हिन्दी भजन गायक हरिओम शरणको एउटा प्रसिद्ध भजन छ : ‘तेरा रामजी करेंगे बेडा पार, उदासी मन काहे को डरे’ । कहिल्यै तराई मधेसका ग्रामीण क्षेत्रमा भ्रमण गर्नुपर्यो भने तपाईंलाई रातको अन्तिम प्रहरमा यो भजन कुनै वृद्धस्वरमा अथवा बिहानीपख कुनै मन्दिरको टुप्पोमा बाँधिएको लाउडस्पिकरबाट सुन्ने अवसर जुट्न सक्छ । निराश अथवा थकित मनलाई यस गीतले सन्तोष दिलाउने प्रयास गर्छ ।
हुन पनि तराई मधेसमा रामनामको प्रचार व्यापक छ । रामानन्दी सम्प्रदाय मात्र होइन, रामकविर सम्प्रदायको रूपमा एउटा मूर्तिपूजक अथवा साकारी कविरपन्थीहरूको जमात पनि छ, जसले वैष्णवी जमात जस्तै पूजाअर्चनाको कर्मकाण्ड गरिरहेको छ । होइन भने निराकारी निर्गुण रहस्यवादी कवि सन्त कविरले मूर्तिपूजा र कर्मकाण्डको तीखो विरोध र आलोचना गरेका थिए । उनको निसानामा ब्राह्मण पण्डित र पुजारी मात्र होइन, मुस्लिम मुल्लाहरूसमेत थिए । र, तराईमधेस मात्रै किन, नेपालका अधिकांश हिन्दू धर्मभिरू समुदायमा राम सर्वशक्तिमान, सर्वदुःखहर्ता परमेश्वरको रूपमा व्याप्त छन् ।
यो बेग्लै विषय हो कि नेपाली जनताको दुःख दिन–प्रतिदिन बढ्दै गएको छ । हुन त गाउँहरूमा बिहानीपख बुढापाकाले पराती (बिहानीको गीत) पनि गाउँछन्– ‘उठ जाग मुसाफिर भोर भयो अब रैन कहाँ जो सोबत हय, जो सोबत हय सो खोबत हय, जो जागत हय सो पाबत हय’ । तर, यो सुनेर मानिसले ‘कति राम्रो !’ सम्म भन्छन्, प्रभाव त ‘तेरा रामजी करेंगे’कै हुन्छ ।
वर्तमानमा भने आध्यात्मिक राम भक्तजनका निम्ति एउटा मनोवैज्ञानिक सन्तोष मात्र छ । अर्कोतिर राजनीतिक राम भने नेताको ‘बेडा पार’ गर्ने सशक्त उपायका रूपमा देखिएका छन् । कतिसम्म भने यस कोरोनाकालमा समेत जब कुम्भमा ईश्वरकै नाम लिएर डुबुल्की लगाउने महाराजजीहरूसमेत कोरोना संक्रमित हुँदै छन्, मर्दै छन् । हाम्रा नेताहरू नयाँ रामजन्मभूमि अयोध्यापुरी स्थापनाका निम्ति प्रधानमन्त्री निवासबाटै राम, सीता र लक्ष्मणको मूर्ति ल्याएर माडीमा हजारौँको भिड जम्मा गरेर स्थापना गर्छन् र आफूलाई कट्टर रामभक्तको रूपमा गर्वपूर्वक प्रस्तुत गर्छन् ।
जबकि कोराना संक्रमणबाट बच्न यिनले नै मास्कको प्रयोग, सामाजिक दूरी तथा भिडबाट बच्न नाना प्रकारका कडा सरकारी निर्देशनहरू जारी गर्छन् । यो धार्मिक उन्माद र चुनावी राजनीतिको दाउ नै हो कि मानवीय जीवनको सहजै उपेक्षा गरिन्छ । यी नेताहरू धर्मभिरू समाजका नाडी छामेर पोख्त भएका छन् । यिनलाई थाहा छ, सत्तामा टिकिरहन भोटको आवश्यकता पर्छ र भोट तान्नलाई रामनाम अहिले सबैभन्दा प्रभावशाली उपाय हो । दक्षिणी छिमेकी भारत यसको सटिक उदाहरण बनेको छ, जहाँ रामनामको ‘बेडा’ चढेर कुनै वेला दुई सिट पाएको भारतीय जनता पार्टी अहिले भारतीय लोकसभामा दुई कार्यकालदेखि सत्तामा विराजमान छ ।
