सगरमाथा आरोहणमा कोटा प्रणाली

शुक्रबार, १० बैशाख, २०७८
डिजिटल संस्करण

एकपटकमा १७० जनाभन्दा बढीले आरोहण गर्न नपाउने

पर्यटन विभागले सर्वोच्च शिखर सगरमाथाको आरोहणलाई व्यवस्थित गर्न भन्दै पहिलोपटक कोटा प्रणाली लागू गरेको छ । सगरमाथा आरोहणको मुख्य सिजनमा गत वर्ष कोरोनाका कारण आरोहण रोकिएको भए पनि यस वर्ष त्यस्तो निर्णय गरिएको छैन । विभागका महानिर्देशक रुद्रसिंह तामाङले भिडभाड कम गर्दै आरोहणमा व्यवस्थित गर्नका लागि कोटा तोकिएको जानकारी दिए । विभागले सन् २०२१ को वसन्त ऋतुको आरोहण व्यवस्थित गर्न र आरोहण मार्गमा हुने जोखिम कम गर्न यस्तो व्यवस्था गरेको महानिर्देशक तामाङले बताए ।  

यस वर्ष सगरमाथा आरोहण गर्न ३९ समूहका ३ सय ७१ जनाले अनुमति लिएका छन् । यसमध्ये ८७ जना महिला छन् । यो सिजनमा १६ हिमाल चढ्न ७४ समूहका ६ सय ५९ जना पर्वतारोहीले स्विकृति लिएका छन् । यस आरोहण सिजनमा सरकारले रोयल्टी मात्र ४९ करोड ४२ लाख रुपैयाँ संकलन गरेको छ । 

सन् २०१९ को आरोहण मौसममा सगरमाथासहितका हिमालमा आरोहीले लामबद्ध भएर आरोहण गर्नुपरेको थियो । यसले सुरक्षामा चुनौती थपिएको भन्दै नेपालको विदेशी संघ–संस्थाहरूले आलोचना गरेका थिए । पछिल्लो व्यवस्थापनबाट एकपटकमा बढीमा १ सय ७० जना मात्र आरोहण मार्गमा हुने हुँदा जोखिम कम हुने विश्वास विभागको छ ।

सगरमाथा आरोहण अनुमति लिएका व्यक्तिले सगरमाथा चुचुरोमा आइसफल डाक्टरले डोरी पु¥याएको मितिबाट अनुकूल मौसम हेरेर आरोहण थाल्न सक्ने व्यवस्था गरिएको छ । 

विभागले पहिलो चरणमा आरोहण अनुमतिपत्र नम्बर ६, ७, ९, १४, १७, १९, २०, २२, २३, २४, २५, २६, २७, ३२, ३४, ३६, ३७ र ३८ मार्फत अनुमति लिएका आरोही र दलले चुचुरो जान पाउने भएका छन् । 

पहिलो चरणको समूह फर्किसकेपछि आरोहण अनुमतिपत्र नम्बर  ४०, ४१, ४३, ४५, ४६, ४७, ४९, ५०, ५१, ५२, ५५, ५७, ५९, ६२, ६३, ६७ र ६८ मार्फत अनुमति लिएका आरोहीले चुचुरोमा जान पाउने भएका छन् । ‘सबै आरोही एकैपटक आरोहणमार्गमा लामबद्ध हुँदा हुने जाम र जोखिम कम गर्न सहयोग पुग्नेछ,’ महानिर्देशक तामाङले भने । 

आरोहण अनुमतिपत्र नम्बर ७२ देखि पछि अनुमति लिएका आरोहीले भने त्यसपछिको अनुकूल मौसम हेरेर आरोहणमा जानुपर्नेछ । यसरी हुने व्यवस्थापनले समेत आरोहणमा असहज परिस्थिति उत्पन्न हुने देखिएमा सम्बन्धित एजेन्सीले आपसी सहमति र समन्वयमा एकपटकमा १ सय ५० देखि १ सय ७० जनाको संख्या नबढ्ने गरी आरोहण व्यवस्थापन गर्न सक्ने भएका छन् ।  यसरी योजना परिवर्तन गर्दा स्थानीय आरोहण व्यवस्थापन गर्ने एजेन्सीले नै आरोहीको सुरक्षित आरोहणको प्रबन्ध गर्नुपर्ने भएको छ । 

यो वर्ष एउटै सिजनमा दुई हिमालको आरोहणमा जान चाहने पर्यटकले एक हिमालबाट फर्केपछि पिसिआर परीक्षण गर्नुपर्ने भएको छ । पिसिआर परीक्षणमा नेगेटिभ रिपोर्ट आएमा मात्र पर्यटकले अर्को हिमाल आरोहणको अनुमति पाउनेछन् । आरोहणका क्रममा कुनै पनि पर्यटकको खोजी तथा उद्धार गर्नुपरेमा पर्यटन विभाग र पर्यटन प्रहरी इकाइमा अनिवार्य जानकारी गराउनुपर्ने प्रावधानसमेत तोकिएको छ । यसका लागि विभागले हटलाइन नम्बरसमेत दिएको छ ।

See More On

सुझावित समाचार