देशभर ५० चार्जिङ स्टेसन बनाउन सम्झौता, ३७ करोड ७९ लाख लागत

बिहिबार, २ बैशाख, २०७८
डिजिटल संस्करण

चार्जिङ स्टेसन मुख्य राजमार्ग, बसपार्क र ठूला सहरहरूमा राखिने

बागमती प्रदेशमा २० र कर्णालीमा एउटा चार्जिङ स्टेसन रहने

देशभरका ५० स्थानमा विद्युतीय सवारीसाधनका लागि चार्जिङ स्टेसन निर्माण गर्न चिनियाँ कम्पनीसँग ठेक्का सम्झौता भएको छ । चार्जिङ स्टेसनका लागि आवश्यक सामग्री आपूर्ति, जडान, परीक्षण, सञ्चालन र मर्मत–सम्भारका लागि  नेपाल विद्युत् प्राधिकरणको विद्युतीय सवारी चार्जिङ पूर्वाधार विकास आयोजना र वाङबाङ डिजिटल इनर्जी कर्पोरेसन लिमिटेड, जियाङ्सुबीच मंगलबार ठेक्का सम्झौता भएको हो । 

एसियाली विकास बैंकको सहयोगमा निर्माण हुने चार्जिङ स्टेसनको लागत करबाहेक ३७ करोड ७९ लाख ५५ हजार रुपैयाँ रहेको छ । एक वर्षभित्रमा निर्माण सम्पन्न हुने स्टेसनको ५ वर्षसम्म मर्मत–सम्भार ठेकेदार कम्पनीले नै गर्ने प्राधिकरणका प्रवक्ता मदन तिम्सिनाले जानकारी दिए । 

ठूला बससहित तीन सवारीसाधन एकसाथ चार्ज गर्न सकिने 
निर्माण गरिने हरेक चार्जिङ स्टेसनमा १४२ किलोवाट क्षमताको चार्जर, त्यसमा विद्युत् आपूर्तिका लागि २०० केभिएको ट्रान्सफर्मर, अनलाइन बिलिङ प्रणाली जडान गरिनेछ । स्टेसनमा छिटो चार्ज गर्न मिल्ने ६०–६० किलोवाटका डिसी र २२ किलोवाटका एसी चार्जरहरू राखिनेछन् । यसबाट ठूला बससहित तीनवटा सवारीसाधनले एकसाथ चार्ज गर्न सकिनेछ । तीन सयभन्दा बढी चार्जरलाई सेवा दिन सक्ने गरी प्राधिकरणको डाटा सेन्टरमा चार्जिङ स्टेसनको सफ्टवेयर राखिनेछ । ५० वटै स्टेसनको कन्ट्रोल काठमाडौंबाट हुनेछ । सवारीसाधनको चार्ज गरिसकेपछि ग्राहकले क्युआर कोड र मोबाइल एपमार्फत बिलको भुक्तानी गर्न सक्नेछन् । 

नेपाल विद्युत् प्राधिकरणका अनुसार चार्जिङ स्टेसन मुख्य राजमार्ग, बसपार्क र ठूला सहरहरूमा राखिनेछ । काठमाडौं उपत्यकामा सातवटा चार्जिङ स्टेसन राखिनेछ । प्राधिकरणका प्रवक्ता मदन तिम्सिनाका अनुसार १ नम्बर प्रदेशमा झापाको दमक, भद्रपुर, कन्काई, मोरङको विराटनगर र सुनसरीको इटहरीमा गरी पाँचवटा चार्जिङ स्टेसन रहनेछन् । २ नम्बर प्रदेशको पर्साको वीरगन्ज, बाराको सिमरा, रौतहटको चन्द्रनिगाहापुर, धनुषाको ढल्केवर तथा जनकपुरधाम, महोत्तरीको बर्दिवास र सप्तरीको राजविराज गरी सातवटा चार्जिङ स्टेसन स्थापना रहनेछन् । 

त्यस्तै, बागमती प्रदेशको धादिङको मलेखुमा २, बिपी राजमार्गको सिन्धुलीमा २, मकवानपुरको हेटौँडामा २, चितवनको भरतपुरमा २ तथा मुग्लिङ÷कुरिनटारमा ४ र काभ्रेको बनेपामा एकवटा गरी १३ वटा चार्जिङ स्टेसन स्थापना हुनेछन् । गण्डकी प्रदेशमा नवलपुर, तनहुँको दमौली, स्याङजामा १/१ र कास्कीको पोखरामा ३ गरी ६ वटा चार्जिङ स्टेसन रहनेछन् । लुम्बिनी प्रदेशमा आठवटा चार्जिङ स्टेसन रहनेछन् ।

बाँकेको नेपालगन्जमा १, दाङको भालुवाङ तथा दाङमा १/१, रुपन्देहीको बुटवलमा १, नवलपरासीको बर्दघाट/सुनवलमा २ चार्जिङ स्टेसन रहनेछन् । कर्णाली प्रदेशमा सुर्खेतमा १ र सुदूरपश्चिम प्रदेशमा तीनवटा चार्जिङ स्टेसन रहनेछन् । कञ्चनपुरको महेन्द्रनगर, कैलालीको धनगढी र डडेल्धुरामा १/१ गरी सुदूरपश्चिममा तीनवटा चार्जिङ स्टेसन रहनेछन् । 

सुझावित समाचार