बिजेपीको यो रामरथ कति टाढासम्म जाने हो, त्यो त समयले नै बताउनेछ, तर चौतर्फी संकटमा परेका हाम्रा प्रधानमन्त्रीले पनि रामजन्मभूमि र अयोध्यालाई नै जँघार तर्ने बेडाका रूपमा प्रयोग गर्ने सिको गर्दै छन् । रामनवमीको दिन माडीमा राममन्दिरमा मूर्ति स्थापनाका निम्ति हजारौँको भिडसामु मन्त्रीहरूले यसरी छाती ठोकेर भाषण गरिरहेका थिए, मानौँ राम जन्मिँदा उनी त्यहीँ उपस्थित थिए । यो भोट तान्ने तथा आफूतिर सोझिएको असन्तुष्ट जनमतको ध्यान अन्यत्र मोड्ने दाउ त थियो नै, अन्धविश्वास र निजी आस्थाका मिथपात्रलाई प्रमाणिक पात्रमा परिणत गर्ने कुटिल प्रयत्न पनि थियो । भारतमा नरेन्द्र मोदी र उनको पार्टीले जसरी मिथ रामलाई ऐतिहासिक पात्रमा परिणत गरेर भारतीय संस्कृतिको सबैभन्दा प्रभावशाली मोहक भ्रमको रूपमा प्रस्तुत गरिरहेका छन् र प्रतिपक्षी विचारलाई राष्ट्रविरोधी साबित गर्न चाहन्छन्, त्यसरी नै प्रधानमन्त्री केपी शर्मा ओली र उनका अनुयायीले हुइँया मच्चाउन खोज्दै छन् ।
रामनवमीका दिन माडीमा ओली सरकारका मन्त्रीले जसरी रामलाई नेपालमा जन्मेको भनेर गर्व गरिरहेका थिए, त्यसमा राम नेपाली संस्कृतिका वाहक हुन् भन्ने कुटिल भ्रम र अर्थबोध पनि लुकेको थियो । भारतमा होस् वा नेपालमा माक्र्सवादीहरू र भौतिकवादीहरूका निम्ति यो बकवास मात्र छ । यो अन्य धर्मावलम्बीहरूको मिथकीय आख्यानको तथ्यभन्दा पनि भिन्न छ । सबभन्दा पहिले त अयोध्या आफैँ भारतमा मौर्यकालको पतनपछि विकसित नयाँ नाम हो । ऐतिहासिक स्रोतका अनुसार बौद्धकालमा यसको नाम साकेत थियो र यो त्यतिवेला सरयु नदीकिनारको एउटा व्यापारिक स्थलको रूपमा परिचित थियो ।
यसरी नै महाकाव्यीय राम एउटा यस्तो मिथपात्र हुन्, जसका विविध सम्प्रदायमा विविध वर्णन पाइन्छ । यिनै विविधताले उनलाई मिथपात्र बनाउँछ । जस्तो हिन्दूका निम्ति दशरथ पुत्र राम अयोध्यामा जन्मिएका र जनकपुरकी सीतासँग बिहे गरेपछि १४ वर्षको वनवास गएका थिए । अर्कोतिर बौद्ध जातक कथाहरूमा राम काशी नरेश दशरथका छोरा हुन्, जसले १० हजार वर्ष तपस्या गरेर फर्केपछि सीतासँग विवाह गरे । यसरी रामको जन्म आफँैमा विवादित छ । यस्तोमा रामको जन्म अयोध्यामा भएको विश्वास सत्तामा धार्मिक वर्चस्वको प्रचारमुखी प्रभाव मात्र हो । यस्तै भ्रमित मिथको सवारी गरेर नेपालमा ओली जमातले माडीलाई अयोध्या साबित गर्न खोज्दै छ ।
यो धार्मिक उन्माद र चुनावी राजनीतिको दाउ नै हो कि मानवीय जीवनको सहजै उपेक्षा गरिन्छ । यी नेताहरू धर्मभिरू समाजका नाडी छामेर पोख्त भएका छन् । यिनलाई थाहा छ, सत्तामा टिकिरहन भोटको आवश्यकता पर्छ र भोट तान्नलाई रामनाम अहिले सबैभन्दा प्रभावशाली उपाय हो ।
