सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा बन्द भएका सेवा सुरु

बिहिबार, २ बैशाख, २०७८
डिजिटल संस्करण
सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा बन्द भएका सेवा सुरु

छैठौं कलेजो प्रत्यारोपण पछि फोटो खिचाउदै चिकित्सक

सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले बन्द भएका सेवाहरू पूर्ववत् अवस्थामा सञ्चालन गरेको छ । दुई वर्षअघि बन्द भएको मुटुको सेवा पनि सञ्चालनमा आएको छ । निकै महँगोमा उपकरण खरिद गरे पनि सेवा सञ्चालनमा आएको थिए । 

सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका निर्देशक प्रा.डा. प्रेमराज ज्ञवालीले विगतमा बन्द भएका सेवाहरू क्रमश: सञ्चालनमा ल्याएका छन् । मुटुको सेवा सञ्चालन गर्न उपकरण भए पनि चिकित्सक थिएनन् । तर, निर्देशक ज्ञवालीले करार सेवामा चिकित्सक राखेर सेवा सुरु गरेका छन् । तत्कालीन निर्देशक डा. पुकारचन्द्र श्रेष्ठलाई ०७७ वैशाख २५ गते वीर अस्पताल सरुवा गरेर सरकारले शिक्षण अस्पतालका चिकित्सक प्रा.डा. प्रेमराज ज्ञवालीलाई केन्द्रको निर्देशक बनाएको थियो ।

कोरोना भाइरस कोभिड– १९ को संक्रमणले सेवामा केही प्रभाव पारे पनि जनस्वास्थ्यका मापदण्ड पालना गरी सेवा नियमित गरेको निर्देशक डा. ज्ञवालीले बताए । ‘कोभिभ– १९को महामारीले गर्दा जनजीवन ठप्प भएको थियो,’ निर्देशक ज्ञवालीले भने, ‘संसारभरिका स्वास्थ्य संस्थाहरूमा जस्तै यस केन्द्रमा पनि बिरामीहरूको उपस्थिति न्यून थियो । मिर्गाैला प्रत्यारोपणलगायत अन्य शल्यक्रियाहरू पनि बन्द भएका थिए । तर, केन्द्रमा कोरोनाबाट पीडित बिरामीहरूको उपचार नभए तापनि दैनिक ९०–१०० बिरामीको हेमो–डाएलाइसिस सेवा नियमित रह्यो ।’ 

केन्द्रले कोभिडमा पनि यो सेवा कहिल्यै रोकेन । कोरोना पोजेटिभ भएर अन्य केन्द्रहरूले सेवा दिन अस्वीकार गरेका बिरामीहरूको हेमो–डाएलाइसिस पनि केन्द्रले नियमित गरेको उनले बताए । महामारीको समयमा बिरामीहरू कम भएको वेला केन्द्रको सरसफाइ, मर्मत कार्यलगायत वर्षौँदेखि सुप्त अवस्थामा रहेको भक्तपुर अस्पताल, क्यान्सर अस्पताल र केन्द्रबीचको सम्बन्धलाई नयाँ तरिकाबाट सुरु गरेको चिकित्सकहरूले बताए । 

विश्वभरको तथ्यांक हेर्दा मिर्गाैला प्रत्यारोपणको क्रममा ३ प्रतिशत बिरामीको मृत्यु हुन सक्ने उल्लेख छ । अझ कोरोनाको संक्रमण भएकाले योदर बढेर १५ देखि २० प्रतिशत पुग्ने अनुमान भएपछि संसारभरि मिर्गाैला प्रत्यारोपण शल्यक्रिया बन्द गरिएको थियो । 

२०७६ माघ महिनादेखि बन्द भएको मिर्गाैला प्रत्यारोपण शल्यक्रिया सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले कोभिड पछि सबैभन्दा पहिलो ०७७ असोज २२ गतेबाट नियमित गरेको हो । हाल अन्य अस्पतालहरूमा पनि सुरु हुन थालेको छ । 

कोभिड– १९ को महामारीको अवस्थामा पनि अहिलेसम्म यस केन्द्रले नेपालभरिमा सबैभन्दा धेरै २६ जना बिरामीको मिर्गाैला प्रत्यारोपण गरेको निर्देशक ज्ञवालीले बताए । क्याथ ल्याबलगायत मुटुको उपचारका लागि आवश्यक पर्ने करोडौँ मूल्यका उपकरण खरिद गरेर वर्षौँदेखि थन्क्याएर राखिएको थियो । हाल आएर सो सेवा सञ्चालनमा आएको छ । 

यसअघि केन्द्रले कलेजो प्रत्यारोपण सेवा सुरु गरे पनि पछिल्लो समय कलेजो र मुटुको शल्यक्रिया गर्ने चिकित्सकहरू निकालिएको थियो । मुटुको शल्यक्रिया गर्ने विशेषज्ञहरू यस केन्द्रबाट निकालिएपछि अवरुद्ध रहेका सेवाहरू पनि अहिले फेरि सञ्चालनमा आइसकेका छन् । गत हप्ता मात्र केन्द्रले छैटाैँ कलेजो प्रत्यारोपण गरेको छ । 

ज्ञवाली भन्छन्, ‘कुनै पनि शल्यक्रियाको सफलता शतप्रतिशत हुँदैन । चिकित्सक र अस्पतालका सम्पूर्ण स्वास्थ्यकर्मीहरूको मिहिनेत हुँदाहुँदै पनि कतिपय शल्यक्रियामा सफलता नमिल्न सक्छ ।’ तर, कतिपय कर्मचारीले घटनालाई बुझ्दै नबुझी संस्थाकै बदनाम गराउने काम भएकाले यस्ता कार्य रोक्नुपर्ने कर्मचारीहरू बताउँछन् । 

सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा स्थान अभावका कारण चुस्त–दुरुस्त स्वास्थ्य सेवा प्रदान गर्न समस्या परेको छ । नेपालमा अन्तर्राष्ट्रिय स्तरको अंग प्रत्यारोपण सेवा प्रदान गर्न अस्पताल निर्माणार्थ जग्गाको खोजी भइरहेको निर्देशक ज्ञवाली बताउँछन् । यति मात्रै हाेइन, मिर्गाैला प्रत्यारोपण गर्दा नभइनहुने कतिपय जाँच नेपालमा नभएर भारत पठाउनुपर्ने अवस्थाको अन्त्य केन्द्रले गरेको छ । अहिले केन्द्रबाट सेवा प्रदान सुरु गरिसकिएको छ ।

केन्द्रमै मुटुको सेवा सञ्चालन गर्नु भक्तपुरका नागरिकका लागि निकै खुसीको कुरा हो । केन्द्रले मिर्गौला र कलेजो प्रत्यारोपण मात्रै होइन, भविष्यमा मुटु र फोक्सोसमेत प्रत्यारोपण गर्ने योजना बनाएको छ । केन्द्रले ०६९ वैशाख ११ गतेबाट मिर्गौला प्रत्यारोपण सेवा सुरु गरेको र ०७३ मंसिर २२ गते बुधबार कलेजो प्रत्यारोपण सुरु गरेको थियो ।

सुझावित समाचार