राहुल क्यास्ट्रो क्युबाको कम्युनिस्ट पार्टीको प्रमुख पद त्याग्ने तयारी गरिरहेका छन्, ६० वर्षपछि पहिलोपटक क्युबाको सबैभन्दा शक्तिशाली पदलाई क्यास्ट्रो परिवारबाहिरका नेताले नेतृत्व गर्दै छन्
अघिल्लो साता राहुल क्यास्ट्रोले क्युबाको शीर्ष नेतृत्वबाट अवकाश लिने तयारी गरिरहेको घोषणाका साथै एउटा चेतावनी पनि दिए : हामीसँग दुईवटा विकल्प छन्, क्रान्तिका मूल्यलाई निरन्तरता दिने कि हार मान्ने । पछिल्लो समय कम्युनिस्ट क्रान्तिको विरासतलाई लिएर विभाजित हुँदै गएको मुलुकका लागि यो सांकेतिक अभिव्यक्ति थियो ।
सन् १९५९ मा राहुल र उनका दाइ फिडेलले अमेरिकी समर्थक तानाशाहविरुद्ध सफल विद्रोहको नेतृत्व गरेका थिए । त्यसयताको लामो समय क्युबालाई यी दुई दाजुभाइले पालैपालो नेतृत्व गरे । अहिले ८९ वर्षको उमेरमा राहुल सत्तारूढ कम्युनिस्ट पार्टीको नेतृत्व त्याग्दै छन् । राहुलका उत्तराधिकारीले कठोर आर्थिक संकट खेपिरहेको मुलुकलाई सम्हाल्नुपर्नेछ । साथमा क्युबालीमाझ कायम गहिरो पुस्तौनी विभाजनको चुनौती पनि छ । कैयौँ वृद्ध क्युबालीहरू क्यास्ट्रोहरू सत्तामा आउनुअघिको गरिबी र असमानता सम्झिन्छन् र दशकौँको कठिनाइका बाबजुद क्रान्तिप्रति निष्ठावान् रहेका छन् ।
तर, समाजवादको उपलब्धि शिक्षा, स्वास्थ्यको अवसरमाझ हुर्केको युवापुस्ता परिवर्तनको आकांक्षा राख्छ । उनीहरू कम सरकारी नियन्त्रण र बढी आर्थिक स्वतन्त्रता माग गरिरहेका छन् । ‘गहिरो पुस्तौनी विभाजन देखिन्छ । आगामी दिनमा सरकारका सामु यो प्रमुख चुनौती हुनेछ, किनकि तिनको ऐतिहासिक समर्थन आधार घटिरहेको छ ।’ अमेरिकन युनिभर्सिटीका क्युबा मामिलाका विशेषज्ञ विलियम लियोग्रानले भने ।
क्युबाली कम्युनिस्ट पार्टीको पहिलो महासचिवको पदबाट राहुलको बहिर्गमनपछि देशको सबैभन्दा शक्तिशाली पदबाट वर्तमान राष्ट्रपति मिगेल डियाज–क्यानेल बरमुडेज आउने अपेक्षा छ । यही महिना ६१ वर्षमा टेक्न लागेका डियाज–क्यानेल युवापुस्ताका नेता मानिन्छन् । उनी देशलाई बिस्तारै खुला गर्ने पक्षमा त छन्, तर क्युबाको एकदलीय शासन भने यथावत् राख्न चाहन्छन् ।
