमलव ७९ अंकले घटेर २ हजार ५ सय ७२ दशमलव २१ बिन्दुमा पुगेको छ । यसअघि गत ११ फागुनमा एकै दिन ७९ दशमलव ७४ अंकले नेप्से घटेको थियो ।  

‘गत वर्ष देखिएको कोभिड र लकडाउनले पारेको असर कम भएर अर्थतन्त्र पुरानै लयमा फर्किन लागेको थियो, तर फेरि समस्या आउने हो कि भन्ने त्रासमा लगानीकर्ता रहेका छन्,’ एक ब्रोकरले भने, ‘वित्तीय क्षेत्रहरूले अहिले राम्रै प्रतिफल दिन सक्ने अवस्थामै छन् र मूल्य पनि कम छ, तर यही चिन्ताले यो क्षेत्रका लगानीकर्तामा त्रास देखिएको हुन सक्छ ।’ राष्ट्र बैंकले गत वर्षदेखि दिएको नीतिगत सहुलियत (कर्जा पुनर्संरचना) ले तत्काललाई राहत दिएको भए पनि अबका दिनमा फेरि यस्ता राहत दिन कत्तिको सम्भव हुन्छ भन्ने द्विविधाले बैंकिङ क्षेत्रका लगानीकर्ता त्रसित भइरहेको उनको भनाइ छ । 
बजारका अन्य समूहमा पनि धेरैजसो कम सेयर संख्या भएकै कारण बजार मूल्यमा हुने परिवर्तनकै लागि मात्र कारोबार हुने गरेकाले पनि त्यस्ता सेयरमा समेत लगानीकर्ता त्रसित हुन थालेका छन् । यद्यपि, यस्ता सेयरमा उच्च उतारचढाव हुने अपेक्षाले धेरै घटेको छैन । 

‘विद्युत् उत्पादन नै नभएका जलविद्युत्, १० प्रतिशतभन्दा पनि कम लाभांश क्षमताका नयाँ बिमा कम्पनीहरूको मूल्य उच्च भए पनि धेरै घटेको छैन,’ ती ब्रोकरले भने, ‘कम्पनीले दिने लाभांशका लागि नभई यी कम्पनीहरूको बजार मूल्यबाट हुने लाभका लागि कारोबार गरिने भएकाले पनि अझै यसमा लगानीकर्ता अडिएका छन् ।’बैंकहरूको ब्याजदरमा खासै परिवर्तन नदेखिएको, लगानी क्षेत्रहरूको अभाव फेरि पनि देखिन सक्ने हुनाले लाभांश क्षमता राम्रो रहेको र मूल्यले लाभांश धान्ने अवस्थाका कम्पनीहरूको सेयर होल्ड गर्नु बुद्धिमानी हुने विश्लेषकहरू बताउँछन् ।   

प्यानिक सेलकै कारण कारोबार रकम पनि उच्च भएको छ । यस दिन ७ अर्ब २८ करोड ४१ लाख रुपैयाँको कारोबार भएको छ । कारोबारमा आएका सबै समूहको सूचक घटेका छन् । सबैभन्दा धेरै घट्ने समूहमा होटेल तथा पर्यटन समूह छ । यस समूहको सूचक ६ दशमलव १४ प्रतिशतले घटेको छ । 

 ५ को मात्र मूल्य बढ्यो, दुईमा सकारात्मक सर्किट
आइतबार कारोबारमा आएका २ सय १५ किसिमका धितोपत्र र ऋणपत्रमा पाँचवटाको मात्रै मूल्य बढेको छ । महिला लघुवित्त, विशाल बजार, कालिका पावर कम्पनी, मिर्मिरे माइक्रो फाइनान्स, गुडविल फाइनान्स र एनएमबि हाइब्रिड फन्डको मात्रै मूल्य बढेको हो । महिला र विशाल बजारको मूल्यमा सकारात्मक सर्किट लागेको छ । 

यस दिन सबैभन्दा धेरै घट्नेमा चन्द्रागिरि हिल्स छ । १८ करोड घाटामा रहेको वित्तीय विवरण प्रकाशन भएसँगै कम्पनीको मूल्य घट्दो क्रममा छ । कम्पनीको आइतबार ८ दशमलव ४३ प्रतिशतले मूल्य घटेको हो । त्यस्तै, दोस्रोमा नारायणी डेभलपमेन्ट बैंक रहेको छ । बैंकको ८ दशमलव १९ प्रतिशतले मूल्य घटेको हो । त्यस्तै, तेस्रो त्रैमासमा १ अर्ब ८० करोड नाफा कमाएको वित्तीय विवरण प्रकाशित गरेको कुमारी बैंकको सेयर मूल्य भने घटेको छ । बैंकको संस्थापक सेयर भने बढेर कारोबार भएको छ । यसमा बजारबाहिरै भएको कारोबार अभिलेखीकरणका लागि कारोबार गराइएको देखिन्छ । 

See More On

सुझावित समाचार