फ्रेन्चाइज फुटबल प्रतियोगिता एनएसएलको विजेताले ३५ लाख पाउने

शुक्रबार, १० बैशाख, २०७८
डिजिटल संस्करण

भोलिबाट काठमाडौंमा आयोजना हुन लागेको पहिलो फ्रेन्चाइज फुटबल प्रतियोगिता नेपाल सुपर लिग (एनएसएल)को विजेताले ३५ लाख रुपैयाँ पाउने भएको छ । आयोजक नेपाल स्पोर्टस् म्यानेजमेन्टले आज पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको विजेताले पाउने पुरस्कार राशिको घोषणा गरेको हो । सोही कार्यक्रममा आयोजकले जेठ १ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएकोसमेत जनाएको छ ।

आयोजकले कोरोना भाइरसको महामारी बाबजुद सरकारसँग छलफल गरेर अगाडि बढ्ने जानकारी दियो । प्रतियोगिताका निर्देशक श्रेयन्स कार्कीले क्लबले लगानी गरिसकेको कारण बन्द रंगशालामा भए पनि प्रतियोगिता आयोजना हुने बताए । कोरोना भाइरसको महामारीलाई मध्यनजर गर्दै रंगशालामा दर्शक उपस्थित नगर्न निर्देशन दिएको थियो । त्यसैले आयोजक तोकिएको मापदण्ड अपनाउँदै आयोजना गर्ने लक्ष्यका साथ अगाडि बढेको छ । सोही कारण पहिलो संस्करणको प्रतियोगिता दर्शकविना सञ्चालन हुनेछ ।

यस्तै, प्रतियोगिताको दौरानमा कुनै पनि टोलीका खेलाडीमा कोरोना संक्रमण देखिए अर्को खेलाडी अनुबन्ध गर्न पाउने प्रावधान आयोजकले क्लबलाई प्रदान गरेको छ । पहिलो संकरणको लिगमा सात फ्रेन्चाइज टोलीले सहभागिता जनाउँदै छन् । जसमा विराटनगर सिटी फुटबल क्लब, काठमाडौं रेजर्स फुटबल क्लब, ललितपुर सिटी फुटबल क्लब, एफसी चितवन, धनगढी एफसी, पोखरा थन्डर्स र बुटवल लुम्बिनी एफसी रहेका छन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भोलिबाट हुने प्रतियोगिताको पहिलो खेलमा काठमाडौं रेजर्स फुटबल क्लब र ललितपुर सिटी फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ । खेल साँझ साढे ५ बजेबाट सुरु हुनेछ । अखिल नेपाल फुटबल संघ (एन्फा)को प्राविधिक सहयोगमा हुने लिग राउन्ड रोबिनको आधारमा हुनेछ । लिगमा कुल २५ खेल हुनेछन् । विजेताले ३५ लाख पाउनेछ भने यस्तै उपविजेताले १५ लाख पाउनेछ । व्यक्तिगत विधातर्फ उत्कृष्ट र उत्कृष्ट युवा खेलाडीले जनही एक–एक लाख पाउनेछन् । त्यस्तै, हरेक खेलको उत्कृष्ट युवा खेलाडीले १० हजार र हरेक खेलको म्यान अफ दी म्याचले २५ हजार पाउनेछन् ।

सुझावित समाचार