प्रत्येक पाँच वर्षमा आयोजना हुने क्युबाली कम्युनिस्ट पार्टीको सम्मेलनमा क्युबाको क्रान्तिकारी मूल्यमाथि जोड दिइन्छ । तर, नेतृत्व संक्रमणको महŒवपूर्ण समय आएको छ । विगत केही वर्षमा ट्रम्प प्रशासनले क्युबामाथि कठोर प्रतिबन्ध लागू गरेपछि र महामारीले पर्यटन उद्योग ध्वस्तप्रायः छ । साथै, देशको अर्थतन्त्रलाई पनि ठूलो धक्का लागेको छ । धेरै मानिस खाद्यसामग्रीका लागि घन्टौँ लामो लाइनमा पर्खनुपर्ने स्थिति आएको छ । विदेशमा समेत प्रशंसा हुने यो देशको स्वास्थ्य प्रणाली पनि उच्च दबाबमा सञ्चालन भइरहेको छ र देश छाड्ने नागरिकको संख्या बढिरहेको छ । तथापि, तिनको संख्या सन् १९८० र ९० को दशकको भन्दा कम नै छ । ‘कम्युनिस्ट पार्टी आफूले धेरै पहिले हासिल गरेको उपलब्धिको ब्याज खाएर बसिरहेको छ । यसले मेरो पुस्तालाई प्रतिनिधत्व गर्दैन । पुस्तौनी सम्बन्ध, हाम्रा चाख र प्राथमिकताको अभाव छ । यसैले पनि यसले हामीलाई आकर्षित गर्दैन,’ सान इसिड्रो राजनीतिक अभियानकी सदस्य क्लाउडिया गेन्लुर्ईले बताइन् । कम्युनिस्ट पार्टीको विरोध गर्ने सान इसिड्रो समूह सानो भए पनि उनीहरूको निरन्तरको प्रतिरोधले धेरैको ध्यान तानेको छ ।
क्लाउडियाको विचारप्रति केही हदसम्म राहुल क्यास्ट्रो पनि सहमति जनाउँछन् । उनका दाइ फिडेल मृत्युसम्म पनि ‘समाजवाद कि मृत्यु’को नारा लगाइरहका थिए । तर, भाइ क्यास्ट्रोले बढ्दो असन्तुष्टिलाई सम्बोधन गर्न सुधारको आवश्यकता महसुस गरे । त्यसैले उनी शासनमा आएदेखि देशको अर्थतन्त्रलाई खुला गर्न सुरु गरे । फिडेलले सन् २००८ मा राष्ट्रपति पदबाट राजीनामा गरेदेखि राहुल क्यास्ट्रोले युवा क्युबालीलाई कम्युनिस्ट पार्टीतर्फ तान्न जोड दिन थालेका थिए । साथै, उनले उच्च सरकारी पदका लागि पनि युवालाई प्रथामिकतामा राख्न थाले । राहुलको कदमको केही क्युबालीमा राम्रो प्रभाव पनि छ । ‘हामीले नयाँ विचार भएका युवापुस्तालाई सत्ता हस्तान्तण गर्दै जानुपर्छ । क्रान्तिमा रूपान्तरण आवश्यक छ र यसले जनताको भलाइमा जोड दिनुपर्छ,’ राहुल क्यास्ट्रो र कम्युनिस्ट पार्टीलाई समर्थन जनाउँदै हवानामा ट्याक्सी चलाउने ५५ वर्षीय ओस्भाल्डो रेयसले भने ।
क्यास्ट्रो दाजुभाइले तिनको लोकप्रिय विद्रोह सुरु गर्दा धेरै क्युबालीको समर्थन पाएका थिए । क्युबाली जनता त्यसवेला देशका भ्रष्ट सत्तारूढ एलिटप्रति क्रुद्ध थिए । तत्कालीन समय अधिकांश एलिट आमक्युबालीको दयनीय जीवनलाई बेवास्ता गर्थे । क्यास्ट्रो दाजुभाइले क्युबाली तानाशाह फुल्जेन्सियो बाटिस्टाविरुद्ध असंगठित विद्राहको नेतृत्व गरे । पछि क्युबा दशकौँसम्म ल्याटिन अमेरिकामा अमेरिकी हस्तक्षेपविरुद्धको किल्ला बन्यो । तर, आज दशकौँपछि क्युबालीहरूले क्यास्ट्रो र तिनको कम्युनिस्ट पार्टीले विगतका शासकजस्तै आमसर्वसाधारणको जीवनलाई बेवास्ता गरेको आरोप लगाउन थालेका छन् । देशको जनसंख्या मुख्यतः युवा भए पनि सन् २०११ मा राहुल क्यास्ट्रोले कम्युनिस्ट पार्टीको नेतृत्व लिँदा सरकारका अधिकांश पदमा ८० वर्षमाथिका नेता थिए ।
