एनआइबिएल एसलाई चौथो सामूहिक लगानी योजनाको अनुमति

सोमबार, ६ बैशाख, २०७८
डिजिटल संस्करण

नेपाल इन्भेष्टमेन्ट बैंकको सहायक कम्पनी एनआइबिएल एस क्यापिटलले ‘एनआइबिएल समृद्धि फन्ड–२’ नामको बन्दमुखी योजना सञ्चालन गर्ने भएको छ । क्यापिटलले चौथो योजनाका रूपमा यो बन्दमुखी योजना सञ्चालनका लागि धितोपत्र बोर्डबाट अनुमति पाएको हो । 

यो योजना १ अर्ब २० करोड रुपैयाँ र १० वर्ष अवधिको हुने जनाइएको छ । प्रतिइकाइ १० रुपैयाँ दरको १२ करोड इकाइमध्ये बीजपुँजीबापत १० लाख इकाइ योजना व्यवस्थापक तथा न्यूनतम २ करोड ३० लाख इकाइ कोष प्रवद्र्धकका लागि गरी कुल निष्कासन गरिने इकाइको २० प्रतिशत अर्थात् २ करोड ४० लाख इकाइ सुरक्षित राखी बाँकी ९ करोड ६० लाख इकाइ सर्वसाधारण लगानीकर्ताका लागि बिक्री खुला गरिने क्यापिटलले जनाएको छ ।

इकाइ बिक्रीमार्फत संकलित रकमलाई जोखिम न्यूनीकरणका उपायहरू अपनाई विभिन्न क्षेत्र तथा वित्तीय उपकरणहरूमा लगानी गरिने क्यापिटलले जनाएको छ । लगानीबाट आर्जित मुनाफालाई इकाइ धनीहरूलाई वार्षिक प्रतिफलका रूपमा वितरण गरिने जनाइएको छ । 

क्यापिटलले यो योजनामा वार्षिक २१.४१ प्रतिशत इकाइ धनीलाई प्रतिफलका रूपमा दिन सकिने प्रक्षेपण गरिएको कम्पनीले जनाएको छ । यस योजनाका इकाइहरू नेपाल स्टक एक्सचेन्जमा सूचीकृत भई योजनाको अवधिसम्म दोस्रो बजारमा खरिद–बिक्री गर्न सकिने जनाइएको छ । 

हाल क्यापिटलले योजना व्यवस्थापक तथा डिपोजिटरी रहने गरी ‘एनआइबिएल म्युचुअल फन्ड’ नामको सामूहिक लगानी कोष गरी दुईवटा बन्दमुखी र एक खुलामुखी योजना सञ्चालन गर्दै आइरहेको जनाएको छ । 
 

सुझावित समाचार