मौरीपालनले फेरिँदै चेपाङको जीवनस्तर

शुक्रबार, २७ चैत, २०७७
डिजिटल संस्करण

व्यावसायिक मौरीपालनले मकवानपुरको विकट राक्सिराङ गाउँपालिकामा बस्ने सीमान्तकृत, विपन्न समुदायका चेपाङको जीवनस्तर फेरिन थालेको छ । कुनै वेला गरिबी, अभाव, बेरोजगारका कारण बिहान–बेलुकाको छाक टार्न मुस्किल हुने चेपाङ समुदायका लागि मौरीपालन जीविकोपार्जनको हतियार बनेको छ ।    

संघीय सरकार र विभिन्न दातृ निकायको सहयोगमा ०६१ बाट राक्सिराङमा चेपाङ समुदायलाई लक्षित गरी सुरु गरिएको मौरीपालनबाट अहिले राक्सिराङ गाउँपालिका– ६ र ७ नम्बर वडाका एक सय पाँचजना चेपाङ परिवारको जीवनस्तरमै परिवर्तन आएको हो । राक्सिराङको– ६ र ७ मा अहिले पाँच हजार पाँच सय घार मौरी चेपाङ समुदायका परिवारको मात्र छ । चिउरी फुल्ने समयमा गाउँमै र तोरी फुल्ने समयमा मकवानपुर, चितवनका फाँटहरूमा मौरी चराउने गरेको उनीहरू बताउँछन् ।

राक्सिराङ– ६ काँकडामा मौरीपालन गर्दै आएका विपन्न चेपाङले मह बेचेर वार्षिक १२ लाख रुपैयाँ कमाएको बताए । विपन्नले तीन सय घार मौरी पालिरहेका छन् । लोथर बजारनजिकैको खेतमा चराएको मौरीबाट मह बिक्रीबाटै वार्षिक १२ लाखसम्म कमाएको उनले स्मरण गरे । ‘गाउँको बारीमा केही उब्जाउ नहुने हुँदा बिहान–बेलुका छाक टार्न पनि समस्या थियो,’ उनी भन्छन्, ‘मौरीपालन सुरु गरेपछि जीवनस्तरमै परिवर्तन आएको छ ।’ 

गाउँको चार कट्ठा जमिनमा घारहरू राख्ने गरेको र अहिले आफ्ना दुई भाइसमेत यही पेसामा आबद्ध भएको उनले जानकारी दिए । राक्सिराङ– ७ का जुबीलाल चेपाङको अवस्थामा पनि उस्तै छ । उनी अहिले मौरीपालन गरेर दिन बिताउँछन् भने उनको जीवनस्तर पनि सुध्रिएको छ । अनुदानबाट घार पाएका उनले मौरीपालन गरेसँगै जीविकोपार्जनका समस्या हल हुँदै गएको बताउँछन् । 

सुझावित समाचार