परमेश्वर यस्तो सत्तामूलक सर्वशक्तिमान् धारणा हो, जसले आफूविरुद्धको सबै तर्क र प्रतिवादलाई खारेज गर्छ । आधुनिक राजनीतिक चेतनाले यस्ता रुढ धारणालाई अस्वीकार गर्छ । यसैकारण अन्तर्संंघर्ष, अन्तर्घुलन र सहचर्यको बीचबाट ऐतिहासिक प्रवाहमा विकसित सामाजिक बहुसांस्कृतिकताका कारण आधुनिक राज्यहरूले कुनै संस्कृति वा धर्म विशेषभन्दा माथि धर्मनिरपेक्ष जनवादी वा लोकतान्त्रिक चरित्र ग्रहण ग¥यो ।
यद्यपि लचिलो संवैधानिक व्यवस्थाका कारण आधुनिक लोकतन्त्रवादी भनिएको धर्मनिरपेक्षता छद्म मात्र साबित हुँदै छ । धर्मनिरपेक्षताको अर्थ राज्य धर्मबाट पूर्णतः निरपेक्ष, अर्थात् धर्म व्यक्तिको निजी आस्थासम्म सीमित हुनुपर्छ । तर, राजनीतिक अगुवाको मनोविज्ञानमा संस्कृतिको नाममा धर्मको प्रभाव यति गहिरो गरी जमेको थियो कि उनीहरूले धर्मनिरपेक्षतालाई सर्वधर्म समभावको रूपमा व्याख्या गरे । यसको अर्थ राज्यले सबै धर्मलाई सम्मान र संरक्षण गर्नुपर्छ भन्ने हुन्छ ।
यो आफैँमा एउटा भ्रमपूर्ण अवधारणा हो । धर्मचार्यले सार्वजनिक मञ्चबाट आफूलाई जतिसुकै उदार भने पनि साम्प्रदायिक प्रवचनहरूमा उनीहरू अरूको तुलनामा आफूहरू नै श्रेष्ठ रहेका शिक्षा बाँड्ने गर्छन्, र यसले अन्ततः सामाजिक स्तरमा साम्प्रदायिक सङ्कीर्णता र उन्माद नै जन्माउँछ । धार्मिक बिम्ब, प्रतीक र परम्परालाई संस्कृतिको अर्थमा बुझ्ने कैयौँ आधुनिक चेतनाका उदार राजनीतिज्ञ पनि यस भ्रममा पर्छन् र यस्तो त्रुटिको परिणाम धार्मिक उन्मादको दक्षिणपन्थी राजनीतिका रूपमा विकसित हुने गर्छ ।
कतिसम्म भने जो राजनीतिक रूपमा यसको आलोचक हुन्छ, चुनावी राजनीतिमा उनीहरू पनि यस्तो भ्रमको विरोध गर्न सकिरहेका हुँदैनन् । यसलाई चुनावी राजनीतिको बाध्यता नै भन्नुपर्छ कि ओलीका सबैभन्दा प्रबल आलोचक र प्रतिद्वन्द्वी प्रचण्ड माडीमा बनिरहेको राममन्दिरको निरीक्षण गर्न गए । यो भ्रम मात्र हो भन्ने उनले बुझेका छन् । माक्र्स, ऐंगेल्स, लेनिन र फायरबाखका ठेलीका ठेली बखान गर्न सक्ने उनले नबुझ्ने कुरै छैन । तर, उनले पनि रामको जन्म माडीमा भएको हो भने प्रमाण पुर्याउनुपर्छ भन्न बाध्य हुनुपर्यो । कति निर्मम हुन्छ चुनावी लोकतन्त्र ? जसले जनता मात्र होइन, आफ्नै अन्तःचेतनाविरुद्ध बोेल्न बाध्य गराउँछ ।
वस्तुतः धर्मनिरपेक्षताको बुझाइ र व्यवहारको समस्या संविधानको लचिलो व्यवस्थाबाट नै सुरु हुने गर्छ । हाम्रो छिमेकीजस्तै हामीले पनि नयाँ गणतान्त्रिक संविधान बनाउँदादेखि नै यस्तो गल्ती सुरु गरेका हौँ । यससम्बन्धी भारतको संविधान निर्माणपछि तत्कालीन प्रधानमन्त्री जवाहरलाल नेहरू र राष्ट्रपति डा. राजेन्द्रप्रसादको दृष्टि भिन्नताको प्रसंग मननीय छ । त्यतिवेला भारतीय संविधानमा धर्मनिरपेक्षता उल्लेख भएको थिएन, तर राज्य धर्मनिरपेक्ष हुनुपर्छ भन्ने बुझाइप्रति हिन्दूवादी र मुस्लिम धार्मिक संगठनबाहेक अरू सबै सहमत थिए ।