धेरै क्युबाली तिनको राष्ट्रको सार्वभौमिकताप्रति गर्व गर्छन्, तथापि अधिकांश नागरिक जीवनको अधिकांश अवधि क्रान्तिको समयका नेताको शासन भोगेर वाक्क छन् । सरकारले जनताको जीवनको हरेक हिस्सालाई नियन्त्रण राख्ने गर्छ । यसअन्तर्गत कति कमाउनेदेखि खाने खानासम्म पर्छ । कैयौँ क्युबाली आफ्नो देशको अवस्थाका लागि अमेरिकाको दशकौँ लामो नाकाबन्दीलाई दोषी ठहर्याउँछन् । नाकाबन्दीका कारण पनि क्युबालीमा अमेरिकाप्रति घृणाभाव कायम छ । तथापि, सुधारको अभावलाई समस्या मान्नेहरू बढ्दै छन् ।
क्युबाको सुधार कछुवाको गतिमा भएको मान्ने एक समूह छ भने कुनै प्रकारको सुधारले मुलुकलाई पँुजीवादको नजिक लग्ला भनेर चिन्ता गर्ने अर्को समूह छ । परिवर्तित अवस्थामा आफ्नो शक्ति गुम्ला भनेर चिन्तित कर्मचारीतन्त्रले पनि सुधारलाई मन पराउँदैन । ‘राहुल परिवर्तन चाहन्छन् र युवा नेताहरू पनि परिवर्तन चाहन्छन्, तर उनीहरू फिडेल क्यास्ट्रोले सुरु गरेको क्रान्तिलाई धोका दिएको आरोप लाग्ला भनेर डराउँछन्,’ क्युबाका पूर्वराजदूत तथा कम्युनिस्ट पार्टी सदस्य कार्लोस अल्जुगारेले बताए ।
अवकाशपछि पनि क्यास्ट्रोको केही प्रभाव रहनेछ, तर उनले क्युबाको दैनन्दिनी शासन राष्ट्रपति डियाज–क्यानेललाई छाड्दै छन् । क्यास्ट्रोले सन् २०१८ मा क्युबाको दोस्रो शक्तिशाली पद राष्ट्रपति डियाज–क्यानेललाई हस्तान्तरण गरेका थिए । डियाज–क्यानेल आएलगत्तै इन्टरनेटको पहुँच खुलाए । त्यस्तै, उनले देशको निजी व्यवसायलाई थप खुला गरे । तर पनि क्युबाली नेता सतर्कतासाथ कदम चालिरहेका छन् ।
‘सरकार आफ्नो नियन्त्रणबाहिर जान सक्ने परिवर्तनसँग निकै भयभित छ । किनकि, यसले तिनको आर्थिक तथा राजनीतिक हैसियत जोखिममा पार्न सक्छ । परिवर्तनको गति माथिबाट तल जाने शैलीको छ । तल्लो तप्काको जनताको समर्थन पाएर उठेको लोकप्रिय क्रान्तिबाट सत्तामा आएकाहरूको यो शैली तिनको सुरुको शैलीसँग मिल्दैन,’ न्युयोर्कस्थित बारुक कलेजका प्राध्यापक टेड हेनेकेनले बताए ।
अबि–हबिब मेक्सिको, मध्यअमेरिका र क्यारिबियनकी न्युयोर्क टाइम्सकी रिपोर्टर हुन् । अगस्टिन क्युबाका स्वतन्त्र पत्रकार हुन् ।
"via The New York Times"
नयाँ पत्रिका र द न्युयोर्क टाइम्सको सहकार्य