अयोग्यको बिल्ला खारेज गर्न बहिर्गमित जनमुक्ति सेनाको माग

शुक्रबार, १० बैशाख, २०७८
डिजिटल संस्करण

बहिर्गमित जनमुक्ति सेना नेपालले आफूहरूलाई लगाइएको अयोग्यको बिल्ला खारेज गर्दै सम्मानयुक्त शब्दसहित राज्यद्वारा सम्मानपत्र र परिचयपत्र दिनुपर्ने माग गरेको छ । बर्हिगमित जनमुक्ति सेना नेपालले गरेको चौथो राष्ट्रिय सम्मेलनको पूर्ण केन्द्रीय कमिटी बैठकको निर्णय सार्वजनिक गर्दै आफूहरूलाई लगाइएको अयोग्यको बिल्ला खारेज गरी राज्यद्वारा सम्मानपत्र र परिचयपत्र वितरण गर्नुपर्ने माग राखेको हो ।

त्यसैगरी तत्कालीन नेकपा माओवादी र नेपाल सरकारबीच भएको हतियार र सेना व्यवस्थापनको अनुगमन सम्झौताअनुरूप तत्कालीन समयका १८ वर्षमुनिका बाल सेनाहरूलाई पुनर्स्थापनाका लागि आवश्यक र उपयुक्त सहयोग प्रदान गरिनुपर्ने पनि माग गरेको छ ।

बहिर्गमित जनमुक्ति सेनालाई स्वेच्छिक अवकाश लिएका जनमुक्ति सेनासरह आर्थिक प्याकेज दिनुपर्ने, जनयुद्धका सहिदलाई राष्ट्रिय सहिद घोषणा गर्नुपर्ने, सम्पूर्ण राजनीतिक आन्दोलनका घाइतेहरूलाई औषधि–उपचारसहितको दीर्घकालीन व्यवस्था गरिनुपर्ने र सम्पूर्ण बहिर्गमित जनमुक्ति सेनाका सदस्य तथा तिनका बालबालिकालाई कम्तीमा कक्षा १२ सम्म निःशुल्क शिक्षाको व्यवस्था गर्नसमेत माग गरेका छन् ।

बहिर्गमित जनमुक्ति सेना नेपालका इन्चार्ज असिम आङबुहाङ लिम्बूले जनयुद्धकालका नेतृत्व तथा कमान्डरहरूले आफूहरूलाई बेवास्ता गरेको बताए । वर्तमान प्रधानमन्त्री केपी ओलीले भने जनमुक्ति सेना र आन्दोलनका योद्धाहरूलाई सम्झिएको बताए । नेपाल सरकार र बहिर्गमित जनमुक्ति सेना नेपालबीच विभिन्न चरणको वार्तामा भएका सहमतिहरू तत्काल कार्यान्वयन गर्न पनि माग गरिएको छ ।

सुझावित समाचार