सबैतिर धार्मिक सहिष्णुता र भाइचाराको प्रभाव मूख्य धाराजस्तो थियो । यसै समयमा विगत सयौँ वर्षदेखि भग्न अवस्थामा रहेको गुजरातको सोमनाथ मन्दिर नयाँ निर्माण गर्ने कुरा भयो । आधुनिक भारत धर्मनिरपेक्ष भएकाले नेहरू यसको निर्माणमा राज्यलाई समावेश गराउन चाहँदैनथे । उनी यसको निर्माण जनस्तरबाट गराउन चाहन्थे । तर, राष्ट्रपति डा. राजेन्द्रप्रसाद र गृहमन्त्री सरदार बल्लभभाइ पटेल मन्दिर पुनर्निर्माणमा स्वयं अग्रसर भए । पछि पटेलको मृत्यु भयो । सन् १९५५मा सोमनाथ मन्दिरको उद्घाटन गर्न नेहरूले नचाहँदा–नचाहँदै पनि डा. राजेन्द्रप्रसाद गए ।
उनले सोमनाथको मन्दिरलाई भारतीय संस्कृतिसँग जोडेर हेरे । यसैको परिणाम थियो कि सन् १९७० को दशकमा भारतीय संविधानमा धर्मनिरपेक्षता लेखिँदा यो सर्वधर्म समभावको रूपमा व्याख्या गरियो । संविधानमा धर्मनिरपेक्षताको उदार व्याख्या (वास्तवमा अपव्याख्या)को निहुँमा त्यसपछि भारतीय राजनीतिमा सर्वधर्म–समभावको मन्त्र जप्दै सबै राजनीतिक दलहरूले चुनावी भोट बढाउन भारतीय समाजको राजनीतिक धार्मिकीकरणमा भूमिका खेल्दै गए ।
अंग्रेजी उपनिवेशबाट मुक्त हुने वेला भारतसँग, तत्कालीन सामाजिक अन्तर्विरोधलाई सामाजिक, आर्थिक र राजनीतिक रूपमा हल गर्ने दिशामा जाने अवसर थियो, तर संस्कृति र परम्पराको उत्कट मोहले गर्दा उनीहरूले सबै सामाजिक अन्तर्विरोधलाई सांस्कृतिकता र धार्मिकताभन्दा पृथक् देख्न सकेनन् । सैद्धान्तिकस्तरमा वैचारिक प्रतिपक्षको रूपमा देखिएका त्यहाँका कम्युनिस्ट पार्टीहरू तथा समाजवादीसमेत चुनावी राजनीतिको भासमा गल्दै गए । उदार भनिने यस्तै मध्यपन्थी बाटोबाटै भारतीय राजनीतिमा दक्षिणपन्थी अहिले शीर्षमा छन् । धन र धर्म सामेल भएको शासनको दक्षिणपन्थी धार्मिक उन्माद यति तीव्र छ कि ज्यानको पर्वाहसमेत त्यागेर धर्मभिरू समाज कोरानाकालमा समेत भिड जुटाउन तत्पर छ ।
आधुनिक भारतीय लोकतन्त्र धार्मिक उन्मादीतन्त्रमा परिणत हुन कम्तीमा ७० वर्ष लाग्यो, हाम्रो गणतन्त्र त १५ वर्षमै दक्षिणपन्थी बाटोमा चिप्लिँदै छ । संविधान निर्माणदेखि नै हामीले पनि त्यही गल्ती दोहो¥यायौँ, जो हाम्रा छिमेकीले गरेका थिए । सचेत हुने हो भने राष्ट्र होइन, धर्म र संस्कृतिबाट मुक्त सबै नेपाली जनताको देश बनाऊँ । जो जति अभावग्रस्त छ, त्यसलाई त्यति दिऊँ । राज्यले आफ्नो प्राथमिकता धर्म र संस्कृति होइन, जनता र सामाजिक समृद्धिलाई बनाओस् । अहिलेको हाम्रो राजनीतिक दिशाले सामाजिक सङ्कीर्णता र विद्वेष मात्र जन्माउँछ । यो कुनै एउटा पार्टीविशेषको चरित्र होइन, सत्ता राजनीतिमा सबै यस्तै प्रवृत्तिका छन् । स्वतन्त्रता र समृद्धिको बाटो यसभन्दा पृथक् दिशामा छ । तर, बाटो सहज छैन र यसले नयाँ विमर्श र संघर्षको माग गर्छ ।